
झापा– चीनमा रहेका नेपाल आउन चाहने नेपालीहरु अहिले हुवेइ प्रान्तको वुहान विमानस्थलमा आइपुगेका छन्।
उनीहरु अपरान्ह करिब चार बजे त्यहाँ आइपुगेको यात्रामा रहेका एकजना चिकित्सक डा. माधव गौतमले जानकारी दिए। उनका अनुसार उनीहरुलाई सुरक्षित अवस्थामा त्यहाँ राखिएको छ।
आज राति ११ बजे चीनकाे वुहानबाट नेपाल आउनका लागि विभिन्न शहरबाट नेपालीहरु वुहान जान बिहानैदेखि सुरु गरेका थिए। नोबल कोराना भाइरसको संक्रमण सुरु भएको हुबेइ प्रान्तको वुहान विमानस्थल अहिले सुनसान रहेको उनले बताए।
डा. गौतमले भने, ‘हामीलाई विमानस्थलका कर्मचारीले सुरक्षित राख्नु भएको छ। विभिन्न शहरबाट नेपालीहरु वुहान आउने क्रम जारी छ।’
यात्राका क्रममा उनीहरु चढेको बसमा पनि स्वास्थ्य परीक्षण गरिएको थियो। चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश ल्याउन नेपाली जहाज शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेको गरिसकेको छ।
दिउँसो २:४५ बजे नै प्रस्थान गर्ने भनिए पनि झण्डै सवा घण्टा ढिलो गरी उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वुहानका लागि उडेको हो।
उनीहरुको उद्धारका लागि ४ जना स्वास्थ्यकर्मी, ३ जना पाइलट, ७ जना क्रु मेम्बर, १ जना इन्जिनियर, १ जना प्राविधिक र १ जना डिस्पास्चर गरी १७ जनाको टोली चीन प्रस्थान गरेको छ।