
झापा– झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्षको प्रोफेसर डा. महम्मद युनुस सहारा लघुवित्त पुरस्कार अर्जुनधारा ९ झापाकी किसान टिकादेवी राईलाई प्रदान गरेको छ।
शनिबार झापाको विर्तामोडमा आयोजित संस्थाको २३ औं साधारण सभामा ५१ हजार नगद पुरस्कार राशिको उक्त पुरस्कार वितरण गरिएको हो। पुरस्कार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले प्रदान गरे।
सहाराले हरेक वर्ष लघुवित्त कार्यक्रममा उत्कृष्ट हुने सदस्यलाई उक्त पुरस्कारले पुरस्कृत गर्ने गरेको छ। कडा मेहेनतकी पर्याय किसान राईले आफूले गरेको परिश्रमको उचित मूल्यांकन भएको बताइन्।
पुरस्कार प्राप्त गरेपछि उनले भनिन्, ‘म सहारामा आएदेखि कडा मेहेनत र परीश्रम गरेँ। मेरा लागि गरिएको लगानी खेर जान दिइनँ। आज म पुरस्कार प्राप्त गर्ने योग्य सदस्य भएछु।’
सुरुका दिनमा हातमुख जोड्न पनि गाह्रो भएका बेला सहाराले पत्याएर आज जीवन चलाउन पैसा अभाव नभएको अनुभव उनले सुनाइन्।
राईले भनिन्, ‘मैले केही जमिन जोड्न सकेँ। घर हेर्न हुने बनाउन सकेँ। दुई/तीन जनालाई रोजगारी दिएको छु। यहाँभन्दा मलाई कति गर्नुहुन्छ?’