अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचार गर्दैछन् यी गर्भवती नर्सहरु

अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचार गर्दैछन् यी गर्भवती नर्सहरु
+
-

पात्र १

नाम: तारा घिमिरे
पेशा: नर्स
उमेर: ३५ वर्ष

न्युयोर्कमा विगत चार वर्षदेखि नर्सको रुपमा कार्यरय ३५ वर्षीया तारा घिमिरेलाई आजकाल राति निद्रा लाग्दैन। कारण, उनी काम गर्ने लिंकन मेडिकल सेन्टरमा दैनिक कोरोना भाइरसको कारण आउने बिरामीको संख्यासँगै ती बिरामीबाट संक्रमित हुन्छु कि भन्ने डर।

अहिले उनी दोस्रो सन्तानको प्रतीक्षामा छिन् र ७ महिनाको गर्भवती छिन्। हप्ताको ३ दिन न्यु जर्सीदेखि न्युयोर्कसम्म बस र ट्रेनमा काममा जान्छिन् तर उनलाई घरबाट निस्केदेखि नै कोरोनाको संक्रमण हुन्छ कि भन्ने डर छ।

तारा घिमिरे

उनी भन्छिन, ‘म प्रसूति विभागमा काम गरे पनि कोरोनाको बिरामीसग जम्काभेट हुन्न भन्ने हुँदैन। बच्चा पाउन आएका आमालाई पनि कोरोना देखिएको छ, अहिले हामी आफैँ जीउ हल्का तातो भयो भने पनि ज्वरो नाप्ने, हल्का खोकी लाग्यो भने पनि कोरोना भयो कि भन्ने डर लाग्छ,’ उनले भनिन्।

अर्कोतर्फ, दैनिक सहकर्मीलाई पनि कोरोनाको संक्रमण देखिएको छ। ‘अहिले हामी एक अर्कासग कुरा गर्दा पनि नाम नभनेसम्म चिन्दैनौँ, मास्क लगाएर नाकसम्म छोपिएको हुन्छ,’ उनले भनिन्।

अमेरिकाको न्युयोर्क, न्युजर्सीमा कोरोनाको कारण मर्नेको संख्या १० हजार नाघेसँगै अपस्तालमा पनि मास्कलगायतको अभाव देखिएको उनको भनाइ छ।

एउटा मास्कले एक सिफ्टको लागि हुनुपर्नेमा त्यही मास्क ५ दिनसम्म लगाउनुपर्छ। दैनिक सिफ्ट सकेर त्यही मास्क राख्यो, लगातार ५ दिनसम्म त्यही प्रयोग गर्नुपर्छ। ताराको अनुभव छ।

‘घरमा ४ वर्षको छोरी छोडेर गएको हुन्छ, घर फर्किनेबित्तिकै छोरी ढोका खोल्न आउँछिन्, आफ्नै छोरीलाई पनि अंकमाल गर्न सक्दिन, आँखाभरि आँसु भइरहेको हुन्छ,’  ताराले भनिन्।

उनीसँगै काम गरेर घर फर्कने चिनिया मूलकी सहकर्मी नर्सलाई दुई दिनअघि कोरोना देखिएकाले झन् त्रसित छन्। ‘हेरौँ, एक सातासम्म ज्वरो, रुघाखोकी देखियो भने जँचाउनुपर्ला,’ स्वयं नर्सहरुलाई समेत कोरोना संक्रमित भएको संकेत नभएसम्म जँचाउन समेत नपाइने उनको भनाइ छ।

आफूलाई यस्तो हुँदा पनि करारका कारण यत्तिकै जागिर छोड्न  नमिल्ने र अहिले न्युयोर्कमा पनि स्वास्थ्यकर्मीको कमी रहेकाले छाड्न नमिल्ने उनले बताइन्।

हीरा कँडेल

पात्र २

नाम: हीरा कँडेल
पेशा: नर्स
उमेर: २८ वर्ष

चार वर्षदेखि न्युयोर्कको लेनोक्स हिल अपस्तालमा आइसियुमा काम गरिरहेकी छिन् हीरा। तर, अहिले सुत्केरी हुने मिति यही महिना भएकाले कामबाट विदा दिएको १० दिन भयो। तर, अहिलेचाहिँ कोरोना संक्रमित हुन्छु कि भन्ने डर लागेको उनी बताउँछिन्।

उनले यसो भनिरहनुको कारण, अमेरिकामा कोरोना भाइरस देखिएसँगै उनले पनि आइसियुमा कोरोना भाइरसका संक्रमितसँग नजिक भएर काम गरेकी थिइन्।

हिरा भन्छिन्, ‘नर्स पेशासँगै अरुको सहयोगको लागि आएको भए पनि संसार नै नदेखेको बच्चालाई पनि जोखिम मोलेर काम गर्दा मनमा गैरउत्तरदायी भएँ कि भन्ने लाग्छ।’

कारण, अहिलेसम्म कोरोनाको औषधी बनिसकेको छैन, अझ झन गर्भवती महिलाबारे अनुसन्धान नै नभइसकेको अवस्थामा।

उनी काम गर्दा सुरुमा जति पनि एन ९५ मास्क उपलब्ध भए पनि न्युयोर्क र न्युजर्सीमा कोरोनाको संक्रमणसँगै हजारौँको मृत्यु भएसगै मास्क लिन पनि म्यानेजरको अनुमति लिनुपर्ने उनको भनाइ छ।

नर्स कँडेल अहिले विदामा रहे पनि आफूसँगै काम गर्ने सहकर्मीलाई कोरोना संक्रमण देखिएको भन्दै दैनिक अपडेट भइरहेको बताउँछिन्, किनकि यसको लक्षण तत्काल नदेखिने भएकाले पनि आफूलाई पनि केही संकेत नदेखिए पनि चनाखो भएको उनको भनाइ छ।

उनले सुत्केरी हुने मिति नजिकिएसँगै डाक्टरको भिजिटमा जानुपर्ने भए पनि अहिलेको अवस्थामा डाक्टरबाट पनि सर्ला कि भन्ने भयका कारण जान नसकिएको बताइन्।

पात्र ३

नाम: लक्ष्मी ढकाल
पेशा: नर्स
उमेर: ३० वर्ष

उनी हुन्, सान फ्रान्सिस्कोस्थित भ्याकाभ्याली अस्पतालकी स्टाफ नर्स लक्ष्मी ढकाल।

माथिका दुई नर्सहरुभन्दा यिनको अवस्था अलि फरक भए पनि यिनी पनि अहिले ६ महिनाको गभर्वती भएर पनि दैनिक कोरोना भाइरस संक्रमणका बिरामीको सेवा गरिरहेकी छन्।

तीन वर्षदेखि नर्सको रुपमा काम गरिरहेकी ढकाललाई पनि यस्तो अवस्थामा काम गर्न जानुपर्दा डर लाग्ने भएपनि अपस्तालमा अहिलेसम्म सुरक्षित नै महसुस भइरहेको उनी बताउँछिन्।

न्युयोर्क र न्युजर्सीजस्तो भयावह अवस्थामा यो क्षेत्र नरहे पनि उनी सचेत चाहिँ भइरहेकी छन्। ‘दैनिक एन ९५ मास्कलगायत पिपिईलगायत लगाएर सचेत चाहिँ भइरहेको छु,’ उनले भनिन्।

‘मलगायत अरु गभर्वती रहेका स्वास्थ्यकर्मीलाई कोरोना भएको बिरामीलाई प्रत्यक्ष सेवा नगर्न भनेकाले हामी अलि सुरक्षित नै छौँ, तर कोभिडको टेस्ट गर्नुपर्ने र शंका लागेको विरामी भयो भने पिपिई लगाएर आफूलाई सुरक्षित राख्ने कोशिशमा हुन्छौँ,’ ढकालले भनिन्।

नर्स ढकालका अनुसार उनी काम गर्ने अस्पतालमा अहिलेसम्म १ सय १२ जनालाई कोरोना संक्रमण देखिएको छ।

….

लक्ष्मी ढकाल।

यी त भए गर्भवती भएर पनि काम गरिरहेका नर्सहरु। तर यीबाहेक अझै पनि अमेरिकामा नर्स तथा डाक्टरको रुपमा काम गरिरहेका नेपालीहरु छन् जो केही महिनाका बच्चा छाडेरै दैनिक स्वास्थ्यकर्मीको रुपमा काम गर्न गइरहेका छन्।

कोरोना सर्ला कि डरले जागिर छोड्दा स्वास्थ्यकर्मी अभाव भएको वेला जिम्मेवारीबाट पछि ह्टयो भनेर लाइसेन्स खारेज गरिदिने हो कि भन्ने डरले पनि कत्ति नेपाली स्वास्थ्यकर्मीले सानो बच्चा छोडेर भए पनि काम गर्न जानु परिरहेको बताउँछन्। तर, अमेरिकामा नेपाली नर्स तथा डाक्टरहरुको संस्था रहे पनि यकिन तथ्यांक अहिलेसम्म छैन।

अहिलेसम्म कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या सबैभन्दा बढी छ। अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या २० हजारभन्दा माथि पुगिसकेको छ भने ५ लाख ३३ हजारको हाराहारीमा कोरोनाको संक्रमण देखिएको छ ।

तर, कोरोनाबाट अमेरिकामा रहेका नेपाली र नेपाली मुलका मानिसहरु पनि अछुतो छैनन्।

न्युयोर्कको अस्पतालमा कार्यरत केही नर्स तथा उनीहरुको परिवारलाई समेत कोरोनाको लक्षण देखिए पनि उनीहरु पूर्ण रुपमा निको भएका छन्।

अहिलेसम्म कोरोना र त्यससम्बन्धी रोगवाट ६ जना नेपालीको मृत्यु भइसकेको छ भने अमेरिकाभरी झन्डै ६ सय जना नेपालीलाई कोरोना भएको अनुमान छ। तर, कतिपयले अहिलेसम्म कोरोनाको लक्षण देखिए पनि उपचार गर्न नगएर बसेका कतिलाई कोरोना संक्रमित छ भन्ने यकिन तथ्यांक भने छैन।

(पत्रकार घिमिरे न्युयोर्कमा बसोबास गर्छन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?