
काठमाडौँ- महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा कार्यरत तीन जना चिकित्सक ड्युटी सकेर घर फर्किरहेका बेला बुधबार राति प्रहरीबाट पिटिए। बिहीबार कलंकीमा औषधी लिएर फर्किरहेकामाथि प्रहरीले निर्ममतापूर्वक लाठ्ठी बर्सायो। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयनको जिम्मेवारी पाएको प्रहरी मानिसहरुलाई घरभित्रै राख्ने नाममा पछिल्लो समय सडकमा निस्किएकाप्रति अराजक बन्दै गएको भनेर चौतर्फी आलोचना भइरहेको छ। यही विषयमा काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय, रानी पोखरीका प्रमुख विश्वराज पोखरेलसँग गरिएको कुराकानी:
१. उपत्यकाका जनताले लकडाउन कत्तिको पालना गरिरहेका छन्?
– अधिकांशले पुलिसको प्रेसरले मात्र लकडाउन पालना गरिरहेका छन्। धेरैलाई संक्रमण नफैलिएकाले बाहिर निस्कँदा केही हुन्न भन्ने मनोविज्ञान छ। म सुरक्षित भएपछि बाहिर निस्कँदा के फरक पर्छ र भन्ने सोचाइ छ। त्यसैले आफू र अरुको स्वास्थ्य भन्दा पनि पुलिसलाई छल्न पाए हुन्थ्यो भन्ने व्यवहार देखिने गरेको छ। जस्तो अवस्था छ त्योभन्दा बिग्रन नपाओस् र बढ्न नपाओस् भनेरै लकडाउन गरिएको भनेर बुझ्नु जरुरी छु।
२. दुई दिनको अन्तरमा प्रहरीको आलोचना हुने गरी दुई वटा घटना भए। सडकमा हिँडिरहेकालाई प्रहरीले लाठ्ठी बर्सायो। लकडाउन कार्यान्वयनको विषय बढी कानुनी हो कि नैतिक ?
– पक्कै पनि बढी नैतिक विषय हो। प्रहरीले पनि बाहिर ननिस्किनुस्, घरमै बसिदिनुस् भनेर अनुरोध गर्ने गरेको छ। सम्झाईबुझाई गर्ने गरेको छ। तर प्रहरीसँग विवाद गर्ने, मुखमुखै लाग्ने गरेको देखिन्छ। प्रहरी आफ्नो ज्यानको बाजी थापेर लकडाउन कार्यान्वयन गरिरहेको छ। तपाईँ घरभित्र बसेर सुरक्षित हुनुस् भन्दै प्रहरी बाहिर बसेको छ। भित्र बसेर सुरक्षित रहने रहर त प्रहरीलाई पनि होला नि। तर म हिँड्न नपाउने? तपाईँलाई के चासो भयो? मसँग मास्क छैन तपाईसँग भए दिनुस् जसरी प्रतिवाद हुन्छ। सरी सम्मेत भन्दैनन्। त्यस्तो अवस्थमा प्रहरीले नियन्त्रण गुमाएको हुन सक्छ।
३. बिहीबार कलङ्कीमा भएको घटना के थियो ?
– एक जना महिला औषधी किनेर आउनु भएको र बाँकी उहाँको साथी जानु भएको भन्ने बुझिएको छ। हामीले अत्यावश्यक काममा आवतजावत रोकेको छैनौँ। सवारी पास नभएकालाई समेत अत्यावश्यक काम पर्दा निस्कने व्यवस्था मिलाएका छौँ। जरुरी काम परेर एक्लाएक्लै हिँड्दा हामीले केही गरेका छैनौँ। त्यस्तो अवस्थामा एक जना मात्रै निस्कनुस् है भनेर बारम्बार भनेका छौँ। यो हुल बाँधिएर हिँड्ने समय हैन। कसैलाई साथ दिएर हिँड्ने समय हैन। अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनुस् भनेर त्यत्तिकै भनिएको हैन। तर बिहीबार कलङ्कीमा भएको घटनामा प्रहरीसँग डिस्कस गरेको देखिन्छ। गल्ती गरेपछि सरीसम्म त भन्न जानु पर्यो नि।
४. तपाईँको मतलब प्रहरी लकडाउन कार्यान्वयनमा पब्लिकदेखि इरिटेड हुँदै गएको हो ? यदि त्यसो हो भने लाठ्ठी चार्ज वा शक्ति प्रदर्शन नै विकल्प हो र?
– पहिलो कुरा त, प्रहरीले हाम्रै सुरक्षाका लागि भनिरहेको छ भन्ने बुझिनु पर्यो। लकडाउन लागू गरेको तीन साता बितिसक्दा यसको कार्यान्वयन पक्ष पनि बलियो हुँदै गएको छ। अधिकांश घरमै बसिरहनु भएको छ। ७५ प्रतिशत बाध्यता र २५ प्रतिशत मनलाग्दी घरबाहिर निस्कने गरेको देखिन्छ। इरिटेड भन्दा पनि प्रतिवाद र अनावश्यक तर्क गरेपछि संयमता गुमाएको हुन सक्छ। महामारी फैलन नदिन घरभित्रै राख्नुको विकल्प छैन। तर फेरि पनि यसको कार्यान्वयन गर्ने हामीले नै हो। अत्यावश्यक र जरुरी कामबाहेक घरबाहिर ननिस्किदिए हामीलाई नै सजिलो हुने हो।