
झापा – दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले आइतबाट साँझ आफ्नो फेसबुक टाइमलाइनमा स्टाटस लेखिन्, ‘महामारीसँग जुझ्दै योद्धा महिला- कोराना भाइरस परीक्षणको प्रकृया अनुसार दमक न.पा.वडा न.३ का ६२ वर्षीय पुरुषको स्वाव परीक्षण पोजिटिभ देखिएपछि निजलाई राति ९ बजे दमक अस्पतालबाट कोशी कोभिड अस्पताल पुर्याउनु हुने साहसी महिला एम्बुलेन्स चालक ! यो संकटको समयमा निडरपूर्वक तपाईँले पुर्याउनु भएको सहयोग सराहनीय छ! धेरै धेरै धन्यवाद!’
सोमबार बिहान यो समाचार तयार पार्न ती महिला एम्बुलेन्स चालकलाई फोन गर्दा ती संक्रमितसँग सम्पर्कमा आएका दुई परिवारका सदस्यलाई कोरोना भाइरस परीक्षणका लागि अस्पताल ल्याइसकेकी थिइन्।
उनले फोन सम्पर्कमा भनिन्, ‘यो बेला निकै अहसज परिस्थिति छ। तर पनि जोखिम उठाउनै पर्छ।’
जीवनमा अनेकौँ उतार चढावबाट एम्बुलेन्स चालक भएकी ती महिला साहसका साथ कोभिड-१९ का विरामी तथा तिनीहरुका सम्पर्कमा आएका मानिसहरुको सेवामा तल्लीन छिन्।
सबभन्दा पहिला अटो रिक्सा चलाएर चालक पेशा अंगालेकी उनी हाल एम्बुलेन्स चालक भएकी छिन्।
जब दमकका संक्रमितलाई एम्बुलेन्समा राखेर विराटनगर लानुपर्ने खबर उनलाई आयो त्यो बेला एक पटक हंसले ठाउँ छोडेको प्रतिक्रिया उनले दिइन्।
उनले भनिन्, ‘खाना खाँदा पनि रुँदै खाएँ। तर सम्झें यत्रो जोखिमयुक्त जीवन त पार गरेर आएँ भने योबेला मैले आफ्नै साहसी कदम देखाउने बेला हो। पीपीई लगाएर एम्बुलेन्स हाँकेर विराटनगर पुगेँ।’
विभिन्न स्थानमा परिचालित स्वास्थ्यकर्मीको टोलीसँग अहिले उनी तैनाथ छिन्। कुन बेला कुन विरामीलाई कहाँ लैजानुपर्छ थाहा नहुने उनले बताइन्।
त्यसैले उनी २४ सै घन्टा तयारी अवस्थामा हुन्छिन्।
विगतमा पुरुष चालकहरुको दुर्व्यवहार र अनेकौँ अपशब्द झेलेकी उनलाई यो बेला कसरी सुरक्षित रहेर काम गर्ने भन्ने चिन्ता छ।
तर स्वास्थ्यकर्मीहरुको टोली उनीसँगै रहेको उनले बताइन्। भनिन्, ‘तर पनि मनमा कता-कता डर चाहिँ हुने रहेछ।’
कतिपय एम्बुलेन्स चालक पुरुषहरु कोरोना भाइरस संक्रमित बिरामी बोक्न आनाकानी गरिरहेको तथा केही भागेको अवस्थामा यी एम्बुलेन्स चालक महिला कोरोना भाइरस संक्रमित बिरामीको सेवामा अनवरत खटिएकी छन् ।
(सामाजिक सुरक्षाका कारण चालकको परिचय खुलाएका छैनौँ)