
काठमाडौँ- सत्ताधारी नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव समस्या समाधानका लागि नभई आफूविरुद्धको मोर्चा तोड्न आएको निष्कर्ष आफूले निकालेको बताएका छन्।
नेता पन्तले प्रधानमन्त्री ओली राजनीतिको चलाख खेलाडी भएको र अहिले निकै चलाखीपूर्वक नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने र नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएको बताए।
बुधबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने र नेता गौतमलाई कोरोना संकटपछि चुनाव गराएर या राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव स्वीकार्न आग्रह गरेका थिए।
नेता पन्तले बिहीबार देशसञ्चारसँग भने, ‘यो प्रधानमन्त्री ओलीले आफूविरुद्धको मोर्चालाई भताभुङ्ग पार्न फालेको जाल मात्रै हो। लोभ देखाएर फालिएको जालमा अब शीर्ष नेताहरु फस्नुहुन्छ भन्नेमा मलाई विश्वास छैन।’
प्रधानमन्त्री ओलीको पार्टीको तेस्रो नेता बन्ने प्रस्ताव नेता नेपालले ठाउँका ठाउँ अस्वीकार गरेको र आगामी दिनमा पनि त्यस्तो प्रस्ताव नेपालले अस्वीकार गर्ने नेता पन्तको भनाइ छ।
पन्तले भने, ‘तेस्रो अध्यक्ष बन्ने भन्दै गरिएको प्रस्ताव आफूलाई खुइल्याउन ल्याइएकाले त्यो कहिल्यै स्वीकार्य नहुने भन्ने कुरामा नेता नेपाल स्पष्ट भइसक्नु भएको छ।
पन्तले नेता गौतमलाई गरिएको प्रस्ताव पनि ‘ललिपप’ मात्रै भएको र त्यो कहिल्यै कार्यान्वयन नहुने ठोकुवा गरे। उनले भने, ‘गौतमलाई प्रधानमन्त्री बनाउने भन्दै दुई/तीन वर्ष त्यतिकै कटाइदिने रणनीतिका साथ आएको प्रस्ताव हो। गौतमले पनि यो प्रस्तावबारे अध्ययन गरेर मात्रै स्वीकार्ने या अस्वीकार्ने भन्नेबारे निर्णय गर्नुहुन्छ होला।’
उनले थपे, ‘गौतमलाई प्रधानमन्त्री बनाउन पहिले उपनिर्वाचनका लागि क्षेत्र खोज्नु पर्यो। सम्बन्धित स्थानका प्रतिनिधिलाई राजीनामा गराउनु पर्यो। अहिले सबै क्षेत्रमा सरकारप्रति जनताको धारणा नकारात्मक छ। जनताले भोट दिने हुन् या हैनन्? त्यसो गर्दागर्दै अर्को निर्वाचन आउँछ खेलै खतम्।’
प्रधानमन्त्री ओलीबाट निहितस्वार्थ सिद्दिका लागि आएका यस्ता प्रस्तावहरु शीर्ष नेताहरुले स्वीकार गरे पार्टी झन संकटमा फस्ने नेता पन्तको भनाई छ।
सचिवालयमै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफ्नोविरुद्धमा उभिएका बहुमत संख्या रहेको स्थायी कमिटी बैठक पनि तत्कालै बोलाउन आवश्यक नभएको बुधबारको सचिवालय बैठकमा निष्कर्ष सुनाएका थिए।
नेता पन्त भन्छन्,‘ स्थायी कमिटी बैठक रोक्ने अधिकार प्रधानमन्त्री ओलीलाई छैन। आगामी २० गते हुने सचिवालय बैठकमा कुनै पनि हालतमा स्थायी कमिटी बैठक बोलाइनुपर्छ। यो पार्टी सामूहिक नेतृत्व प्रणालीमा चल्ने पार्टी हो। समस्याको निकास सचिवालयले हैन स्थायी कमिटीबाट हुनुपर्छ।’