
काठमाडौँ- पार्टीलाई विभाजनबाट रोक्ने, विधि र पद्दतिमा आधारित नेतृत्वको कार्यशैली स्थापित गर्ने भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध शुरु भएको ‘विद्रोह’ पदरुपी बल्छीको गडयौँलामा लोभिएला या लोभिएला ?
लामो रस्साकस्सीपछि बुधबार राति सम्पन्न नेकपा केन्द्रीय सचिवालय बैठकमा ओलीबाट आएका दुई ‘अफर’सँगै खासगरी नेकपाको राजनीतिक वृत्तमा यो प्रश्न तेर्सिन पुगेको छ।
बैठकमा ओलीले नेता वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको पद दिने अफर गरेपछि ‘विद्रोह’को भविष्यबारे अड्कलबाजी पनि हुन थालेको हो।
ओलीले पार्टी र सरकारको छवि ध्वस्त बनाएको निष्कर्ष निकाल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले औपचारिकरुपमा ओलीको राजीनामा मागे।
तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु कोरोना संकटपछि प्रतिनिधिसभाको निर्वाचनमा पराजित गौतमलाई प्रधानमन्त्री बनाउने भन्दै गड्यौँला तेर्साएपछि नेकपाको राजनीतिले नयाँ मोड लिएको हो।
योसँगै ओलीविरुद्ध विद्रोहमा उत्रिएका नेताहरुमै एकअर्काबीच अविश्वास फेरि बढेको छ। गौतमको अतीतको ढुलमुले राजनीतिका कारण आशंका बढेको छ, कतै उनी ओलीको ‘अफर’ मा लुटपुटिने पो हुन् कि?
आफूविरुद्ध निर्मित प्रचण्ड–माधव–झलनाथ खनाल–श्रेष्ठको समीकरण टुटाउन ओलीले संविधानले निषेध गरेको र व्यवहारिकरुपमा असम्भव समेत ठानिएको प्रधानमन्त्री बनाउने प्रस्ताव गौतमसमक्ष गरेकाे बुझिन्छ।
बैठकमा खुलेरै ओलीको राजीनामा माग गरेका नेता खनालले बिहीबार भने, ‘पार्टी र सरकार नेतृत्वमा देखिएको एकलौटी कार्यशैली तोड्न हामीले निर्माण गरेको समीकरण भत्काउन प्रधानमन्त्री ओलीबाट यस्तो प्रस्ताव आएको हो। प्रधानमन्त्री ओलीले पहिले आफूले राजीनामा गरेर देखाउनुभयो भने त्यसपछि हामी कोहीकसैलाई पनि प्रधानमन्त्री मान्न र बनाउन तयार छौँ।’
चुनावमा पराजित भएपछि पटकपटक संसद प्रवेशको असफल प्रयास गरेका नेता गौतमको पदप्रतिको कमजोरी राम्ररी बुझेर नै ओलीले उनलाई कोरोना संकटपछि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका हुन्।
कोरोना संकटको अवधि तोक्ने अधिकार प्रधानमन्त्री ओलीसँगै छ र त्यो लम्बाएर अहिलेको राजनीति हुरीलाई पर धकल्ने चतुर रणनीतिमा ओली लागेको बुझ्न कठिन छैन।
चुनाव लडाएर वा राष्ट्रियसभा लगेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरेर भएपनि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले गरेका छन्।
तर ६ साताअघि केन्द्रीय सचिवालयले गौतमलाई राष्ट्रियसभामा लैजाने भन्दै एकै स्वरमा गरेको निर्णय अनुमोदनकालागि राष्ट्रपतिसमक्ष नपठाएका ओलीले गौतमको विश्वास गुमाएको देखिन्छ।
गौतमलाई बालुवाटार पुर्याउन विभाजित नेकपाभित्रबाट संविधान संशोधनका लागि दुई तिहाई समर्थन जुट्ने सम्भावना निकै कम छ। गौतमको लोभमा त्यो तगारो लाग्न सक्छ।
गौतम जति पदलोलुप छन्, त्यति नै राजनीतिक खेल र परिस्थिति बुझ्ने चतुर खेलाडी पनि। त्यसैले बुधबार ओलीको त्यस्तो प्रस्ताव आउनासाथ गौतमले प्रतिक्रिया दिए, ‘मैले सपनामा चिताएको थिइँन। मैले कल्पना नगरेको प्रस्ताव प्रधानमन्त्रीबाट आयो। साँच्चै हो भने आजदेखिनै छलफल गरौँ। र यो प्रस्ताव आजै पारित गरौँ।’
ओलीको अर्को उधारो आश्वासनप्रति आशंका अस्वाभाविक थिएन गौतमका लागि । तर, वैशाख ११ गते आफ्नै निवास भैँसेपाटीमा नेतृत्वको विकल्पको खोजीसहित ओलीको राजीनामा एकैस्वरमा माग्ने सहमतिबाट गौतम उम्किन खोजेको अर्थ ओलीविरुद्धको खेमाबाट उठ्न थालेको छ।
‘किन उनले ठाडै अस्विकार गरेनन् ओलीको प्रस्ताव? किन त्यसलाई पारित गराउनेमा जोड दिए?’ ओलीविरुद्धको खेमाका एक स्थायी कमिटी सदस्यले भने।
बुधबारको सचिवालय बैठकमा ओलीको अफर र गौतमको जवाफपछि भावी रणनीति र सहकार्यमा गौतम कहाँ र कसरी उभिएलान? त्यो नयाँ अध्यायरुपमा देखा परेको छ।
नेता खनालले भने, ‘तीन दिनपछि बोलाइएको सचिवालय बैठकमा हामी हाम्रा प्रस्ताव अझ बलियो बनाएर लैजान्छौँ र प्रधानमन्त्रीलाई स्थायी कमिटी बैठक बोलाउन बाध्य पाछौँ। अब कसले के प्रस्ताव गर्छ र स्वीकार्छ भन्नेले अर्थ राख्दैन।’ त्यसमा गौतमप्रति कटाक्षको अंश पनि झल्किन्थ्यो।
ओली तिनै हुन् जसले नेता गौतमलाई काठमाडौँ, पोखरा र डोल्पामध्ये एक ठाउँबाट उपचुनाव लड्नबाट बञ्चित गराए। साथै आफै उपस्थित सचिवालय बैठककाे गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयलाई पनि ओलीले रद्दीको टोकरीमा फयाँके।
गौतमलाई राष्ट्रियसभामा लैजाने योजना मुख्यरुपमा प्रचण्ड–नेपाल– खनाल–श्रेष्ठ समीकरणको थियो। तर ओली अहिले त्यो समीकरण तोड्न गौतमलाई प्रयोग गर्नमा उद्यत दखिन्छन्।
ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालय बैठकमा लग्नुअघि बुधबार दिउसो उनकी पत्नी एवं सांसद तुलसा थापालाई बालुवाटार बोलाएर करिव २ घण्टा छलफल गरेका थिए।
गौतमले ओलीको प्रस्तावबारे पत्नी तुलसामार्फत थाहा पाइसकेको र पूर्व तयारीका साथ प्रस्ताव पारित गर्न उनले सुझाएका थिए ओलीको बोली भूइँमा नपर्दै।
स्रोतले भन्यो, ‘यो समग्र प्रकरणमा गौतमले आफ्नो राजनीतिक विश्वसनीयता र भावी सम्भाव्यता कमजोर बनाएका छन्। भोलि उनी ओलीको पक्षमा उभिएलान् या विपक्षमा? आशंंका र अनुमान दुवै खेमामा बराबर छन्।’