काठमाडौँ- नागढुंगाको ओरालो झरेर केही किलोमिटर अगाडि बढेपछि सडक किनारमा अन्दाजी २२/२३ वर्षीया महिला जो-जोडले रोइरहेको बच्चालाई दुध खुवाउने प्रयास गर्दै थिइन्।
नजिकै एक युवकका आँखा नौबीसे भएर आउने सडकतर्फ एकोहोरिरहेका थिए। बाँकी, वरपर सुनसान थियो। महिलाका आँखा घरिघरि नजिकका ती युवकतर्फ मोडिन्थे, आशा र आग्रहको भावसहित।
किनारमा गाडी रोकेर हामी उनीहरु नजिकै पुग्यौँ। सहकर्मी वर्षा शाह क्यामेर खोलेर तयार हुन थालिन्। हामीले कुरा सुरु नगर्दै ती युवकको अनुहारमा खुसी छचल्किएको देखिन्थ्यो (तर प्रेसको गाडीमा अरुलाई चढाएर हिँड्न हामी असमर्थ थियौँ)। उनीहरु दम्पती रहेछन्।
शनिबार बिहान २ बजे ललितपुरको पाटनबाट पैदल गर्दै यहाँसम्म आइपुगेका। बीचमा केही किलोमिटर तरकारी बोक्ने गाडीले चढाएको रहेछ तर उनीहरु पुग्नु पर्ने ठाउँभन्दा धेरै नजिकै रोकियो। घरबाट निस्किएको ६ घण्टापछि उनीहरु यहाँसम्म आइपुगेका रहेछन्। पुग्नुपर्ने रहेछ- धादिङको गजुरीबाट भित्र गाउँतर्फ।
खानै नपाएर मरिएला जस्तो भयो। अब पैदलै भए पनि घर आउनुको विकल्प भएन- पाटनमा ह्यान्डीक्राफ्टको काम गर्ने सुशील बिक भन्दै थिए।
चीनमा कोरोना भाइरसको महामारी सुरु भएसँगै उनले गर्ने काममा मन्दी आएको रहेछ। विस्तारै कामै ठप्प भयो। घर चलाउनै समस्या हुन थाल्यो। सरकारले राहत दिइरहेको छ भन्ने सुने। तर आफूले कसरी पाउँछु भन्ने बुझ्न सकेनन् न त उनलाई कसैले बुझाउनै पुगे। लकडाउन खुल्ने सुरसार देखेनन्। अन्तत: तीन महिनाको कोठा भाडासमेत बाँकी राखेर उनी एक वर्षीया छोरी र श्रीमतीलाई लिएर गाउँ फर्कन बाध्य भएका रहेछन्, पैदलै।
गाउँसम्म पुग्न पाए त दुखसुख बाँचिन्थ्यो कि!- सुशील भन्दै थिए।
हाम्रो गाडी अगाडि बढेको टाढासम्म हेर्दै, फेरि उनका आँखा नौबीसे भएर आउने सडकतर्फ तेर्सिए।
केही किलोमिटर अगाडि बढेपछि एक महिला काखमा बच्चा च्यापेर हिँडिरहेको भेटिइन्। उनीसँगै काँधमा बोरा बोकेर हिँडिरहेका १३/१४ वर्षका किशोर पनि थिए। वरपर सुनसान थियो। हामीले केही अगाडि बढेर उनीहरुलाई कुर्यौँ। किशोर दौडिँदै अगाडि बढे। सायद बच्चा नबोकेको भए ती महिला पनि दौडिने थिइन् कि!
क्यामेरा देखाएपछि महिला लजाइन्। सलिमा खातुन् डेढ वर्षीयसहित दुई छोरालाई लिएर बारा हिँडेकी रहिछन्, काठमाडौँको कालिमाटीबाट पैदलै। लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि श्रीमान आमा बिरामी भएर घर गएका रहेछन्। उनी फर्कन पाएनन्। यता सिलाइबुनाइ गरेर गुजारा चलाउँदै आएको खातुनको परिवारलाई काठमाडौँमा कष्टकर हुँदै थियो। राहतका लागि भनेर सलिमाको नागरिकताको प्रतिलिपि पनि लगिएको थियो तर खै त्यो कत्ता पुग्यो, राहत आइपुगेन।
भएको पैसा पनि सकियो अब जे पर्ला पर्ला भनेर हिँडेको – काखे छोरातर्फ हेर्दै सलिमाले भनिन्।
धादिङको खानीखोला पुग्दा त्यहाँ २०/२२ जना पैदल यात्रु पोकोपुन्तुरो बिसाएर नजिकै रहेको प्रहरी कार्यालयतर्फ हेरिरहेका थिए। उनीहरुलाई प्रहरीले नै त्यहाँ रोकेको रहेछ। बुझ्दा, त्यहाँ पैदल यात्रुको दुईवटा समूह रहेछ। बर्दिया पुग्नुपर्ने ६ जना र सल्यान पुग्नुपर्ने १४ जनाको छुट्टाछुट्टै समूह।
साब्ले उता जाने ट्रक आयो भने रोकेर चढाइदिन्छौँ भन्नु भएको छ- सडकको बीचैमा रहेका ट्राफिक प्रहरीलाई हेर्दै बर्दिया पुग्नुपर्ने समूहका माधव थारुले भने। यो दुवै समूह घर बनाउने काम गर्दो रहेछ काठमाडौँमा। ठेकेदारले लकडाउन खुलेपछि बाँकी पैसा पठाई दिउँला भन्दै उनीहरुलाई घर जान भनेका रहेछन्।
नागरिकता नभएकाले राहतको समेत बाटो बन्द भयो- सल्यान पुग्नुपर्ने समूहका वीरबहादुर खत्रीले भने। अघि बाटोमा देखिएका दुई छोरासहितकी महिला पनि त्यतिबेलासम्म त्यहाँ आइपुगेकी थिइन्। लगत्तै काठमाडौँबाट आउने बाटो भएर ट्रक आइपुग्यो। ट्राफिकले ड्राइभरसँग सोधेर पैदल यात्रुलाई आउन इसारा गरे। सबै दौडिँदै डालामा उक्लिन थाले। महिला पनि दुई छोरा लिएर गाडी चढिन्।
ट्रक हिँड्नुअघि ट्राफिकले भने- ल यो गाडी चितवनसम्म पुग्छ।
गर्मी बढ्दो थियो, पृथ्वी राजमार्गको कालोपत्र तात्दै थियो। बाटामा मानिसका दृश्यहरु देखिन्थे भने ती अनेकौँ पैदल यात्री थिए। नुवाकोट र काठमाडौँतर्फ मोडिने गल्छीको दृश्य केही फरक थियो। प्रहरी चौकी, फलैँचा र थकित भएर लडिरहेका २८/३० पैदल यात्रु नजिकै थिए। पैदल यात्रुलाई खाजाको व्यवस्था गरिएको रहेछ।
यी पैदल यात्रु काठमाडौबाट आएका थिएनन्। नुवाकोटमा रहेको इँटाभट्टामा काम गर्ने रहेछन्। बाराको कलैयामाई गाउँपालिकाको एकै ठाउँका। पाँचवटा साइकल र तीभन्दा बढी बालबालिका, हेर्दा ठूलो देखिन्थ्यो यो समूह। बाटोमा आउँदै गर्दा कुखुरा बोक्ने गाडी भेटिएपछि त्यसमा महिला र बालबालिकालाई चढाएर यहाँसम्म पठाइएको रहेछ। समूहमा चार वटा परिवार थियो।
बस्न त समस्या थिएन तर खान समस्या भयो। साहुले पनि अहिले बैंक बन्द छ, लकडाउन खुलेपछि पैसा पठाउँला भन्नु भएको रहेछ। हामीसँग मान्नुपर्ने विकल्प पनि भएन- समूहका सफिक राय भन्दै थिए। सफिकका अनुसार उनीहरु ३० हजारदेखि एक लाख रुपैयाँसम्म पैसा बाँकी राखेर गाउँ फर्किएका छन्। साथमा रहेको केही हजार रुपैयाँ भरमा उनीहरु बारासम्मको सडक नाप्ने निधो गरेर अगाडि बढ्दै थिए।

बाराको कलैयामाइ जान हिँडेका नुवाकोटको त्रिशूलीस्थित इट्टा भट्टामा कार्यरत मजदूर परिवार गल्छीमा, उनीहरुलाई स्थानीय वडाको संयोजनामा सञ्चालित हेल्प डेस्कले गन्तव्यमा पुग्ने गाडी चढाइ दिएको छ । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
गल्छी गाउँपालिकाले पैदल यात्रीलाई एउटा विस्कुट,चाउचाउ र मिनरल वाटर दिने गरेको रहेछ। गल्छी- ७ वडाअध्यक्ष हरि खतिवडाका अनुसार उनीहरुले पैदल यात्रुहरुलाई खाजा खुवाएर खालि आएका ट्रक र तरकारी गाडीहरुमा चढाइदिने गरेका छन्। पैदल यात्रुहरु सयौँ किलोमिटर भोकभोकै हिँडिरहेको समाचार बाहिर आएपछि जिल्ला प्रशासनको निर्देशनमा गाउँपालिकाले पैदल यात्रीहरुलाई हेरिरहेको उनले बताए।
गाडी अगाडि बढिरहँदा किनारको त्रिशुली नदीमा ठाउँठाउँमा बनाइका झोलुङ्गे पुलहरुमा वारिपारि आवतजावत गर्न बीचमा बार लगाइएको देखिन्थ्यो । मानिसहरुको हुल बारको वारिपारी दुवैतर्फ ठाउँठाउँमा देखिन्थे। त्रिशुली पारिपट्टी गाउँहरु देखिन्छन्। सायद शहरी क्षेत्रबाट गाउँमा कोरोना भाइरस नछिरोस् भनेर मानिसलाई रोक्न बार लगाइएको हो कि! तर पुलहरुले मानिस मानिसलाई जोड्ने काम गर्छन्। समस्याको समाधानलाई सहज बनाउँछन्। पुलमा बार लगाउँदा कति समस्या बढ्ने हुन्। वारि र पारि दुवैलाई कति धेरै समस्या हुने हो। रोग सर्छ भनेर मानिस मानिसबीच दुरी त बढ्ने होइन ?
अचानक एउटा तरकारी बोक्ने गाडी हामीलाई हर्न बजाउँदै केही अगाडि बढेर रोकियो। चालक आत्तिँदै हामीतर्फ आए।
ट्राफिकले गाडि रोक-रोकभन्दा भन्दै पनि उनी नटेरी अगाडि बढेका रहेछन्।
हामीलाई पनि त पैदल यात्रीहरु देखेर माया लाग्छ। चढायो भने उल्टै ट्राफिकबाट दुख पाइने, जहाँबाट ल्यायो त्यहीँ लगेर छाडिदिनुपर्ने। आज तिनै मान्छेले पैदल यात्रु लग्देऊ भन्दा रिस उठ्छ नि हैन सर? तपाईँको गाडीमा प्रेस लेखेको देखेर मनले थाम्न नसकी भन्न आएको। हाम्रो दुख कसले सुन्ने र कसलाई सुनाउने ?- चालक छोटो गुनासो सुनाएर फर्किए।
धादिङबाट चितवन प्रवेश गर्ने पृथ्वी राजमार्गको सिमानामा केही हुल पैदल यात्रीहरु सडक किनारमा रहेका डिलहरुमा रुखका छहारीमा पर्ने गरि लडिरहेका थिए। लाग्यो- अर्को समूह यहाँसम्म आइपुगेको रहेछ।
तर बुझ्दा खानीखोलाबाट चढेको समूहलाई ट्राफिक प्रहरीले यहाँ उतारेको रहेछ। नारायणगढसम्म पुग्ने ट्रकमा चढेकालाई किन यहीँ झारियो भन्नेबारे नजिकै रहेका प्रहरी हवल्दार बालकृष्ण गौतमले यत्ति भने- उहाँहरु पुग्ने ठाउँसम्मकै गाडीमा चढाइयो भने सजिलो हुन्छ भन्ने ठानेर ओरालेको।
मलिन अनुहार लगाएर छरप्रस्ट लडिरहेका थकित पैदलयात्रीहरु काठमाडौँ भएर आउने सडक, सवारी र अगाडि रहेका प्रहरीको इसारा कुरिरहेका थिए। बाटामा हामीले पैदल यात्रुहरुको हुल का हुल देख्यौँ/ भेट्यौँ जो काठमाडौँबाट भन्दा पनि गोरखा, धादिङ, नुवाकोटबाट फर्किरहेका मजदुरहरु थिए।
उनीहरु प्राय: भूकम्पपीडितको घर बनाउन त्यहाँ पुगेका रहेछन्। गोरखाको बोर्लाङबाट दुई दिनअघि हिँडेको यस्तै समूह मुग्लिङअगाडि भेटियो। ६ जनाको समूहमा अधिकांश २० देखि २५ वर्ष उमेरका थिए। उनीहरु रौतहट पुग्नुपर्ने थियो। चाउचाउको भर र चौताराको बास भएर उनीहरु यहाँसम्म आइपुगेका रहेछन्।
३ गते त लकडाउन खुलिहाल्छ भन्दै थिए ठेकेदार। तर फेरि बढाइएपछि ४ गते ठेकेदार नै बेपत्ता भए। साहुले एक एक हजार रुपैयाँ दिएपछि हामीले हिँडेरै रौतहट पुग्ने निर्णय गर्यौँ- समूहका दीपेन्द्रप्रसाद यादब भन्दै थिए। उनी रोकिएर गफ गर्ने मुडमा थिएनन्। समूहमा सबैभन्दा कम उमेरका जस्ता लाग्ने खुट्टा खोच्याइरहेका थिए। तर पनि उनीहरुलाई थाहा थियो- घर पुग्न हिँड्नैपर्छ।
चितवनको रामनगर पुग्दा एक व्यक्ति ट्रक र अन्य मालबाहक गाडीलाई रोक्दै केही सोधिरहेको देखिए। सडक किनारमा रहेको जंगलमा खानपान चलिरहेको थियो। खाने खाइरहेका थिए, आराम गर्ने झोला सिरानी लगाएर रुखको छहारीमा पल्टिरहेका थिए। आसपासमा लेखिएका बोर्डहरुबाट सजिलै थाहा हुन्थ्यो- खाइरहेका र आराम गरिरहेका सबै पैदल यात्रु थिए।
अघि भर्खर ट्रक ड्राइभरसँग सोधीखोजी गर्ने व्यक्ति नजिकै पुगेर हामीले कुराकानी सुरु गर्यौँ। उनी स्थानीय तारानाथ कुँवर रहेछन्। पूर्व शिक्षकसमेत रहेका कुँवरकै अगुवाइमा स्थानीयहरु मिलेर काठमाडौँलगायत विभिन्न ठाउँबाट पैदल गरेर त्यहाँ पुगेकाहरुलाई खाना खुवाइने गरिएको रहेछ दिनभर।
सबैजना बाध्यताले नै घर फर्किएका होलान्। सरकार निर्दयी बन्न सक्ला तर हामी जनता टुलुटुलु हेरेर बस्न सक्दैनौँ- कुँवर भन्दै थिए। उनीहरुले मात्र खुवाइरहेका थिएनन्, अलपत्र भएर बसिरहेकालाई पुग्नु पर्ने ठाउँसम्म जानका लागि समन्वय पनि गर्दै थिए। हामीसँग कुरा गर्दागर्दै काठमाडौँतिरबाट एउटा ट्रक आयो। कुँवर दौडिएर अगाडि पुगे। ड्राइभरलाई कोही भोको भए खाना खाएर जानुस् भने। खाना खान सबै ओर्लिए। लगत्तै एउटा खाली ट्रक आयो। बुटवलसम्म जाने रहेछ। पश्चिम नेपाल जानेलाई बुटवलसम्म पुग्नु पनि केही सहज हुने थियो। आखिर यात्रा नै यसरी अगाडि बढ्दै थियो। पश्चिम जानेहरु ट्रकमा आएर बसे।
विदा गर्नुअघि कुँवरले भने- बुटवलको उपमहानगरपालिकासँग हामी कुरा गरेर त्यहाँबाट अगाडि बढ्ने व्यवस्थाका लागि पहल गर्ने छौँ।
त्यहाँबाट अझ अगाडि बढ्दा पूर्वतिरबाट आउने पैदलयात्रीहरुको हुल नारायणी पुल तरेर पश्चिमतिर लाग्दै थियो। मध्यदिनको चर्को घामको कुनै परबाह थिएन उनीहरुलाई। नारायणगढ वडा प्रहरी कार्यालयको समन्वयमा उनीहरुलाई खाना र चिउराको व्यवस्था गरिएको रहेछ। पश्चिमतिर जाने खालि ट्रक आए उनीहरुलाई चढाइदिने भने पनि ट्रक नआएपछि यात्रीहरु पैदलै पश्चिमतर्फ लागेका थिए, खानाको एक/एक प्याकेट बोकेर।
अपरान्ह काठमाडौँ फर्कँदा राजमार्ग र आसपास सुनसान थियो। आकाश गर्जिएर मुसलधारे वर्षासहित असिना पानी बर्सिन थालेको थियो। धन्न यसपटक कोही पनि हिँडिरहेका थिएनन्, कोही पनि सडक किनारमा लडिरहेका थिएनन्।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले चार साता अघि लागु गरेको लकडाउनका कारण अलपत्र परेका मानिसहरुलाई सरकारले उचित व्यवस्थापन गर्न नसक्दा पछिल्ला केही साता राजमार्गहरुमा पैदल मार्मिक दृश्यहरु दिनहुँ देखिने गरेका छन्। लकडाउनका कारण रोजगारी नभएर (रोजगारी हुनेसमेत तलब नआउँदा) खानेबस्ने व्यवस्थापनमा उचित ध्यान नदिँदा सयौँ किलोमिटर पैदल गरेर घर पुग्नुपर्ने बाध्यता छ।
खानेबस्ने प्रबन्ध नहुँदा मान्छे हिँड्छ भन्ने जान्दाजान्दै सरकारले राहत व्यवस्थापनमा किन बेवास्ता गरेको होला ! मानिसहरु जसरी पनि घरसम्म पुग्छन् भन्ने जान्दाजान्दै पनि किन उनिहरुको विजोग देखाउन र आफु नाङ्गो हुन सरकार उन्मत्त भएको होला ! यस्तोपरिस्थितीमा एउटा गाउँबाट अर्को गाउँमा छिर्न नदिने स्थानीय निकाय र समुदायको अभ्यासबाट सरकारले आफ्ना नागरिक र उनीहरुबीचको सम्बन्धलाई कुन उचाइमा पुर्याउँदै छ ?
भिडियो हेर्नुहोस्: