
काठमाडौँ- विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा नेपाली विद्यार्थीहरुले अस्पतालमा कोरोना संक्रमित विरामीको लागि खाना र औषधि बोक्ने रोबोट बनाएका छन्।
रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन)सँगको सहकार्यमा पृथ्वी चौधरी (आइएसएमटी कलेज), रिचन जोशी (आचार्य इन्स्टिच्युट अफ टेक्नोलोजी), पंकज झपरेल (कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल) अनिल सिंह (आइएसएमटी)ले कोरोना विरामीका लागि खाना र औषधि बोक्ने रोबोट तयार पारेका हुन्।
रोबोट बनाएपछि यसको पहिलो परीक्षण शिक्षण अस्पतालमा सफलतापूर्वक गरिसकेको रोबोटको टिम लिडर पृथ्वी चौधरीले देश सञ्चारलाई बताए। उनले भने, ‘हामीले कोरोनाको कहरलाई मध्यनजर गर्दै तीनदिनसम्म रिसर्च गर्यौ र खाना अनि औषधि बोक्ने रोबोट बनाएका हौ। यो रोबोटले मानिसको भौतिक उपस्थिति बिनै कोरोनाको विरामीलाई खाना र औषधि पुर्याउन सक्षम छ। हामीले यसको परीक्षण माहाराजगञ्जस्थित शिक्षण अस्पतालमा गएर गरिसकेका छौ।’
उनका अनुसार चैत्र ३१ गते रोबटको उक्त टीमले शिक्षण अस्पताल बायोमेडिकल ईन्जिनियरसँगको समन्वयपछि शिक्षण अस्पतालको भ्रमण गरेको र अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गालाई परीक्षण जानकारी दिइएको छ।
यसका साथै अस्पतालका नर्सहरुले पनि उक्त रोबोटलाई म्यानुअली चलाउन सक्ने गरी बनाइएको टीमका अर्का सदस्य रिचन जोशीले बताए। उनले भने, ‘रोबोट कसरी प्रयोग गर्ने, कसरी यसलाई सजिलै नियन्त्रण गर्ने र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना वितरणमा सञ्चालन गर्नेबारेमा हामीले नर्सहरुसँग छलफल गरिसकेका छौ।उहाहरुले विरामीको नजिक नपुगिसकनै आइशोलेशन वार्डमा खाना र औषधि पुर्याउन सक्नुहुन्छ।’
यस्तै टिमका अर्का सदस्य पंकज जाप्रेलले यो रोबोटबाट कोभिड १९का विरामीलाई खाना र औषधि पुर्याउनेबारे प्रत्यक्ष रुपमा सञ्चारको काम गर्ने दाबी गरे उनले भने, ‘ हामीले टिचिङ अस्पतालमा रोबोटको नेभिगेशनहरु चलाएर विरामीको लागि खाना पुर्याउने प्रत्यक्ष परीक्षण गर्यौ र त्यसमा सफल पनि भएका छौ।अब यो काम रोबोटले नर्सहरुको निगरानीमा गर्न सक्नेछ।’
उनका अनुसार रोबोटमा फिट गरिएको क्यामेराले प्रत्यक्ष रुपमा बाटो पहिल्याउने काम गर्नेछ भने नर्स/चलाउने व्यक्तिको हातमा चलाउने रिमोट हुनेछ जसले विरामीसम्म औषधि र खाना बिना कुनै रोकटोक पुर्याउन सकिनेछ।
आल्मुनियमबाट तयार गरिएको यो रोबटमा १२ भोल्टको करेन्ट धान्ने क्षमता रहेको छ भने ब्याट्रीबाट चल्ने गरी बनाइएको छ।एक पटक चार्ज गर्दा यसले २ घण्टासम्म सर्भिस दिन सक्ने टिम लिडर पृथ्वी चौधरीको भनाइ छ। उनले फुड क्यारिङ रोबोटपछि चाँडै नै सेनिसाइजर गर्ने रोबोट बनाउने बताए। उनले भने, ‘यो रोबोटपछि हाम्रो टिमले सेनिटाइजर गर्ने रोबोट पनि तयारी गर्ने सवचमा छौ। यसको प्रोटोटाइपमा काम भइरहेको छ। हामी चाँडै काम सकेर परीक्षण गर्नेछौ।’
यता, रोबोटिक्स एशोसिएन अफ नेपालका अध्यक्ष एवम् मेन्टर विकास गुरुङले कोरोना विरामीको लागि आरएएनले नयाँ भेन्डरसँग थप रोबोट बनाउने कुरा भइरहेको बताए। उनले भने, ‘ कोरोनाको विरामी बढेमा रोबोटबाट खाना र औषधि पुर्याउने थप रोबोटहरु निर्माण गर्नेछौ।हामीले यसबारेमा टीमसँग छलफल गरिरहेका छौ।’
उनले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिउँसो १ बजेपछि स्वास्थ्य र जनसंख्या मन्त्रालयमा रोबोटलाई प्रदर्शन गरिने कार्यक्रम रहेको बताए।