
झापा –केही दिन अघि झापाको विर्तामोडमा निर्माण भइरहेको ‘झापा नाटक घर’ का लागि ‘एक इँटा अभियान’ अन्तरगत बिर्तामोडका सक्रिय युवाहरुको संस्था ‘एक्टिभ नाइन’ ले नौवटा इँटा सहयोग गर्यो।
ठूलो निर्माणको कामका लागि नौवटा इँटाले केही काम अघि बढ्दैन। तर त्यो सहयोग प्रतिकात्मक थियो। सबैको सहभागिता होस् भनेर एक्टिभ नाइनमा आबद्ध युवाले उक्त नौवटा इँटा हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरे।
एक्टिभ नाइनमा आबद्ध युवाहरुको सोच नै काममा अन्य युवालाई जवाफदेही बनाउनु रहेको छ। एक्टिभ नाइनमा रहेका युवा फुर्सदिला पनि छैनन्। आ–आफ्ना व्यवसायमा व्यस्त छन्। तर काम गरेर निस्केको समय उनीहरुले प्रतिकात्मक काममा खर्चिने गरेका छन्।
केही महिना अघि उक्त समूहले झापाको विर्तामोडमा शंख बजाउने प्रतियोगिता आयोजना गरेको थियो। हिन्दु संस्कारमा शंख ध्वनीको अपरिहार्यता र मौलिकता धेरैले बिर्सिँदै गएको भन्दै एक्टिभ नाइनले शंख ध्वनी प्रतियोगिताको आयोजना गरेको थियो।
समाजलाई चाहिने तर लोप हुन लागेका विषयलाई पुनर्ताजगी गराउँदै कला साहित्यको संरक्षणमा पनि योगदान गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आफ्नो समूहले अभियान चलाएको एक्टिभ नाइनका अध्यक्ष गोविन्द निरौलाले बताए।
उनले भने, ‘इँटाको प्रतिकात्मक सहयोग तथा शंख ध्वनी प्रतियोगिता जस्ता कामहरुले समाजलाई चाहिने कुरालाई पुनर्जिवित बनाउने काम गरेको छ।’
गत वर्षदेखि एक्टिभ नाइनले नौमती बाजाको संग्रह गरेर कार्यक्रमहरुमा बजाउन थालेको छ। उक्त समूहमा आबद्ध युवा आफै बाजा बजाउन निस्किन्छन्।
अहिलेसम्म चारवटा बिहेमा उनीहरुले नौमती बाजा बजाएको एक्टिभ नाइनका सचिव भानु खनालले जानकारी दिए।
बिर्तामोडका ९ जना युवा लोपोन्मुख नौमती बाजा संरक्षण अभियानमा लागेका हुन्।
बिशेषगरी छापाखाना ब्यवसायमा सक्रिय युवाले ‘एक्टिभ नाइन’ समूह निर्माण गरेका हुन्। उनीहरु ‘परम्परागत बाजा, हामी सबैको साझा’ भन्ने नाराका साथ नौमती बाजा संरक्षणमा लागेका हुन्।
निरौला र खनाल सहित सुरेश खतिवडा, अर्जुनबहादुर थापा, मिलन ढकाल, बिनोद दहाल, पुण्यप्रसाद खतिवडा, रोहितकुमार भट्टराई र झरेन्द्र खतिवडा एक्टिभ नाइनमा आबद्ध छन्।