नारीवादीहरुलाई प्रश्न: अबको महिलाको जीवन कस्तो चाहनुहुन्छ?

नारीवादीहरुलाई प्रश्न: अबको महिलाको जीवन कस्तो चाहनुहुन्छ?
+
-

म यस्तो देशमा बस्छु जहाँ महिलालाई ३३ प्रतिशत अधिकारको नामले सुरक्षित गरिएको छ। राज्यका संवैधानिक अंगमा महिलाको स्थान सुरक्षित गरिएको छ। अनि त्यही देशमा छोरीहरु एकपछि अर्को गर्दै बलात्कार पछि हत्या गरिन्छन्।

तर दोषी वर्षाैँसम्म पनि फेला पर्दैनन्, छोरीहरु दाइजोको नाममा जलाइन्छन् अनि रास्ट्रपति ज्यू करोडौँको गाडीको माग गर्नुहुन्छ।

अब कुरा गरौँ देशका आम महिलाको बारेमा जसको काधमा टेकेर खास भनिएका महिला अझ भनौँ नारीवादी महिलाहरु जसले ठूला ठूला महल त खडा गरे नै, अझ महिलावादीको ट्याग भिरेर आफूलाई आम महिलाका हिमायती समेत बनाइरहेका छन्।

साह्रै दुःख लाग्छ दिनप्रतिदिन निर्मलाको नाम बेचेर अधिकार र न्यायको कुरा गरेको देखेर। सोध्न मन लाग्छ। निर्मलाको नाम बचेर अझ कति दिन रजाइ गर्ने हो हामीले, अब निर्मलालाई वकालत गर्न बन्द गरौँ बरु अरु छोरीहरुलाई निर्मला हुनबाट कसरी बचाउन सकिन्छ त्यतातिर सोचौँ र त्यसको लागि आवश्यक त्यस्ता कदमहरु चालौँ जसले गर्दा थप छोरीहरुको भविष्य छोरी भएकै कारण धरापमा नपरोस्।

अब छोरीहरुलाई छोरीभन्दा पहिले मानव बन्न सिकाउ। आफ्नो लागि बोल्न सक्ने र आफ्ना कुरा राख्न सिकाउने बनाउ। त्यसको लागि हामीले राज्यलाई राज्यदेखि स्थानीय निकायसम्मबाट प्रभावकारी कार्यक्रम र जनचेतना मुलक कार्यक्रममा गाँउगाँउमा पु¥याउन जोड दिन लगार्औँ ।

महिला अधिकारका कुरा गरिरहँदा महिला जिम्मेवारीका कुरालाई पनि अघि सार्नु पर्छ हामीले किनकि अब समाज अधिकारले मात्र अगाडि बढ्ने हैन, जिम्मेवारीको बोध र इमानदारीपूर्वक जिम्मेवारीको बहनताबाट मात्र अघि बढ्न् सक्छ ।

यो समाज मात्र छोरी बुहारीको हैन महिला र पुरुषको दुवैको हो हामी समाजमा बस्छौँ भनेपछि समाजका रहेका राम्रा नराम्रा कुराको जिम्मेवार पनि हाममी स्वयं हुन्छौँ । हामी महिलाले महिला अधिकारका कुरा गरिरहँदा हामीले आफू भन्दा अगाडि भएको पुरुषको आत्मसम्मानको ख्याल कति गरिरहेका छौँ त्यो ख्याल राख्नु पनि महत्वपूर्ण कुरा हो।

समाज अनि नारी यति मात्र पनि हैन समाज अझ यो विश्व। हामीले महिला अधिकारको कुरा गरिरहँदा मानव अधिकारको कुरा त बिर्सिन भएन नी । पहिला मानव अधिकार अनि त्यसपछी मात्र आउँछन् महिला अधिकार, पुरुष अधिकार आदि आदि ..

भन्न मन लाग्छ संविधानको पानामा महिलाका अधिकार सुरक्षित गरेर केही हुँदैन । पाँच तारे होटलमा बसेर महिला अधिकारका कुरा गर्दै गर्दा एकपटक डोल्पा, बाजुरा, दार्चुला, दैलेख, अछाम अनि तराईँका मधेसी समुदायका महिलाहरुलाई पनि सम्झिनु होला।

उनीहरुको दयनिय अवस्थालाई ध्यानमा राखेर कार्यक्रम तय गर्नुहोला महिला अधिकारकर्मी ज्यू। साथै आफ्ना जिम्मेवारीलाई पनि। मलाई लाग्छ दूर दराजका महिला, अधिकारका भोका छन् अनि नारीवादीहरु जिम्मेवारीका आदि छैनन्।

कागजमा बनाएको नियम अनि महिला अधिकारको नाममा पाँच तारे होटलमा गरेका कार्यक्रमले हजुरहरुको मात्र हो महिला अधिकारकर्मी ज्यू पेट र गोजी भरिने तर ति दूर दराजका महिलालाई त बर्सेनि आउने नारी दिवस पनि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात झैँ हो’ । न कहिल्यै उनीहरुले बोक्ने भारी नै सानो हुन्छ न उनीहरुले गर्ने दुखका रंग नै परिवर्तन हुन्छन् ।

अनि अर्कोतिर हामीले दिनरात कराएर मागिरहने अधिकार। अधिकार माग्नको लागि त पहिला आफू त्यो अधिकारलाई प्रयोग गर्न योग्य पनि बन्नु पर्यो नि ।

किनकि अधिकार जादुको छ्डी होर घुमाउन बित्तिकै सबथोक ठाउँको ठाउँ परिवर्तन हुने । हामी महिला आफूमा पनि सरल र सबल बन्दै जानु पर्छ। समयको मागलाई आत्मसाथ गरेर समयको बदलिँदो स्वरुपलाई स्विकार्नु पर्छ । यो बुझ्नुपर्छ कि पुरुष साथीसँगको सहकार्यमा नै उनीहरु स्वतन्त्र र सुरक्षित छन्।

महिलाको अधिकार नै पुरुष सहकार्यको उत्तम स्वरूप हो । जसले महिलालाई उसको सफलताको उच्चतम बिन्दुमा पुर्‍याउन मद्दत गर्छ । यस्तो भन्दै गर्दा म नेपाली साहित्य कि महान साहित्यकार पारिजातको “मानुषी”कविताको एक अंश सम्झिन्छु –

हामी एक अर्का बिना बाच्न सक्ने प्राणी होइनौँ
म तिम्रो हात दह्रो गरि समाउँछु
तिमी मलाई तिमीपुगेको ठाउसम्मै पुर्‍याउ
त्यहा, जहाँ तिमिलाई मैले सभ्यताको आदि कालमा पुर्‍याइसकेकी थिएँ ।

दिनप्रतिदिन बढिरहेका बलात्कारका घटनालाई निराकरण गर्ने मामिलामा सरकारले एउटा कुरा भन्छ, नारीवादीहरुले अर्को कुरा भन्छन् अनि हामी आम समाजमा बसेर यो समाजसँग डिल गर्ने महिलाको वास्तबिकता एउटा हुन्छ। सरकार भन्छ बलात्कार रोक्नको लाई ‘पोर्न साइट बन्द गर्नु पर्छ’ अनि महिलावादी भन्छन् ‘कपडा छोटो भयो ।’ । हे बाबा.. ‘कपडा छोटो रहर होला के च्यातियको हुनु पनि रहर हो त? छोरीको शिक्षाको लागि सरकार गजब गजबको योजना ल्याउछ तर के ति छोरीहरु बाँचीरहेको समाजले तिनीहरुलाई त्यो योजनासम्म सजिलै पुग्न देला त ? एकपटक गम्भीर भएर त्यतातिर पनि सोच्ने हो कि ?

अब संसदका कुरा हैन पद र हौसियतका कुरा हैन एक आम महिलाको जीवनका सहजीकरणका कुरा गरौँ । यस विषयमा गम्भीर भएर बहस गरौँ र उनीहरुलाई कसरी सकिन्छ नँया जिन्दगीको आभास महसुस गराऔँ ।

महिलाको लागि भनेर सरकारले स्थानीय तह देखि केन्द्रसम्म कोटा त छुट्यायो तर सबै उपमा। यसरी छुट्याइएको उपको पदले महिलालाई कति शसक्तिकरण गर्‍यो ? कति उनीहरुलाई क्रियाशिल बनायो ? के यसको लेखाजोखा गरेको छ त सरकाले? यस्ता प्रश्न धेरै धेरै छन् यी दिनहरुमा हामि जस्ता आम महिलासँग ।

साच्चै महिलावादी ज्यूहरु छाउघर भत्काएपछि सोच्नु भएको छ ति तमाम छोरी अब अर्को पटक छाउ बार्नु पर्दा कहाँ र कसरि रात बिताउने छन् किनकि हजुरले छाउघर त भत्काई सक्नु भएको छ तर छाउप्रतिको सोच अझै उस्तै छ भत्किन बाँकी । अनि हजुरहरुले भने जसरी रातारात त कुनै जादु हुनेवाला छैन। सक्नुहुन्छ भने हाम्रो कुरिती र कुसंस्कारलाई भत्क्याउनु होस् तर कृपया छाउघर भत्काएर महान काम गरेको नठान्नु होला।

यो हामी जस्ता कुनै समय छाउघरको कृपामा बाँचेका छोरीका नजरमा सहि छैन किनकि छाउघरको महत्त्व हजुरले भन्दा हामिजस्ता मध्य पश्चिम र सुदूरपश्चिमका छोरीहरुले राम्रोसँग बुझेका छौँ । किनकि ति छाउघर नै हाम्रालागि छाउ बार्नको निम्त उयुक्त बिकल्प थिए र हुन् ।

छाउप्रथालाई कुसंस्कार र बिकृति भनिरहँदा मलाई शहरको नेवार समुदायको कुमारी प्रथा र गुफा राख्ने चलनको बारेमा सोच्न मन लाग्छ, के यी प्रथाहरुमा पनि महिलालाई प्रयोग गरिएको छैन र ? फेरि किन कोही यस बारेमा आवाज उठाउदैन ? कि अरु भन्दा नेवार समुदाय सम्पान्नशाली वर्गमा गनिने भएकाले यसभित्रका कुसंस्कार र बिकृतिलाई नजर अन्दाज गरिएको हो।

अनि छाउपडी मध्य पश्चिम र सुदूरपश्चिमका मध्य तथा निम्न वर्गले बार्ने भएकाले यसको विरुद्धमा छाउगोठ भत्काइदैछन् ? छाउपडी प्रथाका बारेमा बोलेर नराम्रो गर्नु भयो भन्न खोजेको हैन कहिलेकाहीँ दुर्घटना घट्छन् यसलाई आत्मसाथ गर्नु पर्छ तर महिला अधिकारकर्मी र सरोकारवाला ज्यू पिछडिएका र निम्न वर्गका समुदायमा मात्र हैन सम्पन्नशाली वर्गका बारेमा पनि खुलेर बोल्नुहोस् किनकि कुसंस्कार र बिकृति सबै वर्गका महिलाका लागि उस्तै हो ।

मलाई विश्व र विश्वका महिला कँहा पुगे ? के गरे ? कति गरे ? त्यससँग सरोकार छैन। म त मेरो देशमा के हुँदैछ, यहाँका महिलाको जीवनस्तर कस्तो छ ? उनीहरुले बाँचीरहेको जीवनमा के कति परिवर्तन भयो र भैरहेको छ ? यो हो हाम्रो सरोकारको विषय अब मलाई सफलता हासिल गरेका महिलाको बारेमा हैन ति आम महिलाको बारेमा वकालत गर्न मन लाग्छ जसले महिला भएकै कारण आफ्नो कोखबाट छोरी नजन्मियोस् भन्ने कामना गर्न बाध्य छन्। ति महिला जोसँग न उनीहरुको हिजो छ, न भोलि नै। उनीहरु यस्तो आजमा बाँच्न बाध्य छन् जो अनिश्चित छ, औचित्यबिहिन छ।

अनि हजुरहरु क्रान्तिका कुरा गर्नुहुन्छ। सरकार बदल्ने र बनाउने कुरा गर्नुहुन्छ तर हजुरले ती आम महिलाका लागि के गर्नु भयो? उनीहरुको जीवनस्तरमा कति सुधार गर्नु भयो ? के कहिल्यै ति महिलाको बारेमा सोच्नु भएको छ जसको वकालत हजुरले शब्दमा गरेर आफूलाई तिनीहरुको शुभचिन्तक भन्नुभयो तर उनीहरुको वास्तबिकतासँग कहिल्यै मतलब राख्नु भएन ।

किनकि मैले हजुरहरुको घरको जग जति ठडिदै जान्छ ती महिलाको जीवनस्तर त्यति नै गिर्दै गएको देखेकी छु। कृपया, मसँग प्रमाण नमाग्नु होला किनकि मधेश र कर्णाली स्वयम् चिच्याइरहेको छ। बस ध्यान दिएर सुने पुग्छ। तर सुन्न ढिला नगर्नु होला।

अन्तमा महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला आन्दोलनले करिब ११० वर्ष पूरा गर्दै छ। यसैको अवसर पारेर हामिले फागुन २५ अर्थात मार्च ८ का दिनलाई ११० औअन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रुपमा मनाउँदै आएका छौँ हामी सबैलाई ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको धेरै धेरै शुभकामना ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?