
झापा -देशमा काम गर्ने वातावरण नै छैन भनेर अल्छी गर्नेहरुका लागि उनी जाँगरका एक ज्वलन्त उदाहरण हुन्। जब उनले २०६१ सालमा बंगुर पालनको व्यवसाय सुरु गरे त्यो बेला यो व्यवसायमा टिक्न सकिएला कि नसकिएला भन्ने चिन्ता हुन्थ्यो। तर बंगुर पालन व्यवसाय उनका लागि वरदान सावित भयो र मनग्गे आम्दानी गर्न थाले। उनी हुन् झापाको कमल गाउँपालिका ४ का बंगुर पालक कृषक सञ्जीव कुलुङ राई।
उनको बंगुर पालन फार्ममा करिब १० बर्ष अघि उनीकहाँ ४ सय वटा बंगुर थिए। अहिले उनको फार्ममा ९ वटा बंगुर छन्। त्यतिमात्र होइन, अहिले उनी बंगुर मात्र पाल्दैनन्, बंगुर पालनका लागि सम्पूर्ण स्रोत बनेका छन्। बंगुरका पाठा, मासुका लागि वयस्क बंगुर, कृत्रिम गर्भाधानका लागि वीर्य जस्ता सेवा उनको फार्ममा उपलब्ध छन्।
२०७१/७२ देखि उनले कृत्रिम गर्भाधानका लागि वीर्य संकलन गर्न थाले। फार्ममै प्रयोगशाला स्थापना गरे। बंगुरका साथै वीर्यसमेत बेच्न थाले। पूर्वी बजारमा उनको एकछत्र बजार छ।
भारतका पनि केही स्थानमा उनले बंगुर तथा वीर्य ‘सप्लाइ’ गर्छन्। वीर्य संकलनका लागि ख्यातिप्राप्त जातहरु ड्युरक, ह्याम्पसायर, बर्कसायर, योर्कसायर तथा ल्याण्डरसका १४ वटा भाले बंगुर उनले पालेका छन्।
कुलुङ भन्छन्, ‘यी जातहरु सबभन्दा बढी बिक्ने जातहरु हुन्। उन्नत जातका भाले पाल्न सानो मेहेनतले सम्भव नै छैन।’
उनको बंगुर पालन फार्म अहिले चार बिघा जमिनमा फैलिएको छ। अहिलेसम्म उनको लगानी करिब ८ करोड रुपैयाँ पुगिसकेको छ। तर फाइदा प्रशस्त छ। कुलुङले भने, ‘बार्षिक करिब साँढे सात करोड रुपैयाँको कारोबार हुन्छ। करिब ४० प्रतिशत जति नाफा बस्छ।’
उनको फार्ममा काम गर्नेहरु १८ जना छन्। ९ जना पूर्णकालिन छन्। राष्ट्रपति उत्कृष्ट पशुपालक कृषक पुरस्कार लगायत एक दर्जन पुरस्कारले उनी अहिलेसम्म पुरस्कृत भइसकेका छन्।
पैसा कमाउन विदेश जान भनेर साउदी अरब पुगेका उनी स्वास्थ्य परीक्षणमा अनुतीर्ण भएपछि घर फर्किए। जीविकोपार्जनका लागि स्थानीय जातको बंगुर पाल्न थालेका उनी अहिले सबै बंगुरपालक कृषकका लागि प्रेरणाको स्रोत बनेका छन्।
उन्नत जातका बंगुर पाल्नका लागि चाहिने सबै सुविधा खोरमा छन्। बंगुरलाई चाहिने उचित तापक्रमलगायत सुविधा उनले बनाएको खोरमा छन्।
उनको फार्मलाई ‘बंगुर पर्यटन’को रुपमा विकास गर्नका लागि धमाधम संरचना बनाइरहेका छन्। अहिले पनि धेरै मानिस उनको फार्म हेर्नका लागि मात्र भए पनि आउने गरेको उनले सुनाए।
बनाउँदै गरेको घर देखाउँदै कुलुङले भने, ‘यो घरको माथिल्लो तलाबाट बंगुर फार्म हेर्ने हो। बंगुर पालन कस्तो हुनुपर्छ भन्ने नमूना सिकेर जाउन्।’ उनले फार्ममा बनाएका खोर निकै आकर्षक र सुरक्षित छन्।