
काठमाडौँ: एक महिनायता दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा शहिद स्मारक ए डिभिजन लिग फुटबलका खेलहरु भइरहेका छन्।
२०७२ सालको भूकम्पले कमजोर बनेको दशरथ रंगशाला, १३ औँ दक्षिण एसियाली खेलकुदका लागि तयार गरिएपछि चार वर्षपछि यहाँ ए डिभिजन लिग फर्किइएको छ।
तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिससहित मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ क्लब, सरस्वती क्लब, ब्रिगेड ब्वाइज, एनआरटी, सरस्वती युथ क्लब, फ्रेण्ड्स क्लब, संकटा र हिमालयन शेर्पासहित १४ ए डिभिजन क्लब प्रतिस्पर्धामा छन्।
उपाधि होड निकै रोमान्चक बन्दै छ। पाँच चरणको समाप्तिमा पहिलो स्थान र पाचौँ स्थानको क्लबबीचको अंक दुरी केवल ३ को छ। प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउने छ। विजेता बन्दा हुने शान त छँदै छ। तर त्यसबाहेक अरु केही छ भने त्यो देशको परिधिभित्र मात्र सीमित हुने छ।
लिग विजेता बनेबापत अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता नेपाललाई कम्तिमा यसपटक बन्द छ। लिग विजेताले खेल्ने एसियाली फुटबल महासंघ ( एएफसी) कप नेपालले यसपटक खेल्न पाउने छैन। नेपालका कुनैपनि ए डिभिजन क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न तय गरेको मापदण्ड पुरा गर्न सकेनन्।

सहिद स्मारक ए डिभिजन लिगको खेलमा गोल गरेपछि उत्साही मनाङका खेलाडी। (फाइल तस्बिर)
आफ्ना प्रतियोगितामा सहभागी हुन एएफसीले क्लबहरुले अनिवार्यरुपमा एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नुपर्ने जनाएको छ। घरेलु लिगका ए डिभिजन क्लबहरुको पूर्वाधारका विषयलाई लिएर एएफसी कडा रुपमा प्रस्तुत भएको हो।
एएफसीले आफूले मात्र हैन, सम्बन्धित राष्ट्रिय फुटबल संघलाई समेत ‘क्लब लाइसेन्सिङ’ गर भनेको छ। यसको मतलब एन्फाले पनि क्लबहरुलाई लाइसेन्सिङ गर्नुपर्ने छ। त्यसका लागि एन्फाले तोकेका मापदण्ड क्लबहरुले पुरा गर्नुपर्ने छ।
एएफसीको क्लब लाइन्सिङ प्राप्त गर्न ‘१७ बुँदा’ पुरा गर्नुपर्छ। यसमा हरेक क्लबको ट्रेनिङ मैदान र रंगशाला हुनुपर्ने, युथ डेभलपमेन्ट प्रोग्राम हुनुपर्ने, दुई वटा उमेरस्तरको टोली हुनुपर्ने, सेक्युरिटी अफिसर हुनुपर्ने, खेलाडीसँग कम्तिमा सिजनभरको सम्झौता हुनुपर्ने, एएफसी ए कोचिङ लाइसेन्स भएको प्रशिक्षक हुनुपर्ने, सीईओ हुनुपर्ने, वार्षिक बजेट हुनुपर्ने, फिजियो र ट्रेनिङ अफियल हुनुपर्ने लगायत उल्लेख छ।
यीमध्ये धेरै बुँदा नेपालका कुनैपनि क्लबले पुरा गरेका छैनन्। नेपालको सर्वाधिक सफल ए डिभिजन क्लब हो मनाङ मर्स्याङ्दी। ८ पटक घरेलु लिगको उपाधि जितेको मनाङले सानो गौचरणमा ट्रेनिङ गर्दै आएको छ। यो मनाङको आफ्नो ग्राउन्ड हैन। समय समयमा मैदान मर्मतका लागि सहयोग गर्ने गरेको मनाङका अध्यक्ष छिर्मिङ उर्केन बताउँछन्।
हाल ए डिभिजन लिगमा मनाङले २२ जना खेलाडी दर्ता गरेको छ। मासिक पारिश्रमिक खेलाडीलाई मात्र १५ लाख रुपैयाँ जाने क्लबले जनाएको छ। क्लबको वार्षिक बजेट करिब एक करोड ५० लाख रुपैयाँ रहेको छ।
क्लबसँग अहिले मुख्य प्रायोजक छैन। मनाङ ट्रस्टले वार्षिक ८ लाख रुपैयाँ दिँदै आएको छ। त्यसबाहेक मुस्ताङमा रहेको एप्पल फार्मबाट वार्षिक ४० लाख रुपैयाँ आउने गरेको क्लबका अधिकारी बताउँछन्। अधिकांश खेलाडी लिगका लागि मात्र अनुबन्धित छन्।
जावलाखेलले अहिलेसम्म शहिद स्मारक ए डिभिजन लिग जित्न नसकेपनि अन्य धेरै क्लबको तुलनामा यो स्रोत साधन सम्पन्न छ। यसको आफ्नै मैदान छ तर ए डिभिजन लिगका खेलहरु सन्चालन गर्न योग्य छैन।
क्लबका अध्यक्ष छिम्मी उर्गेन एएफसीको मापदण्ड पुरा गर्न तत्काल नसकिने बताउँछन्। ‘हाम्रो अभिभावक भनेको एन्फा हो। एन्फासँग नै आफ्नो रंगशाला छैन। रंगशाला बनाउने कुरा करडौँको विषय हो जब की हाम्रो वार्षिक वजेट नै वार्षिक एक करोडको हाराहारीमा हुन्छ’, छिम्मी भन्छन्। उनी एन्फाले नै समाधानको बाटो खोज्नुपर्ने बताउँछन्। उल्लेखनीय के छ भने एन्फाले शहिद स्मारक ए डिभिजन लिग तयारीका लागि हरेक क्लबलाई २०/२० लाख रुपैयाँ दिएको थियो।
जावलाखेलले अहिलेसम्म शहिद स्मारक ए डिभिजन लिग जित्न नसकेपनि अन्य धेरै क्लबको तुलनामा यो स्रोत साधन सम्पन्न छ। यसको आफ्नै मैदान छ तर ए डिभिजन लिगका खेलहरु सन्चालन गर्न योग्य छैन। क्लबले यसलाई ट्रेनिङ मैदानका रुपमा प्रयोग गर्दै आएको छ। क्लबको आफ्नै भवन छ भने केही भवन भाडामा लगाउँदै आएको छ।
क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीका अनुसार क्लबको वार्षिक बजेट एक करोड २५ लाख रुपैयाँको हाराहारीमा छ। मासिक ११ लाख रुपैयाँ खेलाडीको पारिश्रमिकमा खर्च छ। जारी प्रतियोगिताका लागि उसका २५ जना खेलाडी दर्ता छन्। मुख्य प्रायोजक रहेको प्रभु बैंकले वार्षिक २५ लाख रुपैयाँ दिन्छ। जावलाखेलका पनि धेरै खेलाडी लिगका लागि मात्र अनुबन्धित छन्।
जावलाखेलका अध्यक्ष क्षेत्री अब ए डिभिजन क्लबहरु निर्धारित मापदण्डमा जानुको विकल्प नरहेको बताउँछन्। ‘कि त लिग नै खेल्न छाड्नु पर्यो। नत्र भने एन्फालाई पनि एएफसीको प्रेसर छ’, क्षेत्री भन्छन्।
इन्द्रमान तुलाधर एन्फाका महासचिव मात्र होइनन् संकटा क्लबका अध्यक्ष पनि हुन्। संकटाले साँगामा जग्गा लिजमा लिएर ट्रेनिङ मैदान बनाएको छ। तुलाधरका अनुसार ट्रेनिङ मैदानसँगै बनाइएको होस्टलमा संकटाका खेलाडीहरु बस्छन्। क्लबको वार्षिक बजेट एक करोड १० लाख रुपैयाँ छ। आफ्नै भवन छ अनि सटरहरु पनि भाडामा लगाइएको छ। लिजमा लिइएको जग्गामा बनाइएको भवनको भाडाबाट पनि आम्दानी हुन्छ। ३५ लाख रुपैयाँ प्रायोजनबाट आउँछ।
तुलाधर एएफसीले क्लब लाइसेन्सिङका लागि तोकेको मापदण्डभित्रबाट एन्फाले पनि क्लब लाइसेन्सिङका लागि मापदण्ड बनाउने बताउँछन्। उनी ट्रेनिङ ग्राउण्ड र म्याच ग्राउन्डका लागि कुनै समस्या नरहेको बताउँँदै भन्छन् , ‘बाहिर पनि धेरै क्लबले एउटै रंगशालालाई आफ्नो म्याच ग्राउन्ड देखाएको हुन्छ। त्यसका लागि कागजी प्रकृया मात्र पुरा गर्नुपर्छ। वार्षिक साधारण सभा, खेलाडीसँग सम्झौता, बजेट लगायतका कामहरु हाम्रा क्लबहरुले गरेकै छन्।’
एन्फा महासचिव तुलाधर डेभलपमेन्ट युथ प्रोगाम, उमेरस्तरका दुई वटा टोली, सेक्युरिटी अफिसरलगायत विषय भने नेपाली क्लबको हकमा जटिल रहेको बताउँछन्। ‘ भोलीको सिनियर खेलाडी आउने भनेको युथ प्रोगामबाटै हो। त्यसैले एफएसीले यसमा बढी फोकस गरेको छ। खेलाडी र टिमको सुरक्षाको विषय पनि उत्तिकै महत्वपुर्ण हुन्छ। तर अहिले हाम्रा ए डिभिजन क्लबहरु यसलाई धान्न सक्ने अवस्थामा छन् कि छैनन् भन्ने प्रमुख विषय हो’, तुलाधर भन्छन्।