
देशभरका बिरामीहरुको भरोसा तथा देशमा चाहिएको दक्ष चिकित्सक जन्माउने मुख्य थलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज आफैं बिरामी भएर थलिएको धेरै समय भइसक्यो।
देशभरबाट आउने विरामीहरुको उपचारका लागि उक्त शिक्षण अस्पतालसम्मको पहुँच निकै गाह्रो विषय हो। बिरामीहरुले हतपति भर्ना हुन बेड पाउँदैनन्। त्यस्का लागि ‘सोर्स’ चाहिन्छ।
आकस्मिक कक्षमा एउटा बेडमा तीनजनासम्म बिरामी सुताएर चिकित्सकले सेवा दिएको कुरा नौलो होइन।
बेडबाट एकजना बिरामी डिस्चार्ज हुनसाथ आफ्ना बिरामी भर्ना गराउन तँछाड मछाडको स्थिति हुन्छ। साँच्चै उपचार चाहिने बिरामी जताततै लडिरहेका भेटिन्छन्।
भीडभाड उत्तिकै छ। बहिरंग सेवाको टिकट काट्नका लागि निकै दह्रो पाखुरा भएको मान्छे नगइ संभव नै छैन। हेर्दा लाग्छ उक्त शिक्षण अस्पताललाई सुधार गर्न अर्को ‘कुलमान’ चाहिन्छ।