ओलीले प्रचण्डलाई दिएको आश्वासन

शितल निवासलाई दलविभाजन अध्यादेश खारेजीबारे कुनै जानकारी छैन

शितल निवासलाई दलविभाजन अध्यादेश खारेजीबारे कुनै जानकारी छैन
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी विवादास्पद अध्यादेश खारेज गर्ने आश्वासन नेकपाका शीर्ष नेताहरुलाई दिएपनि त्यसतर्फ कुनै पाइला अघि नबढेको बुझिएको छ।

शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा त्यसबारे कुनै औपचारिक जानकारी गराइएको छैन। ‘बालुवाटारबाट कुनै पनि जानकारी आएको छैन,’ राष्ट्रपति कार्यालयको स्रोतले भन्यो।

अध्यादेशको विरोधमा उत्रेका नेकपाका उपल्लो तहका एक नेताले अध्यादेशमा राष्ट्रपतिको छवि पनि जोडिएकाले तत्काल अध्यादेश खारेज हुनेमा आफूलाई केही आशंका रहेको बताए।

यता नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले  अध्यादेश खारेजका लागि ओलीले आश्वासन दिएपनि त्यसलाई पूर्णरुपमा विश्वास गरिसकेको छैन।

‘शीर्ष नेताहरुले सुझबुझकासाथ निर्णय लिनुपर्छ। निर्णय गरेपछि कार्यान्वयन गर्नुपर्छ। कार्यान्वय नहुञ्जेल हामी पनि कसरी विश्वास गर्ने ?’ नेकपा नेतृ जयपुरी घर्तिले भनिन्।

पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि प्रधानमन्त्री एवं नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने आश्वासन नेकपाका अर्का प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि दिएका थिए।

यद्यपि राजपत्रमा प्रकाशित भइसकेको अध्यादेश राष्ट्रपतिबाट खारेज गर्न मन्त्रीपरिषद्बाट सिफारिस गरी शितलनिवास पठाइएको कुनै सूचना अहिले सम्म प्राप्त भएको छैन।

ओलीले मधेसकेन्द्रित दल फुटाउन र आफ्नो विरोधमा लागेका नेकपाका नेताहरुलाई तर्साउन सरकारले साेमबार राजनीतिक दलसम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय चार दिनमै खारेज गर्ने आश्वासन नेताहरुलाई दिइसकेका छन्।

आखिर किन यति छिट्टै अध्यादेशबाट पछि हट्ने संकेत दिए त ओलीले?

लामो समय एकताका लागि तयारी भएको बताइरहेपनि शीर्ष नेताहरुमा कसले के पाउने भन्ने विषयलाई लिएर अड्किएका मधेसकेन्द्रीत समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राप्रपा)बीच मध्यरातमा एकता हुनु र अध्यादेशको विरोधमा आफ्नै दलका दुईतिहाई स्थायी कमिटी सदस्य उभिएपछि ओलीले आफ्नो निर्णयबाट पछि हट्ने आश्वासन दिएका थिए।

अध्यादेश जारी गर्नेक्रममा मन्त्रीपरिषद् बैठकमै ४ जना माओवादी पृष्टभूमि रहेका मन्त्रीहरुले विरोध जनाएका थिए। त्यसलगत्तै आकस्मिकरुपमा बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डसहित ५ जना त्यसको विरोधमा उभिएका थिए।

नेकपा स्थायी कमिटीका २० जना स्थायी कमिटी सदस्यहरुले संयुक्त हस्ताक्षरसहित ओली र प्रचण्डलाई पत्र पठाएर तत्कालै दुबै अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए।

आफू अल्पमतमा पर्ने स्पष्ट भएपछि ओलीले बुधबार सांसदहरुसँगको छलफलका क्रममा अपमान गरेर बालुवाटारबाट पठाएका प्रचण्डलाई बिहीबार बिहान फेरि बालुवाटार बोलाएका थिए।

नेकपाका एक प्रभावशाली नेताका अनुसार प्रचण्डले ओलीलाई भेट्नासाथ भने,’ अब म अरु जान्दिन, अध्यादेशबारे छलफल गर्न शुक्रबार स्थायी कमिटी बैठक कुनै पनि हालतमा राखौँ। तपाई डाक्नुहुन्न भने म आफै डाक्छु।’

ओली एकछिन मौन रहेपछि ओलीले भने ‘स्थायी कमिटी बैठक डाक्नै पर्दैन। सबै कुरा ठिकठाकै छ। मैले सफा नियतका साथका अध्यादेश ल्याएको थिएँ तर तपाईहरु भन्नुहुन्छ भने फिर्ता लिउँला।’ भन्ने जबाफ दिएको ती नेताले बताए।

प्रचण्डसँग करिव एक घण्टा भएको छलफलमा ओलीले मुलुकको हितका लागि काम गर्दागर्दै पनि आफूमाथि अपजस मात्रै आइलागेको गुनासो गरेका थिए।

त्योसँगै ओलीले आफूसँग दुरी बढाउँदै गएका प्रचण्डलाई नेकपा पार्टीलाई बचाउन आफूहरु मिलेर अघि बढ्नुको विकल्प नभएको पनि सुनाएका थिए। अध्यादेश फिर्ता गर्ने ओलीबाट बचन पाएलगत्तै प्रचण्ड खुमलटार फर्किएका थिए।

उता प्रचण्डललाई बोलाउनु अघि ओलीले आफूसँग असन्तुष्ट रहेका नेकपाका अर्का वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर करिव साढे २ घण्टा छलफल गरेका थिए ।

ओलीले नेपाललाई पनि आफूले अध्यादेश खारेज गर्ने आश्वासन प्रचण्डलाई दिइसकेकाले मनमुटाव गर्नुको कुनै अर्थ नरहेको सुनाएका थिए। अध्यादेश खारेजीकाे तयारीमा रहेको खबर ओलीले नेता खनाललाई पनि सुनाएका थिए।

नेता नेपाल र खनालले प्रधानमन्त्री ओलीबाट अध्यादेश खारेज गर्ने आश्वासन पाएको र त्यो कार्यान्वयन हुनेमा आफूलाई विश्वस्त रहेको बताए।

‘पार्टी एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन। कुनै बहाना या कुनै पनि घटनाक्रमले हामी प्रभावित हुनुहुन्न। त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ नेपालले भने।

कुनै पनि दल टुटाएर अर्को दल दर्ता गर्दा केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या हुनुपर्ने कानुनी व्यवस्थालाई कुनै एकमा मात्र ४० प्रतिशत भए पुग्ने व्यवस्थासहित सोमबार अध्यादेश जारी गरिएको थियो।

अध्यादेश जारी भएलगत्तै अध्यक्ष प्रचण्डसँगै नेकपाका अधिकांश नेता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य साना दललले विरोध जनाएका थिए।

अध्यादेश आफूहरुलाई फुटाउन ल्याइएको निष्कर्षमा पुगेपछि मधेसकेन्द्रीत समाजवादी पार्टी र राजपाले बुधबार रातारात एकता भएको घोषणा गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष