
झापा – प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा पुनः चर्चा चल्न थालेको छ। सुदूरपश्चिम, गण्डकी तथा कर्णाली प्रदेशले नाम टुंगो लगाए पनि प्रदेश नं १ लगायत अन्य प्रदेशहरुले अहिलेसम्म प्रदेशको नाम टुंगो लगाउन सकिरहेका छैनन्।
प्रदेशका नाम टुंगो अहिलेसम्म नलाग्दा प्रदेशसभा तथा सरकारको आलोचना हुन थालेको छ। प्रदेश गठन भएको लामो समय वितिसक्दा पनि नाम टुंगो लगाउन नसकेकोमा सर्वसाधारण जनताले प्रदेश सभा तथा प्रदेश सरकारको आलोचना गर्न थालेका हुन्।
प्रदेश नं १ मा भने अहिले प्रदेशको नाम के राख्ने भन्ने विषयमा विभिन्न राजनीतिक दल तथा प्रदेशमा सक्रिय विभिन्न राजनीतिक संगठनहरुले प्रदेश सभालाई सुझाव दिन थालेका छन्।
मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशको नामका बारेमा चाँडै निर्णयमा पुगिने बताएका छन्। विभिन्न राजनीतिक संगठनहरुले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, लिम्बुवान, किराँत लिम्बुवान खम्बुवान, किराँत प्रदेश आदि नाम राखिनुपर्नेमा जोड दिइरहेका छन्।
बिहीबार इलामको फिक्कलमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले अब बस्ने प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने बताए। प्रदेशको नाम राख्ने विषय जटिल भए पनि अबको केहि समय भित्रमै उक्त विषयले निकास आउने मुख्यमन्त्री राईले बताए।
आगामी प्रदेश अधिवेशनमा पेश भएका नामहरुमध्येबाट उपयुक्त नाममा सहमती जुटाउने गृहकार्य भइरहेको जानकारी दिए। उनले भने, ‘धेरै नामहरु सिफारिस भएका छन्। तीमध्ये सबैलाई मान्य हुने नाम नै प्रदेश एकको नाम रहनेछ।’
लिम्बुवानले आन्दोलन गर्ने
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन शुरु गर्ने भएको छ।
गतमंसिर २९ र ३० गतेसुनसरीको धरानमा सम्पन्न बैठकले प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिनका लागि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव अशोक चेम्जोङले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवानमञ्च नेपालले सशक्त सडक आन्दोलन अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन्।
‘निर्णायक आन्दोलनका लागि पहिचान पक्षधर सबै पार्टी, समुदाय,व्यक्ति,संस्था,नागरिक समाजसँग सहकार्य र गठबन्धन गरिने छ,’ चेम्जोङले भने, ‘साथै मञ्चका सबै जनवर्गीय संगठन, सबै तहका समिति र लिम्बुवान भोलेन्टियर्सहरूलाई आन्दोलनका लागि तयार राखिने छ।’
महासचिव चेम्जोङले आन्दोलनलाई व्यवस्थित र निर्णायक बनाउन समिति गठन गरिएको बताए। ‘प्रदेश संयोजकको जिम्मा महासचिव शान्ता योङयाङलाई दिइएको छ, सदस्यसचिव राजु राई, सचिव गजेन्द्र चोङवाङ क्याक, संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर, नेताहरू अमर इजम, दिलु लिङदेन र धनबहादुर पन्धाक सदस्य रहनु भएको छ,’ चेम्जोङले भने।