झापा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अन्तर्राष्ट्रिय प्रचलनमा आएको देशको नक्सा अंकित ‘बर्थडे केक’ काटिएको कुरामा अल्झिनु उचित नभएको बताएका छन्।
झापाको विर्तामोडमा सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा उनले काटेर बाँडेको केकमा नेपालको नक्सा राखिनु मुलुकलाई माया गरेको बताए।
उनले भने, ‘जन्मदिनको केकमा मुलुकको नक्सा मुलुकलाई माया गरेर राखिएको हो। केक काटेर मुलुक खाने प्रवृत्ति भएकाले यस्तो टिप्पणी गरेका हुन्। मुलुकको नक्सायुक्त केक खाने कि मुलुकै खाने?’
प्रधानमन्त्री ओलीले आफू जन्मेको ठाउँ र घरलाई संरक्षण गर्ने र त्यस ठाउँको विकासका योजना लैजाने उचित समय खोजी रहेको बेलामा जन्मदिनको अवसर पारेर योजनाहरु सुरुवात गरेको नेता बस्नेतको भनाइ थियो।
उनले भने, ‘अहिलेको पुस्ताले आफ्ना ठाउँलाई बिर्सिने गरेको र आफू जन्मे/हुर्केको ठाउँबारे सोच्नुपर्छ भन्ने सन्देश दिन पनि उक्त कार्यक्रमको आयोजना गरिएको हो। फेरि त्यो कार्यक्रम प्रधानमन्त्रीज्यूको आयोजनामा भएको पनि होइन। उहाँका शुभचिन्तक तथा समर्थकले कार्यक्रम आयोजना गरेका हुन्।’
प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको घटनाले नेकपाको आचार संहिता उल्लंघन नभएको नेता बस्नेतको दाबी थियो।
सेक्युरिटी प्रेस खरिद सम्बन्धमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानविन गर्नुपर्ने बस्नेतले बताए। उनले उक्त मुद्दा राम्रो नियतले नआएको पनि बताए।
बस्नेतले भने, ‘राज्यले खरिद गर्ने प्रक्रिया सार्वजनिक खरिद ऐन अन्तर्गत नै हुनुपर्छ भन्ने मेरो मान्यता हो। यस्ता कुरामा धेरै विचार नपुर्याइ काम गरियो भने राम्रो परिणाम आउँदैन।’
पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा भइरहेको कसरत स्वभाविक भएको उनले बताए। प्रतिनिधिसभामा उठाउँदा हार्छु भन्ने लागेर चुनाव नलडेका उपाध्यक्ष गौतमलाई पार्टी एकीकरणमा उनले गरेको योगदानलाई आधार मानेर पार्टी नेतृत्व राष्ट्रिय सभामा लैजान सहमत भएको उनको भनाई थियो।
भिडियाे: