प्रचण्ड र माधव नेपालसहितको कोटेश्वर भेलाको निष्कर्ष

नेकपा स्थायी कमिटीको आगामी बैठकमा ओलीको विकल्प खोज्ने नेताहरुको निर्णय

नेकपा स्थायी कमिटीको आगामी बैठकमा ओलीको विकल्प खोज्ने नेताहरुको निर्णय
+
-

काठमाडौँ– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै असन्तुष्ट नेताहरुले आगामी स्थायी कमिटी बैठकमा ओलीको विकल्प तोक्नु पर्ने अडान लिएका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधकुमार नेपालसहित एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरु सम्मिलित आइतबारको कोटेश्वर भेलाले त्यस्तो अडान लिएको हो।

भेलाले प्रचण्ड, नेपालसहित स्थायी कमिटीका अधिकांश सदस्यहरु त्यस्तो अडान लिन सहमत भएकाले त्यसलाई सकारात्मक रुपमा लिन र निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने भएको भेलामा सामेल एक सदस्यले बताए।

उनले भने, ‘ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न सक्नुहुन्न भन्ने हाम्रो निष्कर्ष हो। अब त्यसको विकल्पको बाटो खोलिदिन उहाँलाई खुलेर आग्रह गर्नेमा हामी सहमत भएका छौँ।’

प्रधानमन्त्री ओलीले उनीहरुको आग्रह अस्वीकार गरेमा आउँदो स्थायी कमिटी बैठकले तत्कालै उनको विकल्पको टुंगो लगाउने निष्कर्षमा उक्त भेला पुगेको हो।

ओलीको कार्यशैलीविरुद्ध दुई तिहाई स्थायी कमिटी सदस्यहरु उभिसकेको दाबी गर्ने भेलाले त्यहाँ उपस्थित र अनुपस्थित सबै सदस्यहरुलाई आगामी बैठकमा विकल्पसहित प्रस्तुत हुन आग्रह गरेको छ।

तर भेलाले सिधै ओलीले दुवै पदबाट या एउटा पदबाट राजीनामा दिनुपर्ने स्पष्ट पारेको छैन। त्यो ओलीको ‘रबैया’ मा भर पर्ने भेलाका अर्का सदस्यले बताए। यदी ओलीले एक पद छोड्न र त्यसको नेतृत्वमा आउनेलाई सहयोग गरेमा कमिटीका सदस्यहरु फरक रुपमा प्रस्तुत हुने तयारी गरेका छन्।

‘स्थायी कमिटी बैठक अबको दुई या तिन दिनभित्र बस्नै पर्छ। कुनै पनि बहानामा यो बैठक सारियो भने हामी आफै विकल्पको निर्माणमा पुग्नेछौँ।’

भेलामा उपस्थित हुन नपाएका तर भेलाको निष्कर्षमा सहमति जनाएका अर्का एक स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओली झमेलामा फस्दै जाँदा पार्टी तथा सरकार दुबैमा क्षति पुगेको र त्यसबाट आगामी चुनावको मतलाई सर्वनाश गर्ने खतरा बढेकोले आफूहरुले पार्टी र सरकारको नेतृत्वको विकल्प खोजेको बताए।

उनले भने, ‘पार्टी खतम पार्न सकिन्न। पार्टी जोगाउन कठोर कदम चाल्नै पर्ने निष्कर्ष निकालेका हौँ।’

यही वैशाख ८ गते ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि नेकपामा विवाद झन चुलिएको हो।

सत्तारुढ दलसँगै प्रतिपक्षी दलले पनि अध्यादेशहरुको चर्को विरोध गरेपछि प्रधानमन्त्री आफ्नो निर्णयबाट पछि हटेका थिए। तर ओलीप्रतिको अविश्वास कायमै रहेपछि उनको विकल्प खोज्न थालिएको हो।

आइतबारको भेलामा सामेल स्थायी कमिटीका सदस्य रघुजी पन्तले भने, ‘हामी सबैले पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउनुपर्छ। पार्टीको अबको बाटो के भन्नेमा छलफल गर्न पाउनुपर्छ। त्यसका लागि हामीले नेतृत्वलाई चाँडोभन्दा चाँडो बैठक बोलाउन आग्रह गछौँ।’

पन्तले प्रधानमन्त्री ओलीले चाहेमा स्थायी कमिटीको बैठक तुरुन्तै र सजिलै बोलाउन सक्ने बताए। उनले भने, ‘बालुवाटारमा प्रधानमन्त्रीज्यूले जसरी सांसदहरुसँग छलफल गर्नुभयो। त्यसैगरी हामीलाई त्यहाँ बोलाउन सक्नुहुन्छ। यो सम्भव छ।’

यता स्थायी कमिटी सदस्य भीम आचार्य पनि पन्तको मान्यतासँग सहमति छन्। उनले भने, ‘हामी अहिले स्पष्ट हुन चाहन्छौँ। छलफल चाहन्छौँ। र सामूहिक निष्कर्षका आधारमा पार्टी अघि बढाउन चाहन्छौँ।’

‘बालुवाटार’ प्रतिरक्षा केन्द्रमा परिणत हुँदै


यता नेकपा केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक टार्ने कुनै सम्भावना नदेखिएपछि ‘बालुवाटार’ व्यक्तिगत रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको छवीमा पुगेको क्षति नियन्त्रण सम्बन्धी रणनीति तय गर्न प्रतिरक्षा केन्द्रमा परिणत भएको छ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध खनिएका प्रचण्ड लगायतका नेताहरुसँग विगत तीन दिन यता पटक–पटक भेटघाट गरे पनि केन्द्रीय सचिवालय र स्थायी कमिटी र परिआएमा केन्द्रीय कमिटी बैठक बस्नु पर्ने उनीहरुको दबाब टार्न नसक्ने स्थितिमा पुगेको बुझिएको छ।

अब केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकमा दुई अध्यादेश जारी र रद्द गर्ने क्रममा, राष्ट्रपति भण्डारीले खेलेको भूमिकाबारे समेत छलफल स्पष्ट भएपछि ओली आफू पक्षका नेताहरुसँग बराबर परामर्शमा लागेका हुन्।

ओलीले खासगरी नेकपाका नेता सुवास नेम्वाङ र ईश्वर पोखरेललाई असन्तुष्ट नेताहरुसँगको परामर्शको विशेष जिम्मेवारीसमेत दिएका छन्। आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरेको नेता नेम्वाङले प्रधानमन्त्री ओली निरन्तर छलफल र परामर्शबाट अघि बढ्न चाहेको बताए।

उनले भने, ‘प्रधानमन्त्री सबैसँग सल्लाह गरेर अघि बढ्न चाहनुभएको छ। त्यसका लागि सबै नेताहरुसँग एक्ला–एक्लै र समूहमा भेटघाट बाक्लाे बनाउनुभएको छ । मैले पनि त्यसै किसिमको सल्लाह दिएको छु। पार्टीमा उत्पन्न समस्या हल हुनेमा म आशावादी छु।’

तत्कालै स्थायी कमिटी बैठक आवश्यक छ कि छैन? भन्ने प्रश्नमा नेम्वाङले भने, ‘बैठक हुने नहुनेभन्दा पनि पार्टीमा छलफल गरेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्छ। जनताले हामीलाई यो भन्दा अर्को म्यान्डेट दिएका छैनन्।’

प्रधानमन्त्री ओलीले शनिबार प्रचण्ड, नेपाल र नेता वामदेव गौतमलाई भेटेर उनीहरुलाई फकाउने प्रयास गरेका थिए। ओली र उनीसँग असन्तुष्ट समूहका समानन्तर बैठकहरु जारी रहँदा ओली पक्षमा निराशाका संकेत मात्र हैन, उनी नेतृत्वमा नहुँदाका परिदृश्यको कल्पना पनि हुन थालेको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले आइतबार एक ट्वीट गरेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पो भएछ! भागबण्डाको दुष्परिणाम, जनमतको घोर अपमान। पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूको पराकाष्ठा। सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल ! लज्जाशरणम् !’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष