
काठमाडौँ– नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्थाबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा न्यून सावधानी समेत अपनाएन।
सरकारले २५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने भने पनि सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा त्योभन्दा बढी व्यक्ति जम्मा भएका थिए। त्यो पनि सरकारकै सुझाव र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने ‘सोसल डिस्ट्यान्सिङ’ पनि अपनाइएन।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले भेटघाटका क्रममा हात नमिलाउनुका साथै सोसल ‘डिस्ट्यान्सिङ मेन्टेन’ गर्न आह्वान गरिरहेको छ। अर्थात कुनै पनि व्यक्तिसँग कुराकानी गर्दा कम्तीमा तीन फिटको दूरी कायम गर्नु पर्छ।

स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रवक्ता डा. विकास देवकोटासहितका पदाधिकारीहरु । तस्बिर : रविन आचार्य/देश सञ्चार
मन्त्रालयको हलमा पत्रकारले खचाखच भरिएको थियो। बस्ने ठाउँ नपाएर धेरै जसो उभिरहेका थिए। जहाँ पत्रकार मात्र नभएर स्वास्थ्य मन्त्रालय तथा मन्त्रालय मातहतका पदाधिकारी, विश्व स्वास्थ्य संगठनका पदाधिकारी हलमा उपस्थित थिए ।
तर मन्त्रालयमा उपस्थित कसैले पनि ‘सोसल डिस्ट्यान्सिङ’ पालना गरेनन्। एक व्यक्तिको शरीरले सजिलै अर्को व्यक्तिलाई छोइरहको थियो। सम्मेतनमा उपस्थित व्यक्तिले न विश्व स्वास्थ्य संगठनको नियम पालना गरे न त सरकारको नै।
‘सरकारले २५ जना भन्दा धेरै जम्मा नहुन भनेको छ, आज भयौँ। भोलिदेखि सरकारको यो नियमलाई पालना गरौँ। हामी पनि आउने दिनमा अन्य कुनै माध्यबाट उहाँहरुलाई सूचना दिने प्रयास गर्ने छौँ’, यति भन्दै मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले पत्रकार सम्मेलन सुरु गरेका थिए । सुरुमै माफी मागे पनि अहिलेको अवस्था माफी माग्नु भन्दा पनि कुनै पनि हालतमा नियम पालना गर्नु पर्ने हो ।