
झापा– वर्षामा बाढीको मार खेप्ने गरेका तराईबासी अहिले शीतलहर तथा बाक्लो हुस्सुका कारण कठ्यांग्रिनु परिरहेको छ।
२४ सै घन्टा बाक्लो हुस्सु तथा चिसो हावाका कारण मानिसहरु चिसोबाट बच्न अनेको उपाय अप्नाइरहेका छन्। तापक्रम खासै नघटेको देखिए पनि तराईको चिसोले मानिसलाई अधिक प्रभावित बनाउने गर्छ।
गाउँ तथा शहरी इलाकाका ठाउँ–ठाउँमा आगो बालेर ताप्ने व्यवस्था गरिएको छ। कुनै स्थानमा सर्वसाधारण आफैंले आगो ताप्ने व्यवस्था मिलाएका छन् भने कुनै स्थानमा प्रहरी तथा स्थानीय तहले दाउराको व्यवस्था गरेर सर्वसाधारणलाई न्यानो बनाउने काम गरिरहेका छन्।
विगत केही दिनदेखि बढेको चिसोले जनजीवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाका विभिन्न स्थानमा सर्वसाधारणहरुलाई आगो ताप्ने व्यवस्था मिलाएको छ।
आम नागरिकहरुलाई न्यानो गराउन एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सबै प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण इलाकाहरुमा आगो बालेर ताप्ने व्यवस्था मिलाउने भनी निर्देशन दिएसँगै विभिन्न प्रहरी कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा विभिन्न स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाएका हुन्।
तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको छ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार गरीब बस्तीहरुमा आगो ताप्ने व्यवस्था मिलाइएको छ।
उनले भने, ‘हामीले जहाँ बढी आवश्यक्ता छ त्यहाँ आगो ताप्ने व्यवस्था मिलाएका छौँ। आयस्रोत राम्रो भएका मानिसले त बाक्लो न्यानो कपडा लगाउँछन्। हिटर ताप्छन्। तर आयस्रोत न्यून भएकाहरुको स्थान पहिचान गरेर आगो ताप्ने व्यवस्था मिलाएका छौँ।’
उनले सडक पेटीमा रात कटाउनेहरु पाइए उनीहरुलाई त्यहाँबाट उद्धार गर्ने र न्यानो कपडा वितरण गर्ने योजना बनाइएको बताए।