
झापा– झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालले शंकास्पद विरामीको ‘स्वाब’ संकलन गरेर कोरोना भाइरस कोभिड-१९ जाँच गर्न राजधानी काठमाडौंको टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा पठाउन सुरु गरेको छ।
उक्त अस्पतालले एकजना बिरामीको स्वाब शुक्रबार प्रयोगशाला पठाएको छ। तर स्वाब संकलन गरेर प्रयोगशालामा पठाउने उपकरण ‘भिटिएम’ अत्यन्तै थोरै भएकाले काम गर्न गाह्रो भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए।
उनले भने, ‘पूर्वमा हामीले पठाउन त शुरु गर्यौं तर सामान अभावमा काम गर्न गाह्रो भएको छ।’
उनले भनेको बेलामा सामान उपलब्ध नभएकाले आगामी दिनमा कसरी काम गर्ने भन्ने अन्यौल रहेको बताए। जम्मा पठाएको पाँचवटा भिटिएममा एउटा प्रयोग भएकाले अब चारवटा मात्र रहेको उनको भनाइ छ।
तर अन्य स्थान कहाँ-कहाँबाट स्वाब संकलनको व्यवस्था गर्ने भन्ने टुंगो लागेको छैन।
क्वारेन्टाइनस्थल तयार हुँदै
प्रदेश नं १ विभिन्न स्थानमा कोरोना भाइरस कोभिड-१९ का शंकास्पद संक्रमित विरामी तथा ती विरामीका नजिकका नातेदारहरुलाई राख्नका लागि धमाधम क्वारेन्टाइनस्थल तयार भइरहेका छन्।

क्वारेन्टाइन स्थलका लागि सामान ढुवानी गरिँदै।
तर बनाइएका क्वारेन्टाइन स्थलमा जनशक्ति कसरी पठाउने भन्ने अन्यौल अझै छ। झापामा पनि विभिन्न स्थानीय तहले क्वारेन्टाइन स्थल बनाएका छन्। तर ती स्थलहरुमा अहिलेसम्म कसैलाई पनि लगेर राख्न सकिएको छैन।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले चाँडो भन्दा चाँडो ती स्थलहरु सञ्चालनमा ल्याइनुपर्ने बताए। उनले भने, ‘मेची अञ्चल अस्पतालले स्वाब संकलन गर्न थाल्यो। शंकास्पद विरामी आइसोलेसन छन्। तर क्वारेन्टाइन स्थल अझै शुरु भएनन्।’
मेचीनगर नगरपालिकाले ६२ शैया र भद्रपुर नगरपालिका तथा नेपाली सेनाले चन्द्रगढीमा ५० शैयाको क्वारेन्टाइनस्थल बनाएका छन्। भौतिक सामाग्री नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको छ।
ती क्वारेन्टाइन स्थलहरुमा जनशक्ति पठाउने काम शुरु भइसकेको र शुक्रबार बेलुकादेखि क्वारेन्टाइनस्थल सञ्चालनमा आउने नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताए।
उनले भने, ‘चन्द्रगढीको क्वारेन्टाइन स्थलमा अहिले पनि गएर बस्न सकिने अवस्था छ।’