गौरिकाका चार स्वर्ण, पारस र गरिमाका आँशु

+
-

काठमाडौँ- अनि सबै देशका खेलाडीहरु उनीतर्फ फर्किए। शिरदेखि पुछारसम्म हेर्न थाले। नजिकै पुगेर गौरिका सिंहसँगका क्षणहरु मोबाइल क्यामरामा कैद गर्न थाले।

उनीसँग सम्पर्कमा रहन फेसबुक खोले, ह्वाट्स एप, भाइबरलगायत सामाजिक सन्जालमा एड गरे। इन्स्टाग्राममा फलो गरे।

बलिया भनिएका भारत र श्रीलंकाका खेलाडीहरु गौरिकाको नजिक परिरहेका बेला लाग्थ्यो- उनीहरु दक्षिण एसियाली खेलकुदकै नयाँ स्टारसँग नतमस्तक छन्।

के नेपाली खेलाडी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सेलिब्रेटी बन्न सक्छन् ? जवाफ थिइन् गौरिका- किन सक्दैनन्?

गौरिकाले कुनै एक खेल भव्य तरिकाले जितेर वा ठूला खेलाडीलाई पराजित गरेपछि बनेको माहोल थिएन यो, ५/६ देशका खेलाडीलाई लाइन लगाएर पराजित गरी स्वर्ण जितेको त्यसमा पनि एक होइन, २ होइन, ३ मात्र पनि होइन, एकै प्रतियोगितामा चार स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय खेलकुदले पक्कैपनि सम्मान व्यक्त गर्छ।

१३ औँ दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत सोमबार सकिएको पौडीमा १७ वर्षीया गौरिकाले ४ स्वर्ण जितिन्, २ रजत र तीन कास्य पनि हात पारिन्। गौरिका व्यक्तिगत स्पर्धामा दुईपटक मात्र दोस्रो भइन्। कास्य प्राप्त भएका स्पर्धा टिमअन्तर्गत हुन्।

गौरिकाले पाँच दिनसम्म चलेको प्रतियोगितामा ८ वटा स्पर्धा खेलेकी थिइन्। यति व्यस्त तालिकामा पनि उनले कुनैपनि स्पर्धामा पदक गुमाउनु परेन।

सागको इतिहासमा यसअघि नेपालले पौडीको व्यक्तिगत स्पर्धामा कहिल्यै पनि स्वर्ण पदक जित्न सकेको थिएन। तर यसपटक गौरिकाले स्वर्ण पदकको वर्षा नै गराइन्।

तस्बिरहरु: बर्षा शाह

नेपाल नै हो, सागका दुई वटा संस्करणमा एउटा मात्र स्वर्ण पदकमा सीमित भएको थियो। त्यही देशबाट प्रतिनिधित्व गरेकी खेलाडीले सागमै एकै संस्करणमा चार स्वर्ण पदक प्राप्त गरेकी छिन्।

गौरिकाले सागको इतिहासमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीका रुपमा दीपक विष्टको कीर्तिमान बराबरी गरेकी छिन्। तेक्वान्दो खेलाडी दीपकलाई चार स्वर्ण जित्न चार वटा साग खेल्नु परेको थियो।

तेक्वान्दोमा पछिल्लोपटक समावेश गरिएको पुम्से स्पर्धालाई बिर्सने हो भने सागको कुनै एक संस्करणमा यस खेलमा एउटा भन्दा बढी स्पर्धा खेल्न सम्भव पनि हुँदैन।

पौडीमात्र यस्तो अन्तर्राष्ट्रिय खेल हो जसमा एउटा खेलाडीले कुनै एक प्रतियोगितामा १२ वटा स्पर्धासम्म खेल्न सक्छ।

गौरिका परिवारसँग बेलायतमा बस्दै आएकी छिन्। उनकी आमा गरिमा राणा पूर्व एसएलसी टपर हुन् भने बुवा पारस सिंह मेडिकल सर्जन।

‘म जस्तो भाग्यमानी मान्छे यो दुनियामा कोही छैन होला’, गरिमाका बुबा वरिष्ठ अधिवक्ता लोकभक्त राणा भन्छन्।

नागरिकको विषयले निचोरिएको मन

१३ औँ साग पौडीको आफ्नो पहिलो स्पर्धामै स्वर्ण जितेपछि गौरिकाले खुशीसहित व्यंग्य गरेकी थिइन- ‘यो स्वर्ण नेपालका लागि। आज मैले देशका लागि स्वर्ण जितेकी छु। म पनि नेपाली नै हो।’

त्यसअघि राष्ट्रिय प्रतियोगितामा गौरिकालाई खेल्नै नदिनेसम्मको स्थिति देखिएको थियो।

गरिमा-पारस लामो समयदेखि बेलायतमा बसिरहेकाले गौरिका नेपाली हुन नसक्ने नेपाल पौडी संघमा रहेका एक समूहको तर्क थियो।

‘कुन हदसम्मको षड्यन्त्र भएको थियो त्यो कुनै दिन भनौँला। तर मेरा छोरी ज्वाई बेलायतमा बसिरहे पनि उनीहरुको नेपाली पासपोर्ट नै छ’, लोकभक्त राणा भन्छन्।

गौरिकालाई यो हदसम्म तयार गर्न गरिमा-पारसको कम्ता त्याग र लगानी छैन। उनीहरुले बेलायतमा हुर्किरहेकी छोरीलाई नेपाल चिनाई नै रहे। नेपालका लागि केही गर्नुपर्छ भन्ने सोच जगाई रहे।

त्यसैले हरसमय यो परिवार गौरिकाको पछाडि दौडीरह्यो- पौडीको नियमित प्रशिक्षणदेखि प्रतियोगितासम्म। राम्रो र प्रतिस्पर्धी खेलाडी बन्न आवश्यक पूर्वाधार बुझेर त्यसलाई तयार गर्दिरह्यो।

‘कुनैपनि प्रतियोगिताका बेला हामी गौरिकासँग केही पनि कुरा गर्दैनौँ नत उसलाई बाहिर केही भइरहेको छ भन्ने थाहा हुन्छ। उ पूरा खेलमा मात्र कनसन्ट्रेट हुन्छ। उ आफ्नै दुनियामा हुन्छ। जब प्रतियोगिता सकिन्छ अनि मात्र खेलका विषयमा कुरा गर्छौँ’, पारस भन्छन्।

हरेक प्रतियोगिता खेलिरहँदा गौरिकासँग पारस-गरिमा साथमा हुन्छन्। खेल भइरहेका बेला पनि उनीहरु नजिकबाट ख्याल गरिरहेको देखिन्छन्। यस्तो लाग्छ- गौरिकाको शतप्रतिशत जिम्मा यही जोडीले मात्र लिइरहेको छ चाहे त्यो खेल सुरु हुनुभन्दा अघि होस् वा खेल सकिएपछि।

पारस छोरीको प्रदर्शन र नतिजाबाट निकै खुशी छन्। भन्छन्, ‘तर मृगतृष्णा हुने रहेछ उसले अझै धेरै गरोस् भन्ने। उमेर पनि त सानै छ।’

आमाबुबासँग चौथो स्वर्णको खुशी साट्दै गौरिका सिंह। तस्बिरहरु: बर्षा शाह

प्रतियोगिताभर पारस- गरिमा निकै शान्त रहे। उनीहरु मिडियामा बोलेको देखिएन। नत उनीहरु त्यसका लागि तयार नै भए। सोमबार गौरिकाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेपछिको माहोल पहिलाको भन्दा फरक थियो। गौरिका रोइन्। पारस रोए। गरिमा रोइन्। उनीहरु अंगालो मारेर एकसाथ रोए।

पारस भन्छन्, ‘म पहिलो स्वर्ण जित्दा पनि रोएको थिएँ अनि दोस्रो स्वर्णमा पनि। तेस्रोमा चाहीँ रोइन। मैले चस्मा त्यत्तिकै लगाएको थिइन।’

गौरिका केही वर्षअघिसम्म नेपाली राम्रोसँग बोल्न सक्दिन थिइन् न त बुझ्न नै। यसबीचमा उनले निकै सुधार गरेकी छिन्। चार स्वर्ण जितेपछि मिडियासँग भएको कुराकानीमा उनलाई कतिपय प्रश्न अंग्रेजीमा सोधिएको थियो। तर उनले नेपालीमै जवाफ फर्काइन्।

पारस अब केही दिनमै बेलायत फर्कँदै छन्। त्यसपछि गरिमा र गौरिका पनि। नेपालले खेल्ने अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको तयारी उनले बेलायतमै गर्नेछिन्  ।जसका लागि पारस-गरिमाले निजी प्रशिक्षकको नै व्यवस्था गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?