
काठमाडौँ – सत्तारुढ नेकपाभित्रको असन्तुष्टिमा चुर्लुम्म डुबेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि पदबाट राजीनामा गर्न दबाब बढेपछि उनी थप रक्षात्मक बन्न पुगेका छन्।
लामो रस्साकस्सीपछि बुधबार बालुवाटारमा भएको नेकपाकाे केन्द्रीय सचिवालय बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलेरै ओलीलाई राजीनामा दिन दबाब दिएपछि उनी रक्षात्मक बन्न पुगेका हुन्।
ओलीले संविधान बाहिर गई नेकपाका नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर विवादबाट उम्कने प्रयास गरेका छन्।
प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेता गौतमलाई एक महिना अघि राष्ट्रियसभामा ल्याउन केन्द्रीय सचिवालय बैठकको निर्णय कार्यान्वयनलाई वेबास्ता गर्दै आएका ओलीले त्यस्तो प्रस्ताव राखेका हुन्।
आफ्नो राजीनामाको माग उठ्न थालेपछि गौतमलाई चुनाव लडाएर वा राष्ट्रियसभामा लगि संविधान संशोधन गरी प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले गरेका हुन्।
तर ओलीबाट पहिले नै धोका पाएका गौतमले ‘यदि साँच्चै यो प्रस्तावबारे इमान्दार हुनुहुन्छ भने यसलाई आजै पारित गरौं’ भनेपछि ओली चुप लागेका थिए।
नेकपाको एक स्रोतका अनुसार बैठकको शुरुमै ओलीबाट बोल्ने मौका पाएका प्रचण्डले ओलीमाथि एकता भाँड्ने प्रयास गरेको भन्दै ओलीको राजीनामा मागेपछि ओलीले त्यसको चर्को स्वरमा प्रतिवाद गरेका थिए।
स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले आज म सबैभन्दा पहिले तपाईँहरुका कुरा सुन्न चाहन्छु’ भन्दै बैठकको शुरुवात गर्नुभयो। लगतै अध्यक्ष प्रचण्डले ओलीमाथि केन्द्रीय कमिटीको बैठकपछि आफ्नो गुटको भेला गर्दै पूर्व एमालेलाई गोलबद्ध गरेर पार्टी फुटाउन खोजेको, अध्यादेश पनि पार्टीलाई लक्षित गरी ल्याएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सबै क्षेत्रका पद कब्जा गर्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।’

नेकपा सचिवालय बैठक।
साथै प्रचण्डले ओलीले तत्कालै राजीनामा दिन उपयुक्त हुने भन्दै यी सबै निर्णय गर्नका लागी स्थायी कमिटीको बैठक डाक्नु उपयुक्त हुने बताएका थिए।
प्रचण्डले त्यसो भनेलगतै ओली आक्रोशित हुँदै ‘मैले राजीनामा दिनु जग हँसाइ हो, म कुनै पनि हालतमा राजीनामा दिन्न’ भनेका थिए।
साथै ओलीले नेता नेपालले पनि मर्यादाको कुरा गरिरहेकाले नेपालसहित पार्टीमा तीन जना अध्यक्ष बनौं भन्ने प्रस्ताव गरेका थिए। यस्तै ओलीले हाल स्थायी कमिटीको बैठक आवश्यक नभएको अभिव्यक्ति समेत दिए।
त्यसपछि नेता नेपालले ओली जनतामाझ अलोकप्रिय भएको, सरकारसँगै ओलीको प्रतिष्ठा गुमेको, ओलीमा घमण्ड र अहंकार बढेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
नेता नेपालले लामो संघर्षपछि जुटाएको पार्टीलाई फुटाउने मनसायका साथ ओली अघि बढेको भन्दै तत्कालै ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए।
तर नेता गौतमले भने ओलीको प्रस्ताव अप्रत्यासित र सपना जस्तो लागेको र त्यो साँच्चै हो भने गम्भीरतापूर्वक आजै कार्यान्वयन गरौं भन्दै हौसिएका थिए।
अर्का वरिष्ठ नेता खनालले चेतावनी शैलीमा सचिवालय र स्थायी कमिटी बैठकले राजीनामा मागे त्यो ओलीले मान्नु पर्ने बताएका थिए।
खनालले पार्टीमा निम्तिएका सबै समस्या गम्भीर भएका र ती समस्याको समाधानका लागी स्थायी कमिटीको बैठक आवश्यक भएको निष्कर्ष सुनाएका थिए।
नेता नारायणकाजी श्रेष्ठले पार्टी गम्भीर परिस्थितिमा आइपुगेको, पार्टी एकताको रक्षा गर्नुपर्ने नेता र नेतृत्व विधि र पद्धतिमा चल्नु पर्ने, पार्टीले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। यसका लागि तत्कालै स्थायी कमिटीको बैठक राख्नुपर्ने र बैठकको सामूहिक मागलाई ओलीले सुन्नु पर्ने भन्दै घुमाउरो रुपमा उनको राजीनामा मागेका थिए।
ओलीको समर्थन गर्दै आएका नेता रामबहादुर थापा बादलले भने अहिले प्रधानमन्त्रीको राजीनामा माग्नु र नेता गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नु दुबै गलत भएको बताएका थिए।
महासचिव बिष्णु पौडेलले ओलीको प्रस्तावलाई स्वीकार गरेका थिए। उनले नेता नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव जायज भएको बताए। ओलीको प्रस्ताव ठिक भएको भन्दै नेता ईश्वर पोख्रेलले पनि ओलीको बचाउ गरेका थिए।
प्रचण्डलगायतको अभिब्यक्तिपछि ओलीले सत्ता बाँडफाँडको प्रस्ताव राखे पनि कसैले त्यसलाई गम्भीरता पूर्व नलिएको स्रोतले बतायो।
प्रधानमन्त्री ओली एकपछि अर्को पासा फ्याँक्न थालेको निचोडमा पुगेपछि उनीसँग असन्तुष्ट नेताहरु मौन बने । फेरि बैशाख २० गते सचिवालयको अर्को बैठक तोकेर नेताहरु बालुवाटारबाट विदा भएका छन्।