
झापा- भारत तथा तेस्रा मुलुकबाट आयात गरिएका सामानका सवारी साधन भारतीय नाका पानीटेंकीमा अड्केका छन्।
भारतको पश्चिम बंगाल राज्यमा कोरोना भाइरस संक्रमितहरु बढ्दै जाँदा गत चैत २६ गतेदेखि त्यहाँको राज्य सरकारले नाका बन्द गरिदिएपछि कुनै पनि सामान नेपाल आयात हुन सकेको छैन।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार पानीटेंकी नाकामा ४० वटा कोइलाका गाडी, एउटा ग्यासको बुलेट तथा तरकारी/फलफूलका गाडी रोकिएका छन्। केही ग्यासका बुलेट बाटोमै रहेका पनि उनले बताए।
विश्वकर्माले भने, ‘मलाई जानकारीमा आएका यति हुन्।’
उनले नाका बन्द भएको कुरा सम्बन्धित नेपाल तथा भारतका सबै सरकारी निकायमा लेखेर पठाएको बताए। तर नाका खुल्ने/नखुल्नेबारे केही भन्न नसकिएको उनको भनाइ छ।
मेची भन्सार कार्यालयका अनुसार भारतीय पक्षले नाकामा रोकिएका मालबाहक सवारी साधनलाई अन्य नाकाबाट नेपाल प्रवेश गराउन दबाब दिइरहेका छन्।
भन्सार कार्यालय प्रमुख विश्वकर्माका अनुसार केही समय पर्खेर ती सवारी साधनलाई रि-रुट गराइने छ।
तर नाका आसपासका सर्वसाधारणले भारतबाट मालबाहक सवारी साधन नेपाल आउँदा कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल आउन सक्ने भन्दै आयात रोक्न माग गरेका थिए।