
काठमाडौँ : ‘अमेरिका ? सपनाको देश ।’
लाखौँ नेपाली युवाको एउटै जवाफ हुन्छ। यही सपना पछ्याउँदै हरेक वर्ष नेपाली युवाहरु लाखौँ रुपैयाँ डुबाएर अमेरिका नपुग्दै रित्तो हात फर्कन्छन्। हप्ता हैन, महिनौँ बित्छ बिच बाटोमा। एकै ठाउँमा पनि महिनौँ बस्नुपर्छ।
‘लुकामारी’मा केही अमेरिका छिर्न सफल हुन्छन्। अनि यही सफलतालाई देखाएर मानव तस्करले आफ्ना ‘नयाँ ग्राहक’लाई जाल फाल्छन् भने बीच बाटोमा पुगेर थकित भएकालाई आशावादी बनाउँछन्।
एक समय, भनाई नै प्रचलित थियो- अमेरिका छिर्न मात्र गाह्रो तर छिरेपछि सक्कियो, कुनै समस्या हुँदैन। तर पछिल्लो समय तस्करको पछि लाग्दै महिनौँ लगाएर अमेरिका छिरेका ती ‘भाग्यमानी’हरु लगातार स्वदेश फर्काँइदैछन्।
हरेक साताजसो अमेरिकाले अवैधरुपमा अमेरिका प्रवेश गरेका नेपालीलाई नेपाल फर्काइरहेको छ। गत डीसेम्बर १८ मा एकैपटक पाँच जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको थियो। नेपाल आइपुगेपछि ती नेपालीले महिनौँको प्रयासपछि अमेरिका छिरेको तर लगत्तै पक्राउ परेपछि महिनौँसम्म जेल बस्नु परेको अनुभव साँटेका थिए। त्यसक्रममा जनहीँ ५० लाख रुपैयाँभन्दा बढी रुपैयाँ खर्च भएको उनीहरुको भनाई थियो।
अमेरिकाले डीसेम्बर २० र २२ तारिखमा पनि दुई जना नेपालीलाई डीपोर्ट गरेको थियो। सन् २०२० लागेयता मात्र ६ जना नेपाली अमेरिकाबाट डीपोर्ट भएका छन्। यो नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जानकारीमा आएको तथ्यांक मात्र हो। ‘ अमेरिकाले गरेका सबै डीपोर्टको जानकारी हामीलाई नहुन पनि सक्छ। दूतावासले जानकारी गराए मात्र हामीलाई खबर हुने हो। त्यसैले डीपोर्ट हुनेको संख्या अझ धेरै हुन सक्छ’, ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलिया भन्छन्।
चालु आर्थिक वर्षमा मात्र अमेरिकाबाट ६० जना नेपालीलाई डीपोर्ट गरिएको तथ्यांक ब्युरोसँग छ। गत जुलाई २९ तारिखमा एकैपटक चार जना नेपालीलाई डीपोर्ट गरिएको थियो। अगस्ट १६ तारिखमा पनि पाँच जना नेपाली अमेरिकाबाट डीपोर्ट भएका थिए। अगस्टमा १७ र अक्टोबरमा ११ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको तथ्यांक ब्युरोको छ। डीसेम्बरमा पनि ८ जना नेपाली अमेरिकाबाट डीपोर्ट भए।
गत आर्थिक वर्षमा अमेरिकाले ४५ जना नेपालीलाई डीपोर्ट गरेको थियो। चालु आर्थिक वर्षको सातौँ महिना चल्दै गर्दा डीपोर्ट हुने नेपालीको संख्या ६० पुगेको छ। डीपोर्ट भएकामध्ये सबै पुरुष हुन्। ‘गिरोह मात्र अमेरिका जाने समूह भनेको पुरुष नै हो। हाम्रा अनुसन्धानले पनि तस्करको पछि लाग्नेमा पुरुषहरु मात्र देखाएको छ’, एसपी थपलिया भन्छन्।।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता अमेरिकाले गैह्रकानुनी रुपमा बसिरहेका आप्रवासीमाथि कडाई गरिरहेको छ। तस्करले नेपालीलाई विभिन्न रुटको प्रयोग गरेर नेपालीलाई दक्षिण अमेरिकाबाट उत्तर अमेरिका हुँदै मेक्सिको पुर्याएर अमेरिका छिराउने गरेका छन्।