
काठमाडौँ – कोरोना भाइरसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि नराम्रोसँग परेको छ। पर्यटकीय क्षेत्रहरु धमाधम कामदारलाई बिदा गरिरहेका छन्।
नेपालले कोरोना भाइरस (कोभिड १९) बाट बढी संक्रमित विभिन्न ८ देशलाई अनअराइभल भिसा स्थगित गरेको छ। नेपालबाट जाने र नेपाल आउने विभिन्न विमान कम्पनीहरुले अनिश्चित कालका लागि आफ्ना उडान बन्द गरेका छन्।
अध्यागमन विभागका अनुसार शनिबार हवाई मार्गबाट २ हजार २ सय ११ जना नेपाल भित्रिएकामा ६ सय ४४ जना विदेशी थिए। त्यसमा अमेरिकी एक जना र १ सय ५७ जना भारतीय थिए। चिनियाँ नागरिक भने छैनन्। सरकारले चीन, दक्षिण कोरिया, इरान,जापान, स्पेन, इटाली, जर्मनी र इरानलाई अनअराइभल भिसा दिन बन्द गरेको छ।
अध्यागमन विभागका अनुसार मार्च महिनाको सुरुको १४ दिनमा २४ हजार १ सय ५० जना विदेशी हवाई मार्गबाट नेपाल भित्रिएका छन्। यसमा अमेरिकीको संख्या २ हजार चार सय ७८ छ। चीनका एक हजार चार सय ४ जना नागरिक भित्रिएका छन्।
भारतबाट चार हजार २ सय ९४, दक्षिण कोरियाबाट २ सय २८, जापानबाट चार सय १५, जर्मनीबाट १ हजार ३ सय ४९ र स्पेनबाट २ सय ८३ जना त्यहाँका नागरिक हवाई मार्गबाट मार्च महिनाको सुरुको १४ दिनमा नेपाल भित्रिएका छन्। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपाल भित्रने पर्यटकको संख्या नियमितरुपमा घट्दो छ।
अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपालका दुई विमान कम्पनी नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले कोरोना भाइरसका कारण चीन र दोहाको सेवा बन्द गरिसकेका छन्। यात्रु नपाएपछि दुवै एयरलाइन्सले चीनको उडान बन्द गरिसकेका छन्।
कतारको दोहाबाट दिनको चारपटक काठमाडौँ उडान गर्दै आएको कतार एयरलाइन्सले ट्रान्जिट यात्रुमात्र बोक्न थालेको छ। कतारले नेपाली यात्रुलाई प्रतिबन्ध लगाएपछि दुवै एयरलाइन्सको दोहा उडान पनि स्थगित भएको हो। दैनिक उडान भर्दै आएको तिब्बत एयरलाइन्स र सिचुआन एयरलाइन्सले एक महिनाका लागि नेपालको उडान बन्द गरेको सूचना टाँसेका छन्।
यात्रु नपाएपछि उडान बन्द गरेको उनीहरुको भनाइ छ। दैनिक उडान भर्दै आएको चाइना साउदर्नले अहिले हप्तामा दुईपटक मात्र नेपालको उडान गरिरहेको छ।यसैगरि दैनिक उडान भर्ने गरेको एयर चाइनाले पनि हप्ताको एकपटक मात्र नेपालका लागि उडान गरिरहेको छ। कतार एयरलाइन्सले ट्रान्जिट यात्रु मात्र लगिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिए।
‘अन्य उडानहरु नियमित नै छन्। युरोपको एकमात्र उडान सेवा टर्किस एयरलाइन्सले पनि सेवा रोकेको छैन’, भट्टराईले भने। कोरोना संक्रमित देशका यात्रुलाई धेरै देशले आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएपछि यसको गहिरो प्रभाव अन्तर्राष्ट्रिय उडान सेवामा परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय यात्रु ह्वात्तै घटेको बताए।