
झापा – नेपाल–भारतको सीमामा पर्ने नकलबन्दा प्रहरी चौकी नजिकमा रहेको भर्खर स्थापना गरिएको प्रहरी पोस्टमा पुग्दा महिला प्रहरी जवानद्वय उषा गुरुङ र रुपामाया मगर सीमामा सुरक्षाका लागि तैनाथ थिए।
उनीहरुले अहिले न कसैलाई भारततिर जान दिएका छन् न भारतबाट कोही मान्छेलाई नेपाल आउन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले पुरुष प्रहरीसँगै महिला प्रहरीलाई पनि सीमा सुरक्षाका लागि खटाएको छ। यस अघि सीमा सुरक्षामा पुरुष प्रहरीलाई प्राथमिकताका साथ खटाइने गरिएकोमा अहिले कोरोना भाइरस संक्रमण रोकथामका लागि सीमामा महिला प्रहरी पनि खटाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
मेचीनगर नगरपालिकाको क्षेत्रमा रहेको नकलबन्दा प्रहरी चौकी नजिक रहेको सीमा पोस्टमा रहेकी प्रहरी जवान उषा गुरुङले देशले सुरक्षा माग्दा जस्तोसुकै सुरक्षा दिन आफूहरु तयार रहेको प्रतिक्रिया दिइन्।
उनले महिला प्रहरीले पनि सीमा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भनेर प्रमाण दिनका लागि यो एउटा अवसर भएको बताइन्।
उषाले भनिन्, ‘महिलाले पनि पुरुष जतिकै सुरक्षाका काम गर्न सक्छन् भन्ने अहिले अनुभव हुँदैछ।’
यसअघि आफूहरुलाई सीमा सुरक्षाको जिम्मा नदिइएको उनले बताइन्। सीमा सुरक्षामा रहँदा आफूमा हिम्मत बढेको उनको अनुभव छ। उषाले भनिन्, ‘तर अगाडि बढ्नका लागि प्रेरणा र अवसर नै ठूलो कुरा हो।’
झापाको दक्षिणी सीमा कोरोबारी सीमामा खटिइने अर्की प्रहरी जवान हुन् अस्मिता राई। उनको अनुभवमा उनीहरुलाई आदेश पनि कडा छ साथै ड्युटी पनि।
अस्मिता भन्छिन्, ‘यो बेला हामी सीमामा कडा रुपमा प्रस्तुत हुनुपर्ने छ। तर पनि मानिसलाई सम्झाइ बुझाइ घरमै बस्नुहोस् भनिरहेका छौँ।’
उनले न भारतबाट कसैलाई नेपाल आउन दिएकी छिन् न नेपालबाट भारततिर जान। उनले भनिन्, ‘हामी २४ सै घन्टा खटिएका छौँ। पुरुष प्रहरी जतिकै महिला प्रहरीले काम गर्न सक्छन्। २४ सै घन्टा देशका लागि खट्न सक्छौँ।’
काँकरभिट्टा नाकाको एक नम्बर गेटमा बस्ने प्रहरी जवान गौरीमाया श्रेष्ठका अनुसार मानिसलाई सम्झाएर हिँड्न नदिनु निकै चुनौतीपूर्ण काम रहेको छ।
तर समग्र देश र नागरिकको स्वास्थ्यका लागि खटिइनु परिरहेको अवस्थामा जिम्मेवार बोध भएको अनुभव श्रेष्ठले सुनाइन्। उनले भनिन्, ‘सुरक्षामा चाहे सीमा होस् वा अन्यत्र, हामी खटिइरहेका छौँ।’
केही सीमा पोस्टहरुमा महिला प्रहरीकै नेतृत्व छ। प्रहरी सहायक निरीक्षक शोभा पराजुलीको मातहतमा जम्मा ६ वटा पोस्टहरु छन्।
पराजुली भन्छिन्, ‘तलब चाहिँ एकै खाने तर काम गर्न नसक्ने भन्ने हुँदैन। हामी हिजो पनि खटिएका हौँ। आज र भोलि पनि खटिन्छौँ।’