
काठमाडौँ – पार्टीभित्र उत्पन्न विवादबारे छलफलका लागि नेकपाको कन्द्रीय सचिवालय बैठक अनिश्चित बनिरहेका बेला मगंलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वार्ताका लागि बालुवाटार बोलाएका छन्।
नेकपा स्रोतका अनुसार सोमबार ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति भएपनि उक्त बैठकलाई उपेक्षा गर्दै ओलीले पहिले प्रचण्डलाई बोलाएर छलफल गर्न खोजेका हुन्।
ओलीले प्रचण्डलाई दिउँसो सवा १ बजे बालुवाटार बोलाएका छन्।
अध्यादेश प्रकरणपछि नेकपा दुई चिरामा विभाजित भएको छ। ओलीसँग असन्तुष्ट नेकपाका नेताहरुले ओलीको अब फकाउने प्रस्ताव हैन राजीनामा आउनु पर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका छन्।
तर ओलीले भने सकेसम्म उनीहरुलाई मनाउने प्रयास जारी राखेका बेला प्रचण्डसँग उनको फेरि वार्ता हुन हुन लागेको हो।
सोमबार ओलीले पहिले नेता नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए भने पछि आफ्ना तर्फबाट नेपालको समूहसँग वार्ता गर्न ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र पार्टी महासचिव विष्णु पौडेललाई कोटेश्वर पठाएका थिए।
सोमबारनै प्रचण्ड र पार्टीका अर्का नेता झलनाथ खनालबीच खुमलटारमा बैठक भएको थियो।