
काठमाडौँ- कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिलाई प्रयोग गर्दै अस्पतालमा आएका विरामीको थ्रोट स्वाब लिन कोरोना बुथ बनाएर सञ्चालनमा ल्याएको छ।
बुधबार आविष्कार केन्द्रले काठमाडौंको वीर अस्पताल र छाउनीस्थित सैनिक अस्पतालमा एकैसाथ उक्त बुथ सञ्चालनमा ल्याएको आविष्कार केन्द्रका प्रमुख इन्जिनियर डा. शंकर ढकालले बताए। उनले देश सञ्चारसँग भने, ‘ हामीले पहिलो पटक कोरोना भाइरसको विरामीको लागि स्वाब परीक्षण गर्न चिकित्सकको लागि पीपीई बुथ बनाएर परीक्षणपछि सञ्चालनमा ल्याएका हौँ।’
उनका अनुसार यो पीपीई बुथमा वाटर प्रूफ, एयर फ्रुफ र राम्रो गुणस्तरको आल्मुनियम प्रयोग गरिएको छ। यसका साथै चिकित्सकको लागि भित्रबाट बाहिर रहेका बिरामीसँग कुरा गर्न स्पिकर जडान गरिएको छ।
उनले यस्तो प्रकारको बुथ देशभरका १३ शहरमा आविष्कार केन्द्रले दिएको ‘गाइडलाइन’ अनुसार विभिन्न टोलीले बनाइरहेको जानकारी दिए। उनले भने, ‘हामीले आजदेखि छाउनी र वीर अस्पतालमा सञ्चालन नै गरिसक्यौँ। अब काठमाडौं, ललितपुर, भक्तपुर लगायत विराटनगर, इटहरी, धरान, उर्लाबारी लगायतका जहाँ अति आवश्यक हुन्छ, हामी बनाइ दिन तयार छौँ।’
यसका साथै वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्रका इन्जिनियरहरुले पीपीईबाहेक श्वास फेर्न मिल्ने ‘अटोमेटिक रेस्क्यूरेलेटर’ पनि बनाइरहेका छन्।
यो ‘अटोमेटिक रेस्क्यूरेलेटर’ले अस्पतालमा विरामीलाई श्वास फेर्न सजिलो बनाउँछ भने एम्बुलेन्समा पनि विरामीलाई राखेर लैजान सहज बनाउँछ।
यो मेसिन बनाउन केन्द्रका मेकानिकल इन्जिनियर रितेश देव, गौरव दास, गणेश सिन्केमन, सुरज कार्की, किरण रौनियार र सञ्जय बहादुर ठकुरीको टीम लागिपरेका छन्।