
झापा-केही दिन भारतको सिक्किमबाट घुम्न आएका बसन्त मोक्तान ह्याप्पी ल्यान्ड घुमेपछि एक्कासी उनको मुखबाट निस्क्यो, ‘यो त गज्जब नै रहेछ।यस्तो उराठलाग्दो ठाउँलाई कति मजाले नयाँ संरचना बनाएर पर्यटक आकर्षित गरेको !’
उनी मात्र होइन त्यहाँ आउने अधिकांशले ह्याप्पी ल्यान्ड फन पार्कको तारिफ गरेर जान्छन्। अनि फेरि आउने बाचा गर्छन्।
झापाको धुलाबारीबाट केही बेर भए पनि ‘फ्रेस’ हुन त्यहाँ पुगेकी कुसुम दाहालले भनिन्, ‘हामी साथीहरु रमाइलो गर्न आएका हौं।’ त्यसपछि गायक प्रमोद खरेलको गीतमा उनीहरु नाच्न थाले।
ह्याप्पील्याण्ड फनपार्क अर्थात् सेल्फी डाँडा कनकाई नगरपालिका-३ मा छ। सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको छ ।
यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन्।फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको सेल्फी डाँडाले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ।
पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ।
यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमा पनि राखिएको छ। पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ।
पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ। यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ। शनिवार र चाडपर्वमा अत्यन्त भीड लाग्छ यहाँ भारत बङ्गलादेश र भूटानबाट पर्यटक घुम्न आउने गरेका छन्।
सन्काहा खोलाको बगरमा सुरुंगाका काका–भतिजको जोडीले धान र काँसको विकल्पमा पर्यटकीय स्थल बनाएका हुन्।
सुरुंगाका दिनेश र मनोज शिवाकोटीले सुरुमा बालुवा थुपारेर अग्लो बनाए र नाम राखे– ‘सेल्फी डाँडा’ । सन्काहाको बगरमा सेल्फी खिच्नेको भीड लाग्न थाल्यो।फन पार्कमा करिब १२ करोड लगानी भइसकेको छ।