
झापा– भारतबाट नेपालमा सामान अनलोड गरेर फिर्ता हुँदा भारतीय मालबाहक सवारी साधनले नेपालमा फुल ट्याङ्क इन्धन भर्ने काममा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले लगाम लगाइदिएका छन्।
भारतीय सवारी साधनले नेपालमा इन्धन फुल ट्याङ्क भर्दा नेपालमा इन्धनको हाहाकार हुने गरेको र नेपालका लागि ल्याइएको इन्धन पुनः भारतीय सवारी साधनले उतै लैजाँदा नेपाललाई घाटा हुने भएकाले अब सय लिटरभन्दा बढी इन्धन भर्न नदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रानाले बताए।
उनले सरोकारवाला सबैलाई जिल्ला प्रशासन कार्यालय झापामा बोलाएर उक्त कदम चालेका हुन्। प्रजिअ रानाले भने, ‘भारतबाट ल्याउने अनि उतै लाने त भएन नि। यहाँका लागि भनेर ल्याएको इन्धन यहीँ खपत हुनुपर्छ। आउने सवारी साधनलाई उहाँसम्म पुग्नका लागि एकसय लिटर चाहिँ दिने व्यवस्था मिलाइएको हो।’
नेपालमा भारतमा भन्दा कम मूल्यमा पेट्रोलियम पदार्थ पाइन्छ। त्यही मौका छोपेर सक्दो इन्धन भरेर भारतीय मालवाहक सवारी साधनहरु भारततिर जाने गरेका थिए।
अहिले भारत र नेपालमा डिजेलको मूल्यकाे अन्तर प्रतिलिटर १६ देखि १७ रुपैयाँ रहेको छ।