
गौरीशंकर (काल्पनिक नाम) सेवानिवृत्त अध्यापक हुन्। बिहान १० बजेसम्म उनी स्वस्थ्य थिए। साँझ हुँदानहुँदै सात बजेतिर अचानक उनलाई ज्वरोसँगै सुखा खोकी र सास फेर्न गाह्रो भयो। अर्थात ती लक्षणहरु देखिन थाले, जुन कोरोना भाइरस पोजिटिभ बिरामी मानिसमा देखिन्छन्।
कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा यस प्रकारको लक्षण देखिन्छ भन्ने विषय सञ्चारमाध्यमबाट दिनहुँ प्रसारण भइरहेको छ। घरका सबै सदस्यको अनुहारमा एकखालको भय देखिन्थ्यो। अब के गर्ने? कसो गर्ने? लक्षण हेर्दा कोरोना भाइरसकोसँग मिल्दोजुल्दो छ।
छोरा–बुहारीले आमासँग सल्लाह गरे। त्यसपछि उनको खाट घरको दक्षिणपट्टिको ठूलो बेरबार गरेको ग्यारेजमा सारियो जहाँ घरको पालुवा कुकुर पनि बस्ने गर्छ। गौरीशंकरजीले केही वर्ष अगाडि घरमा एउटा सानो कुकुरको बच्चा सडकबाट लिएर आएका थिए। यसलाई आफ्नो छोराछोरी सरह पालेर हुर्काएका थिए। यसको नाम थियो ‘पांग्रे’। यस कोठामा गौरीशंकरजी, उनको खाट र त्यही प्यारो कुकुर पांग्रे सँगै भए। उनका दुबै छोरा–बुहारी अब टाढै बस्न थाले। केटाकेटीलाई पनि हजुरबुबाको नजिक नजान निर्देशन दिए।
कोविड–१९ को बारेमा सरकारद्वारा जारी गरिएका फोन नम्बरमा सम्पर्क गरी घरमा भएको बिरामीको बारेमा जानकारी दिइयो। गौरीशंकरजी कोरोना भाइरसबाट संक्रमित भएका छन अरे! यो खबर टोलभरि फैलिसकेको थियो। तर संक्रमित भइएला भन्ने डर र देशमा लकडाउन (आफ्नो घरबाट बाहिर ननिस्किन)को सूचनाले गर्दा उनालाई भेटन कोही पनि आएन।
साडीको पछ्यौराले मुख छोप्दै लौरो टेकेर छिमेकको घरबाट एक बुढी आमै आइन्। गौरीशंकरजीकी धर्मपत्नीलाई भनिन्– ‘अरे कसैले यसलाई खान दिएको छ कि छैन? अस्पतालका कर्मचारीले त यसलाई भोकै लान्छन्।’
यहाँ प्रश्न उठ्छ कि गौरीशंकरजीलाई खाना दिन को जान्छ? छोरा–बुहारी एकआपसमा कानेखसी गर्न थाले। कोही पनि जान तयार भएनन्। जेठी बुहारीले खानाको थाल सासू (गौरीशंकरकी धर्मपत्नी) को हातमा थमाइदिइन्। अब गौरीशंकरजीकी पत्नीको हात काँप्न थाल्यो। पाइला अगाडि सरेन। मानौँ कसैले उनको खुट्टा डोरीले बाँधिदिएको छ।
यो सब अवस्था देखेर छिमेकी बुढीआमाले भनिन्, ‘अरे यो त तेरो लोग्ने पो हो, तँ पनि अरुजस्तै व्यबहार गर्छस्? मुखमा मास्क लगाएर जाऊ, छेउमा नजानू, टाढैबाट खानाको थाल सारिदिनू। उसले आफैँ थाल तानेर खान्छ। यसमा केको डर? उसलाई छोयो भने पो सर्ने हो त।’
यी सबै वार्तालाप गौरीशंकरजी चुपचाप सुनिरहेका थिए। उनको आँखा रसाएर आयो। तप्प आँसु खसाल्दै, थरथराउँदो ओठ खोल्दै भने– ‘मेरो छेउमा कोई नआएकै राम्रो। मलाई भोक पनि छैन। प्यास पनि छैन।’
यतिन्जेल रातिको करिब साढे आठ बजिसकेको थियो। कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्ने अस्पतालबाट बिरामीलाई लिन एम्बुलेन्स साइरन बजाउँदै आइपुग्यो।
गौरीशंकरजीलाई एम्बुलेन्समै आएका एक स्वास्थ्यकर्मीले पछाडिको ढोका खोल्दै एम्बुलेन्समा बस्न आग्रह गरे। उनी घरको मूलगेटमा आएर एकछिन उभिएर भर्खरै बिरानोजस्तो भएको आफ्नो प्यारो घरलाई हेरे। नाति, नातिना पहिलो तलाको झ्यालबाट मुखमा मास्क लागाएर हजुरबुबालाई हेरिरहेका थिए। उनका बुहारीहरु आफ्ना दुबै छोराछोरीको पछाडि उभिएका देखिन्थे। भुइँतलामा उनका दुबै छोरा आमासँग उभिरहेका थिए।
नातिनीले उनीतिर हेरेर हात हल्लाउँदै बाईबाई भनिन्। गौरीशंकरजीको आँखाबाट तप्प आँशु खसे। एक क्षणका लागि उनलाई लाग्यो- जिन्दगीले नै अलबिदा भनिरहेको छ।
गौरीशंकरजी ओसिलो आँखा लिएर आफूलाई लिन आएको एम्बुलेन्समा बस्नु भन्दा पहिले घरको मुलगेटको चौखट ढोगे। सिटमा बसे। एम्बुलेन्स जाने बत्तिकै उनकी धर्मपत्नीले तुरुन्त साबुनपानीले घरको मूलगेट पखालिन्। लाग्दै थियो- उनी मूलगेट होइन, गौरीशंकरसँगको आफ्नो सम्बन्ध पखालिरहेकी छिन्।
एम्बुलेन्समा बसेका गौरीशंकरले पत्नीको व्यबहार देखेर सायद केही सोच्न सकेनन्। यो तिरस्कार थियो या मजबुरी। पांग्रे कुनकुनायो। सायद यो दृश्य देखेर कुकुर रोएको थियो। पांग्रे त्यही एम्बुलेन्सको पछाडि लाग्यो जुन एम्बुलेन्सले गौरीशंकरजीलाई अस्पताल लग्दै थियो।
गौरीशंकरलाई १४ दिनका लागि अब्जर्वेशन पिरियडमा राखियो। कोरोनाबाट संक्रमित बिरामीको परिक्षणका लागि गरिने सबै ल्याब टेष्ट भयो। उनको सबै रिपोर्ट सामान्य आयो। चिकित्सकले उनलाई पुर्णतः स्वस्थ्य घोषित गरे। आस्पतालबाट डिस्चार्ज कार्ड दिएर बिदा दिए। अस्पतालबाट जब उनी बाहिर निस्के, देख्छन तब अस्पतालको गेटमा उनको प्यारो पांग्रे बसिरहेको थियो। दुबैले एकअर्कालाई अकंमाल गरे। एउटा आँखाबाट गंगा त, अर्को आँखाबाट जमुनाको धारा बगिरहेको थियो।
अस्पताल प्रशासनले गौरीशंकरको बारेमा छोरालाई उहाँ पूर्णतः स्वस्थ्य भएको जानकारी दियो। घर लग्न अनुरोध गर्यो। अनपेक्षित फोन आउँदा घरका सदस्यलाई आश्चर्य लाग्यो। उनका छोराहरु कार लिएर हतारिँदै अस्पताल पुगे, अफसोच ढिलो भइसकेको थियो। छोराहरु आईपुग्नु अगाडि नै कुकुरलाई लिएर गौरीशंकरजी अर्कै दिशातिर हिँडिसकेका थिए।
त्यस दिनदेखि गौरीशंकरजीलाई कसैले देखेको छैन। उनी कहाँ गए, कसैलाई थाहा छैन। परिवारका सदस्य यो कुरालाई लिएर एक अर्कालाई दोष दिन्छन्। यसमा कसको दोष ? आज विश्ब नै कोरोना भाइरसको महामारीबाट त्रसित छ। यसबाट बच्ने उपायहरु अपनाइरहेको छ।
जस्तै– आफ्नो सरसफाइमा ध्यान दिने, सोसल डिस्ट्यान्सिङ, इम्युनिटी पावर बढाउने, भिटामिन सीको सेवन गर्ने, पोषिलो खाना खाने, योग, ध्यान गर्ने, क्वारेन्टाइनमा १४ दिन बस्ने, आईसोलोसन, देश लकडाउन गरेर यसबाट बच्ने बचाउने प्रयास भइरहेकै छ।
यो समयचक्र हो, यसलाई बाध्यता भन्ने या तिरस्कार! जो भयो कोरोनाको शिकार!