
काँकरभिट्टा– भ्रमण वर्ष २०२० शुरु भएको १५ दिन बितिसकेको छ। तर पर्यटक प्रवेश गर्ने नाकाहरुमा पर्यटकलाई आकर्षण गर्ने किसिमका काम भइरहेका छैनन्।
अहिले पूर्वी नाका काँकरभिट्टामा हेर्ने हो भने जताततै रुख काटेर तहस नहस बनाइएको छ। पूर्वी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई ‘रुख काटेर स्वागत’ भनेजस्तो स्थिति देखिन्छ।
छिमेकी मुलुक भारत, भुटान, बंगलादेश, म्यान्मार लगायत देशबाट आउने पर्यटकका लागि मुख्य प्रवेशद्वारका रुपमा काँकरभिट्टा नाकालाई मानिन्छ।
एसियन राजमार्ग विस्तारका लागि रुख काटिएको भए पनि काटिएका रुखका हाँगा तथा पात सडकमा छरपस्ट छन्।
विगत एक सातादेखि नै राजमार्ग खाली गर्नका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने रुख काट्न थालिएको हो। तर रुख काटिसकेपछि सफा गरिएको छैन।
रुख काटेपछि चाडवार्डका कारण मजदुर अभावले सफा गर्न नसकिएको मेचीनगर नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष ललित तामाङले बताए।
उनले भने, ‘माघे सङ्क्रान्तिले काम गर्ने मान्छे छुट्टीमा गए। आउने वितिक्कै सफा गर्न लगाउँछु।’