कोरोना डायरी

प्रकृतीको लयबद्धताका लागि मानवीय क्रमभंगता

प्रकृतीको लयबद्धताका लागि मानवीय क्रमभंगता
+
-

कोभिड १९ः मेड इन चाइना
व्यवसायको धरातल उति सुखद नभएपनि धनाढ्य व्यापारीका रुपमा ख्याति पाएका अमेरिकी प्रेसिडेन्ट डनाल्ड ट्रम्पले सार्वजिनक समारोहमाझ चिनियाँ भाइरस भनेर पूर्व गुप्त बिषयलाई उजागार गरेका छन्। तर तिनको लहलहैमा लागेको भन्दा पनि संसारको पछिल्लो अर्थतन्त्रको उपक्रम चीनकेन्द्रित भएर गइरहेको थियो। कमसल सामानको रुपमा अपजस पाएपनि चिनको रफ्तार र आयतन बाँकी विश्वलाई जिल तुल्याउने खालका थियो। त्यसैले चिनीयाँ समान भन्यो कि सस्तो धेरै टिकाउ नहुने अर्थ बोकेको आम धारणामा कोरोना आएर जोडियो र डरको पारो शिर्षस्थ अवस्थामा पुर्‍याइदियो। उहानलाई मुहान बनाएको भाइरस कोरोनाले विश्वभर त्राहिमान् फैलाइदियो। उहान कोरोनाको ग्रहणबाट उठेकाबेला संसारभरि कोरोना फैलिएको छ।

पछिल्लो संख्या भन्छ, सरदर २० लाख संक्रमित, १ लाख ३० हजारले ज्यान गुमाएको अवस्था छ, रोगीको संख्या निरन्तर बढिरहेको छ। समालोचकहरु भनिरहेका छन्, पहिलो र दोस्रो विश्वयुद्ध हतियारले जितियो तर चिनले तेस्रो विश्वयुद्ध नलडेरै जित्यो। यसको सत्यता आउन समय लाग्ला, वा उत्तर कोरियाको जस्तो अवस्थामा बाँकी विश्वले चिनलाई धकेल्न सक्ने अनुमान पनि गर्ने चिन्तकहरु छन् तर जसरी समकालीन् विश्वको आधार चीन बनेको छ, त्यसले चीनलाई चिढाउन अनेक तर्क प्रकासमा ल्याए पनि अन्त्यतः समझदारी नराखीकन विश्वको रफ्तार अघि बढ्ला भन्नेमा ठूलो शंका छ। अब त चीनमा निर्माण हुने हरेक प्रविधिमा भाइरसको शंका उब्जाएको छ, त्यसलाई हतियार बनाएर छद्मभेषी युद्ध लड्ने अतिवादीहरु अघि आउनसक्ने आँकलन छ केहीको। यदि त्यसो भयो भने अहिलेको रफ्तारभन्दा चाँडै नै मानव समुदाय लोप हुनेछ शायद। कोभिड १९ जसरी आयो यसरी नै लगभग १०० बर्षको अन्तरालमा विश्वलाई तहसनहस पार्ने महामारी आएका इतिहास हामीले पढ्न पाएका थियौं तर अहिलेको प्रविधियुक्त युगमा समेत हामी आफै निरीह बनेर हेरिरहन/भोगिरहन बाध्य भएका छौं। विश्वयुद्धका भेट्रानहरुका स्मृतl सुनेर नै अहिलेको पुस्ता अचम्म मानिरहेको दृष्य कल्पना गर्दा मात्र कति भयावह र अमानवीय किसिमले युद्ध भएको रहेछ भन्ने त्यसबेलाका क्रुरताबारेका बृतान्तले बताउँदछन्। अहिले कोरोना त्यसरी नै आएको छ।

आधुनिक चिकित्सा विज्ञानको विकास पहिले र पछि पनि धेरै महामारीहरु आएर विश्वका कतिपय समुदाय सखाप पारेको बारे इतिहास, साहित्यका सृजनाहरुमा उल्लेख गरेको पाएका थियौं, अहिले साक्षात भोगिरहेका छौं। विश्व अहिले आफैँ एउटा अकल्पनीय सहयोगविहीन अवस्थामा पुगेको देखिन्छ। अर्को विकल्प नभएपछि हरेक समुदायका आ–आफ्नो अन्तिम सत्य ईश्वरको पुकारा गरिरहेका देखिन्छ। चिकित्साको पैरवी गर्नेहरु पनि डराइडराई डराएका छैनौं भनी वक्तव्य दिइरहेका छन् र भन्छन्, ‘हामी अनुसन्धानमा लागिरहेका छौं, चाँडै यसको रोकथाम र निर्मुलतातर्फ सफलता हासिल पार्ने छौं।’ गज्जबको सन्देह के छ भने उनीहरु बाँचिरहे पो आफ्नो फाइण्डिङलाई प्रकाशमा ल्याउलान्, अन्यथा यसरी नै विश्व–प्रलाप फैलिरहनेछ, भ्याक्सिनको भोकमा मानवजाति संहारको श्रृंखलामा जोतिइरहनेछ।

विश्वयुद्धताका सुटुक्क आएर एटम बम खसाएर खुशियाली मनाउने अमेरिका पनि यतिखेर रोइरहेको छ। विश्वभरि सम्प्रभुता जमाएको देश बेलायतकी महारानी एलिजाबेथ पनि सेल्फ क्वारेन्टाइनमा छिन्, प्रधानमन्त्री बोरिस बल्ल डिस्चार्ज भए, प्रिन्स चार्ल्समा पोजिटिभ देखिएपछि उनी पनि एकान्तवासमा स्कटल्याण्डतिर लागेका छन्। उनको जीवनमा युगीन श्रीमती डायना र छोरा ह्यारीले बेलायत छोडेर क्यानडातर्फ गएको पीडाभन्दा पनि कैयौं गुणा धेरै सन्तापमा दिन कटाइरहेका छन् सायद। मार्चको अन्त्यतिर एनएचएसको तारिफमा ताली बजाइरहेका बेलायती प्रधानमन्त्री बोरिस भाइरसको पोल्टामा हेर्दाहेर्दै परे र सारा बेलायतीवासीको प्रार्थना पाइरहेका छन्। टेन डाउनिगं स्ट्रिटको माथिल्लो तल्लामा एक्लै बसेर मोबाइलमा संसार हेरिरहेका उनको मनोदशा, अस्पतालको आइसियु बेडमा हुँदा कस्तो थियो होला भनी हामी कल्पना मात्र गर्न सक्छौं। उता इटली र स्पेनको अवस्था प्राचीन युद्ध बिर्साउने गरी मान्छेहरुको मृत्यु हरेक दिन भइरहेको छ। उर्वर मनलाई पश्चिमी देशका शहरहरु घुम्दा माझमा भेटिने ग्रेभयार्डहरुले चिसो अनुभुति दिने गर्दथे। दिनहूँ भरिएका कफिनका बक्सहरु हेर्दा लाग्छ, मृत्युको श्रृंखला अझै केही समय लम्बिइरहनेछ। जर्मनी लगायतका सम्पूर्ण युरोपेली मुलुकहरु पूर्णतः लकडाउनको अवस्थामा छन्। अमेरिकामा सर्वाधिक धेरै असर परेको रिपोर्ट देखिएको छ तर यसलाई अमेरिकीहरु कसरी प्रचारमा ल्याउँछन्, त्यो हेर्न बाँकी नै छ। तर पनि न्युयोर्क र अन्य क्षेत्रमा बढिरहेको मृत्युदर धान्नलाई प्रेसिडेन्ट डनाल्डसँग अचुक औषधी छ भन्नु अर्को जोक सावित हुनेछ।

आधुनिक भारतमा चम्किलो पहिरन सहित साक्षात इश्वरावतारमा झैँ प्रस्तुत हुने मन्द बुद्धि भएका तर बोलक्कड मसिहाको उपाधी पाएका स्वंयमसेवक दलका युगीन स्वामी नरेन्द्र दामोदरनाथ मोदी नाडीमा बाँधिएको उल्टो घडीको सुल्टो समय हेरेर पल प्रतिपल कटाइरहेका छन्। उनका भोका जनताको कहालीलाग्दो लश्कर र लाखौंको संख्यामा खालीपेट राजमार्गमा हिँडिरहेकाहरुको कारुणिक तस्विर पश्चिमा मिडियाले देखाइरहेका छन्। भारतभित्रका मिडियाको भने मिश्रित प्रतिक्रिया छ, सरकारभक्त सञ्चारमाध्यमहरु प्रहरी प्रशासन केन्द्रित भएर उनीहरुको स्याबासीमा समाचार फालिरहेका छन्। विरोधी सञ्चारमाध्यमहरुले प्रहरीले तथानाम लाठी प्रहार गरेका, बच्चासहित सयौं किलोमीटर हिँडिरहेका ज्यालादारी मजदुरका पिडा भट्याइरहेका छन्। कहिँ नभएको लिला भारतमा नै हुन्छ। पूजाको नाममा अन्धविश्वासीहरु कामिरहेका छन्, ज्योतिषहरु डराईडराई भविष्यबारेका गफ मास्क लगाएर दिइरहेका छन्। साधुहरु अझ धेरै खरानी धसेर, गाँजाको चरमआनन्दमा झुलिरहेका छन् बनारस, हरिद्वार, ऋषिकेशतिर। दक्षिण भारतमा शंख बजाउनेहरुको आवाज कैलाश हिमालसम्म पुगेको छ। सामाजिक सञ्जालमा हावा समाचार दिनेहरु पनि बाँचिने मरिनेको संसयमा अन्तिम पोष्ट गरिरहेका छन्। पाकिस्तान खुल्लै छ भन्ने इमरान खान आफ्नै दाउमा छन्। अन्य सार्क मुलुकहरु साझा फण्ड बनाएर यो क्षेत्रका मुलुकहरु सुरक्षित हुनका लागि आवश्यक तयारी गरौँ भन्दै भिडियो कन्फ्रेन्समा जुटेका छन्। भारतको अरुचिका कारण ठप्प सार्कका गतिविधि जब भारत आफैँ आपदमा पर्‍यो, तब उठेको छ, यसका काम कारवाहीलाई अघि बढाउन। कोरोनालाई फाइदाको रुपमा लिनुपर्दछ, सार्कको गतिलाई ब्युँत्याउन सक्ने हो भने। यदि फेरि मोदी सेलाए भने वा उनी पछि आउने भारतीय नेताहरुले सार्कको महत्वमाथि प्रश्न उठाए भने तिनीहरुको नियतमाथि निश्चन्त नहुनु नै जायज हुनेछ। ठग ठेकेदारहरु मृत्युदरलाई आम्दानीको अचूक यन्त्र मानी सम्भावित व्यवसायहरुमा हात हालिरहेका छन्। ताण्डव जारी छ, गोरखधन्दा पनि जारी छ।

फाइदाको निम्ति गिडगिडाइरहेका गोरखधन्दावालाहरु
म बाँचिरहेको छु र यी सब तमासा हेरिरहेको छु। गोर्खा उर्फ नेपालका गोरखधन्दावालाहरुको लज्जास्पद क्रम उपक्रम। अत्यासमा फसिरहेका जनता र एकपछि अर्को गर्दै कमिसनको लोभमा फाइल घुमाइरहेका समवेदनाविहीन सरोकारवालाहरु। आम मानिसको सक्रियता नहुँदाको समयलाई आफूतिर सोझिएको बतास सम्झनेहरु, मृत्यु सम्मुखमा आएर द्वार ढकढकाउँदा समेत चाटुकारहरुको हृदयमा मानवीयताको झिल्को पाउन सकिएको छैन। मदिरा, मासु, घुस, मोटर, घर, महगाँ लुगाको लोभादी पिशाचले घेरिएका छन् कौरवका कावाहरु। हरेक देश आफ्नै कारणमा घोत्लिइरहेका बेला विश्वमा अधिपत्य जमाएको भ्रम पालेका वा जमाउने इरादा राखेका देशहरुको स्वार्थको परिधि अलि ठूलो छ तर तात्विक भिन्नता खासै देखिदैँन। गोरखाबाट उठेको गोरखधन्दा संसारभरि खाने भाँडो भएको छ। सन्त गोरखनाथसँग कुनै सम्बन्ध नभएको गोरखधन्दा समयको चापमा मान्छेहरु कसरी र कतिसम्म अपभ्रंश गर्न सक्नेरहेछन् भन्ने हेर्न जान्नलाई अहिलेको अवस्थामाथि त्राटक ध्यान गर्दा हात अवश्य लाग्छ। यसको हात जति ठूलो उति मात्रामा ज्ञान हात पर्ला। यसको रुझान जति गहिरो उति भावार्थ प्रष्ट अवश्य हुनेछ।

भन्छन्, अमेरिकाको दुःखमा चीन मुसुमुसु हाँसिरहेको छ। अमेरिकाले रोगलाई चाइनिज भाइरस नाम दिएको छ। संसार कोरोना, कोभिड १९ ले तताएको छ। अमेरिका र चीनको जुँगाको लडाइँमा सारा विश्व मानवसमुदायमा प्रत्यक्ष असर पारेको छ भन्नेहरु पनि छन्। त्यो व्यापारको नाममा, युद्धको नाममा, विश्व शक्तिको नाममा कैयौँ धेरै कारणहरुले अवस्थालाई गरिब बनाउँदै गएका छन्। त्यसमा जी ५ देश छन्, तिनमा जी २० देशहरु होलान्। आकार प्रकारमा विश्वशक्तिको होड रोगमाथि दमन गर्ने किसिमले बढिरहेको देखिन्छ।

चिनियाँ सामनको गुणस्तरीयतामाथि संसारभरि एउटै मान्यता छ, त्यो बढी टिकाउ हुँदैन। तर पनि चीनले त्यो क्रमलाई फेर्दै नयाँ नयाँ प्रविधिमार्फत सेवाग्राहीको माग अनुसार सस्तोमा भए पनि गुणस्तर सामान उत्पादन गर्ने प्रयास गरिरहेको छ। साथै ग्राहकको रुचिअनरुप बलिया किफायती सामग्रीको उत्पादन पनि गरिरहेको छ। पछिल्लो अर्थव्यवस्थाको फोटोफ्रेममा हेर्दा स्पष्ट देखिन्छ, सबै देशहरु चीनमुखी हुँदा अमेरिकाको मुख कालो हुन्छ, रातो हुन्छ, प्रजातन्त्र र कम्युनिष्टको सैद्धान्तिक तहको लडाइँभन्दा पनि आर्थिक कारण प्रमुख हो। त्यसको परिणाम र भयावह अहिलेको अवस्था हो भन्नेहरु पनि धेरै नै छन्। एउटा कुरा पक्का के हो भने अनाहकमा विश्वसमुदायले सास्ती पाइरहेका छौं। त्यसको अन्त्यको एउटै कारण यसको सृष्टिकर्ता नै हो। मौनमा फलेको मौनता खुल्छ– ‘प्रकृतिवशः सृजना भएको भए त्यसरी नै यसको मोलमा तुषारापात भएर जान्छ। यदि मानवसृजित हो भने पनि जसले सृजना गर्‍यो, त्यसले उसले सोचेको भन्दा धेरै मूल्य चुकाउनुपर्छ।’

प्रेरक कथा
पुरानो कथा भन्छ,
एकजना शिकारी जंगल चहारिहेका बखत एउटा हरिण देख्दछ र खुषीले गद्गद् भइ मार्नका लागि तयार हुन्छ। ठूलो स्त्री हरिण पेट बोकेका कारण निकै कसरत गरी भाग्न नसकिरहेको अवस्था थियो । असहायहीन भई हार खाएर मादा हरिण जमिनमा बसिरहेकी थिइ। त्यतिकैमा एकजना साधु टुप्लुक्क आइपुग्छन्। शिकारीको काँधमा हात राख्दै भन्छन्,  ‘हे मानव तिमी यो के गल्ती गरिहेका छौ? तिमीलाई ज्ञात छ, हरिण दुइ जीउकी छे र हिँडडुल पनि राम्ररी गर्न सक्ने अवस्थामा छैन। तिमी त्यसको बधका निम्ति तयार भएका छौं? यी लेऊ खसेको पात जसलाई हावाले उडाएर भूइँमा ल्याइदियो र सोध यसलाई जीवनको महत्व? तिमी रुखको एउटा पात पनि झार्न सक्ने सामथ्र्य राख्दैनौ, अब यो हरिणको बध कसरी गर्न सक्छौं। रुखको पात झर्न पनि उसको समय आउनुपर्छ। पहेँलो हुनुपर्छ, उमेर पुग्नुपर्छ र स्वेच्छाले जमिनमा आउनुपर्छ र त्यसका लागि बतासको आह्वान गर्दछन् यी पातहरु। अब तिमी यो सृष्टिको महत्वपूर्ण प्राणीको बध कसरी गर्न सक्छौं? सर्वसत्ता अस्तित्वको आदेश बिना यहाँ रुखको एउटा पात पनि हल्लन सक्दैन भने तिमीले यो हरिणलाई बध गरेर आफ्नो भोक, शोख मेटाउने व्यर्थको चेष्टा नगर।’

शिकारी आफ्नै शिकारमा पर्‍यो। आत्मबोधमा जुट्यो।

यो कोरोनाको महामारी पनि कसैले चाहेर भएको होइन। यदी कुनै व्यक्ति, समूह इतरले सृजना गरेको भएपनि उसले सोचेका भन्दा बेग्लै आकारमा यसको परिणाम देखिनेछ र उसैलाई घाटा हुनेछ । संसारको अर्थव्यवस्था हातमा लिने औँलामा गन्न सकिनेहरु र तिनीहरुलाई वातावरण बनाउने पाषाण हृदय भएका मुढ नेताहरुका कारण कुनै पनि अपराध नगरेका आम मान्छेहरुले दिँनहु मृत्युवरण गर्नु परिरहेको छ। रोगको प्रकोपले दोषिलाई छुन सक्ला नसक्ला त्यो दृष्य आउन बाँकि नै छ तर तीनीहरुले पनि सम्पती, शक्ति सञ्चयको पिडा अवश्य भोग्नुपर्नेछ। संसारका ९० प्रतिशत जनतालाई १० प्रतिशत कामचोरहरु, जसलाई हिन्दुशास्त्रका अनुसार कलियुगका राजाहरु भनिन्छ उनीहरुका हातमा सिमित भएको छ। त्यसको बिकेन्द्रीकरण र प्रकृतिमा आइपर्ने भाविसंकट निवारणको लागि कोरोनाको कहर आवश्यक बनोस् र उनीहरुलाई आत्मसमिक्षाका निम्ती झकझकाओस् ।

छिमेकी मुलुक भारतमा काम गर्न गएकाहरु जीवन आसलाई आफ्नै देशमा लगेर परिवारमाझ बिताउने सोचले हिँडिरहेका छन्। सयौं किलोमिटर पैदल यात्रा तय गरेर आफ्नो देशको सिमामा पुग्दा पनि सरकारले प्रवेश गर्न दिएको छैन। दशगजामा भोक, शोकमा हजारौं नेपालीहरु रातको चिसो र दिनको तातो घाम कटाइरहेका छन्। पौडन सक्नेहरु सिमाको नदी तरेर आएका छन् तर प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।

विश्व परिदृष्य र नेपाल
संसारभरि छरिएर रहेकाहरु आआफ्नो देश फर्कन चाहन्छन् । घर, परिवार र देश भन्ने बिषयको दासत्व धेरै बाक्लो प्रारुपमा मानवीय समवेदनाको भित्रसम्म पसेको छ। रंग, सम्पति, प्रतिष्ठा, धर्मको आधारमा गरिने बिभेदको अत्यासलाग्दो क्रुरता फेरि देखिन थालेको छ, अन्धदेशभक्तिको लर्को पनि सतहमा आएको छ। टोल टोलको प्रवेषद्धारमा बाह्य मान्छेलाई निषेधित क्षेत्र टाँगेर टोलभित्र अश्लिल चलचित्र हेरिरहेका, तास खेलिरहेका, सामाजिक सञ्जालमा जेलीइरहेका, मदिरापानमा आँखा लठ्याइरहेका जीवनप्रेमीहरुलाई जति रोगको भय छ त्यो भन्दा कैयौं गुणा अरु मान्छेलाई छ। मृत्यु भइहालेमा पनि आफ्नो देशमा गएर मर्न पाउँ भन्ने सोच सबैले उमारेका छन् र सम्पन्न पहुँच भएका देशले आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन्।

कृषिप्रधान देशको नारा लाउने तर रेमिट्यान्सलाई अर्थतन्त्रको मेरुदण्ड भनेर छाती फुलाउने नेपाली नेताहरुसँग न्युनतम् डाटा छैन, कति नेपालीहरु कुन कुन देशमा के कति कामले गएकाछन् भन्ने । रिपोर्ट भन्छ, लाखौंको संख्यामा काम गरिरहेका मध्य एसिया तथा अरव मुलुकमा काम गर्ने सबै कामदारहरु बन्दीको जीवनयापन गरिरहेकाछन् । र रेमिट्यान्सको फुर्ति लाउने नेताहरु भूमिगत भएका छन्। सरकार एकोहोरो उर्दी सरकारी सञ्चार माध्यममा ठोकिरहेको छ, विदेशमा रहेकालाई देशमा ल्याउन सकिने अवस्था छैन। उनीहरुको श्रम पसिना र देशको नाममा उठेको करलाई जीवन संचालन र आम्दानीको मुख्य स्रोत बनाउने नेताहरु विज्ञप्ति अक्षम्य खालको छ तर पनि सबै मौन छन्। देश जो लकडाउनमा छ। अरु देशका कुरा परै भए, छिमेकी भारतमा काम गर्नेहरु पनि रोकिएका छन् यतिखेर।

छिमेकी मुलुक भारतमा काम गर्न गएकाहरु जीवनआसलाई आफ्नै देशमा लगेर परिवारमाझ बिताउने सोचले हिँडिरहेका छन्। सयौं किलोमिटर पैदल यात्रा तय गरेर आफ्नो देशको सिमामा पुग्दा पनि सरकारले प्रवेश गर्न दिएको छैन। दशगजामा भोक, शोकमा हजारौं नेपालीहरु रातको चिसो र दिनको तातो घाम कटाइरहेका छन्। पौडन सक्नेहरु सिमाको नदी तरेर आएका छन् तर प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। परराष्ट्रमन्त्रीको शैक्षिक योग्यतामाथि धेरै पहिले शंका उब्जिए पनि अहिले आएर उनको नीतिमाथि विचार गर्दा विदेशनीति पूर्णतया असफल सावित भएको छ, युएइलगायतका देशले आफ्ना नागरिक फिर्ता नलिनेमाथि कारवाहीस्वरुप श्रमसम्झौता रद्द गर्ने धारणा प्रकाशित गरिसकेका छन्। जसले गर्दा लाखौ नेपालीहरु रोगको शोक भन्दा पनि देश फर्कन नपाएको भोकमा दिनानुदिन मानसिकरुपमा कमजोर भइरहेका छन्।

कम्युनिष्टहरुको दुई तिहाइको सरकार छ, कुनैबेला राज्य विरुद्धको कसुरमा अराजनीतिक तत्वकारुपमा सरदर १४ बर्ष जेलमा बिताएका भनिएका खड्गप्रसाद ओली अहिले प्रधानमन्त्रीको कुर्चीमा छन्, अर्का अध्यक्ष प्रचण्डले कोरोनालाई हराउन, अहिलेको अवस्थालाई सम्बोधन गर्न सर्वपक्षीय समूह बनाऔं भन्दा उनी मास्क लगाएर चाहिँदैन भनिरहेका छन्। लाग्छ- देश अघोषितरुपमा अभाव र तनावको जंगलमा पूर्णत जेलमय बनेको छ। प्रहरी, सेना आदिको मनोबल बढाउने होइन घटाउनेतर्फ सरकार उन्मुख भएको छ। फिल्डमा खटिने सेवक र सरोकारवालाहरु सुरक्षित हुन नसकेको अवस्था छ। सीमामा खटिएका शसस्त्र प्रहरी जवानहरुलाई भारतीयले इँटाढुंगा प्रहार गरिरहेका छन्, यता ओली भ्रष्टहरुको खालमा थाल ठटाएर बसेका छन्, तिनै आक्रमणकारीका प्रधानमन्त्री मोदीले के भन्लान् र त्यही यहाँ लागू गरौँला भनी ढुकेर बसेका छन्। स्वास्थ्यमन्त्री देशमा चाहिने आवश्यक उपकरण खरीदमा व्यापक भ्रष्टताको कुवामा खसेका छन्। त्यो फाइल कहिले मन्त्रालय कहिले सैनिक मुख्यालयमा घुमिरहेको छ। जनता संशय सँगालेर प्रतीक्षा गरिरहेका छन्।

अर्थमन्त्रीको शारिरीक काया जति सुडौल छ उति नै आर्थिक पारदर्शिता र उदारता, विकासको गति भद्दा किसिमले चलिरहेको छ। उनको योग्यता भनेकै ओलीको छनोट हो, त्यसबाहेक उनले कुनैबेला सम्हालेको राष्ट्र बैंक, योजना आयोगदेखि हाल सम्हालेको अर्थमन्त्रालयको अवस्था चौपट देखिएको छ। अहिले आएर कोरोना कारण भनेर चोखिने धूर्तता गरेपनि कोरोना पहिलेदेखिनै देशको अर्थव्यवस्था क्षिणदिशातर्फ गएको ग्राफले देखाउँदछ। अष्ट्रेलिया आगलागीको महामारीसँग जुझिरहेका बेला पर्यटन प्रर्बद्धन गर्ने पर्यटनमन्त्री अहिले विमान खरिद गर्दादेखिको फाइल होस् वा चार्टड गर्ने निहुँमा अपेक्षितरुपमा चलखेल गरिरहेका छन्। उनको सक्रियता भ्रमण बर्ष सन् २०२० देखिको कोरोना रोकथाम संयन्त्रसम्म जोडिदा आस गर्ने इन्चभर ठाउँ रहेन। यस्तो भयावहको अवस्थामा पनि नेताहरु, ठेकेदारसँग मिलेर न्यूनतम मानवीय समवेदना शून्य बनाएर भएपनि कमाउने दाउमा लागेका छन्। केन्द्र सरकार र क्षेत्र सरकारबीच तारतम्यता मिलेको छैन। पहिलो त पैसा र मानको संयोजन सम्मानजक भएन भन्ने हो, दोस्रो कुरा क्षेत्रीयताका रुपमा भूगोल बाँडफाड गरिहालेको भए पनि सञ्चालनको आधारभूत चेत नभएका कारण केन्द्र सरकारको हुकुम शैली र क्षेत्राधिकारीहरुले पाएको मुख्यमन्त्री र तपसिल गणका गण्यमान्य व्यक्तिहरु आफूलाई केन्द्रले दलित व्यवहार गरेकोमा चुर भएका छन्। तसर्थ केन्द्रले गरेका कतिपय उर्दीलाई क्षेत्रले अक्षरश पालना गरिसकेको अवस्था छैन। कोरोनाको बिषयलाई लिएर काठमाडौँ बाहिर जानेहरुका लागि केन्द्रले गरेको निणर्यलाई क्षेत्रले नमान्दा घण्टाभरमै तुहिएको समाचार चुहेको थियो। त्यस्तै महामारीका नाममा जम्मा भएको अर्बौ बजेटको उचित वितरण नगर्ने र विभिन्न शिर्षकमा निकासा गर्ने चतुर नेताहरु र धूर्त कर्मचारीका कारण दश किलो सहायता सामग्री दिनलाई प्रचार र हल्ला फिँजाएर एक क्विन्टल अपमानको भारी बोकाउन सफल भएका छन् दाताहरु।

दशक अघिसम्म कुनैपनि भिखारी देख्न नसक्ने नेपालका भूभागमा अहिले भारतीय भिखारीहरुले खचाखच भरिएकाछन्। त्यसमाथि त अहिले नेपाली पनि थपिएका छन्। सबैभन्दा धेरै त सिंहदरवारभित्र बसेर जनताको करमाथि रजाइ गरिरहेका उच्चकोटिका साभ्रान्त भिखारीका कारण देशको अवस्था अहिले कोरोना महामारी भन्दा पनि धेरै नै दयनीय बनेको छ। सचेतहरु विरोधमा आउन चाहन्छन् होला तर माध्यम छैन, लकडाउनका कारण सबै घरमा थुनिएका छन्। नेपालको राजनीतिक भविष्य असामान्य किसिमले अन्धकारतर्फ धकेलिइरहेको भान भइरहेको छ। शिक्षाको अभाव, समवेदनाको दयनिय अवस्था, पैसाप्रधान रुग्ण मानसिकताको शिकार भइरहेका नेताहरुको हविगत शायद आनन्दीत होला भन्नेमा मलाई शंका छ । आर्यघाटमा जलाइने काठमा, बिधुतीय शवगृहमा समेत पैसा खान सक्ने अलौकिक नेपाली नेतागणको गाथा आउने इतिहासका पानामा मधुरो रंग लिएर उड्नेछन्। कृपया शान्त रहौं। घरमै बसौं, बिदेशी कमेडीका कार्यक्रमभन्दा प्रधानमन्त्री ओली र उनी अन्तर्गत काम गर्ने नेतागणका भिडियो, अडियो क्लिप सुनौँ। पुराना अखबार अध्ययन गरौं, मनन गरौं । पानीजहाज, घरघरमा ग्यास चुल्हो, २ बर्षे अलौकिक कायापलटबारे चिन्तन गरौं। हामीले बहुमत दिएर सरकारमा पठाएकाहरु खाँचो परेका बखत के कसरी काम आउन सके त? आत्मबोध गरौं, अर्को चुनाउ आउनु पहिले जीवन बचाउतर्फ केन्द्रित होउ । हात मात्र होइन स्मृति पनि मिचिमिची सफा बनाउँ र निरोगी मार्ग प्रशस्ति गरौं।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?