
झापा- मुलुकमा जारी लकडाउनका बाबजुद विभिन्न बहानामा लागु पदार्थ कारोबारी पूर्वी नाका काँकरभिट्टा आए।
प्रहरीले सुक्ष्म निगरानी गरिरहेको अवस्थामा धेरै त्यस्ता लागु पदार्थ प्रयोगकर्ता तथा कारोबारी पक्राउ पनि परे।
कोही नक्कली चिकित्सक भएर आए। कोही बिरामी भएर हातमा नक्कली पट्टी बाँधेर आए। उनीहरु सीमावर्ती भारतीय बजारमा लागु पदार्थ खरिद गर्न आएका प्रहरीले जनाएको छ। त्यस्ता कारोबारी कोही धरानका, कोही काठमाडौं तथा कोही सिरहाका रहेको प्रहरीको भनाइ छ।
धेरैलाई कोरोना भाइरसका संभावित संक्रमित व्यक्ति राख्ने स्थान क्वारेन्टिनमा राखियो भने कतिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार काँकरभिट्टा क्षेत्रमा दिनहुँ त्यस्ता लागु पदार्थ सेवनकर्ता तथा कारोबारी फेला पर्न थालेका हुन्।
उनले भने, ‘कोही आफैं डाक्टर बनेर काठमाडौंदेखि गाडी लिएर आए। कोही बिरामी बनेर आए।’
नेपालमा लकडाउन शुरु भएयता ३२ जना त्यस्ता लागु पदार्थ कारोबारी पक्राउ गरेर क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार त्यस्ता लागु पदार्थ सेवनकर्ता तथा कारोबारीले प्रयोग गरेका दुईवटा हल्का सवारी साधन तथा १३ वटा मोटरसाइकल बरामद गरिएको छ।
लागु पदार्थ कारोबारीबाट ७ लाख ५१ हजार ८ सय ५० रुपैयाँ समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।
प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार त्यस्ता लागु पदार्थ प्रयोगकर्ता तथा कारोबारीलाई राख्नका लागि विशेष क्वारेन्टिन स्थल बनाइएको छ।
सीमा लगाइएका सीसीटिभी क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गर्न सहज भएको उनले बताए।
पोखरेलले भने, ‘सुरक्षाका सबै उपाय अप्नाइएकाले उनीहरुलाई नियन्त्रण गर्न सकिएको हो। उनीहरु कहाँ- कहाँबाट कस्ता मान्छेसंग संगत गरेर आएका हुन्छन् थाह हुँदैन। त्यसैले उनीहरुलाई सबभन्दा पहिला क्वारेन्टिनमा राखिएको हो।’