
झापा– भारतसँग जाेडिएका झापाका सीमावर्ती क्षेत्र सुनसान बन्दै गएका छन्। सीमामा अघोषित कर्फ्यु जस्तै स्थिति छ।
पश्चिम बंगालको पानीटेंकीसँग जोडिएको पूर्वीद्वार काँकरभिट्टामा मानिसको छिटपुट रुपमा मात्र आवागमन छ। भारतमा आइतबारकाे ‘जनता कर्फ्यु’का कारण पनि नेपालबाट मानिसहरु भारत जान सकेका छैनन्।
नाका प्रहरी र स्वास्थ्यकर्मीहरु मात्र काममा खटिएका छन्।
त्यसैगरि भारतको बिहारसँग जोडिएको कचनकवल गाउँपालिकाका सबै सीमा नाकामा मानिसको आवागमन बन्द गराइएको गाउँपालिका कार्यालयले जानकारी दिएको छ।
दैनिक हाट बजारहरु बन्द भएका छन्। अत्यावश्यक वस्तुका पसलहरु बाहेक सबै पसलहरू बन्द छन्।
त्यसैगरि गाउँपालिका क्षेत्रभित्र सबै माछामासु बिक्री बन्द गरिएको छ।
शंकास्पद विरामीहरूका लागि पथरीया माविमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको गाउँपालिका कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार भारतमा लगाइएको ‘जनता कर्फ्यु’ले नेपालको सीमामा मान्छेको चहलपहल रोकिएको हो। आगामी दिनमा पनि यसरी नै चहलपहल रोकिए कोरोना भाइरसको संक्रमणको त्रास कम हुने उनको विश्वास छ।
विदेशबाट आएका ३५ जनाको सूची तयार, सुक्ष्म अनुगमन हुने
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कोइरालाका अनुसार विभिन्न मुलुकबाट आएका ३५ जना मानिसहरुको सूची तयार गरिएको छ।
जिल्ला प्रवेश गरेका ती व्यक्तिहरुको सुक्ष्म अनुगमन गर्न सुरु गरिएको प्रमुख कोइरालाले बताए।
उनले भने, ‘मलाई जानकारीमा आए अनुसार ३५ जनाको सूची तयार गरेर तिनीहरुकाे अवस्था बुझ्न प्रहरी खटाइएको छ। स्वास्थ्य अवस्था बिग्रेको पाइएमा तुरुन्त क्वारेन्टाइनमा राखिने छ।’
भारतमा जनता कर्फ्यु उल्लंघन गर्नेमाथि लाठी प्रहार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार लगाइएको जनता कर्फ्यु उल्लंघन गर्नेमाथि भारत पश्चिम बंगालको सिलिगुडीमा प्रहरीले लाठी प्रहार गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पदैल हिँड्ने, साइकल तथा मोटर साइकलमा सवार धेरै मानिसलाई प्रहरी निर्मम तरिकाले लाठी प्रहार गरेका हुन्।
नेपालसँग जोडिएको भारतको बिहार राज्यमा कोभिड १९ बाट संक्रमित एकजनाको ज्यान गइसकेपछि दक्षिणी नाकाहरुमा अति सुक्ष्म सजगता अप्नाइएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।
अस्पतालमा न मास्क, न पञ्चा, न पीपीई
देशभर कोरोना भाइरस संक्रमितका लागि उपचार गर्ने स्थान, शंकास्पद बिरामीलाई राख्ने क्वारेन्टाइन स्थल बनाइएका खबरका माझ अस्पतालमा काम गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अहिलेसम्म चाहिने सुरक्षाका पोशाक सरकारले उपलब्ध गराएको छैन।
भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आफ्नै सुरक्षा कसरी गर्ने भन्ने चिन्ता छ।
उनीहरु भन्छन्, ‘हाम्रा लागि न मास्क छ, न पञ्जा न पीपीई। कसरी उपचार गर्ने हो, भगवान भरोसा छ।’