
काठमाडौं-नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट–१’ले अन्तरिक्षबाट लिएको तस्बिर सार्वजनकि भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आफ्नो कार्यालयमा ग्राउण्ड स्टेशन स्थापना गरेर काम गर्न सुरु गरेपछि नेपाली भू-उपग्रहले पठाएको तस्बिर सार्वजनकि भएको नास्टका प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालले देश सञ्चारलाई जानकारी दिए।
उनका अनुसार यो तस्बिर एक महिना अघि लिइएको र उक्त तस्बिरमा भुटान,बंगलादेशको ढाका तथा भारतका आसाम, दाजिर्लिङ र सिक्किम लगायतको भू-भाग समेटिएको छ।
उनले भने, ‘ नेपाली भू-उपग्रहले एक महिना अगाडि आफ्नै ग्राउण्ड स्टेशनबाट कमाण्ड दिएर उक्त तस्बिर लिइएको हो। हामीले उक्त फोटोमा नेपालको बोर्डर क्षेत्र, भुटान,बंगलादेशको ढाका तथा भारतका आसाम, दाजिर्लिङ र सिक्किम लगायतको भू-भाग देख्न सक्छौ।’
उनका अनुसार रेडियो उपकरणमा केही समस्याहरु आए पनि काम भने गरिरहेको र यहीबाटै नेपाली स्याट-१ मार्फत नेपालमाथिको आकाशबाट कमाण्ड दिएर लिइएको हो। उनले भने, ‘ नेपाली स्याटको क्यामेरा ५ मेगा पिक्सेलको रहेको छ भने रिजुलुशन ४६०/४८० रहेको छ। यो हामीलाई पर्याप्त तस्बिर भने होइन तर पनि केही काम लाग्न सक्छ।’
उनले सरकारले सहयोग गरे अब आउने दिनमा थप हाइ रिजुलुशनको तस्बिर खिच्न सक्ने स्याटालाइटे बनाउने योजना रहेको बताए।
नेपालले गत वैशाख ४ गते नेपाली स्याट-१ नामक पहिलो भू-उपग्रह प्रक्षेपण गरेको थियो। जसमार्फत गत साउनमा नास्टले नेपाली स्याट–१ ले लिएको सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्बिर सार्वजनिक गरेको थियो।