
काठमाडौँ – नेकपाभित्र चुलिएको शक्ति ‘युद्ध’ मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जित हात पारेको दाबी गरिए पनि उनले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने दबाब दिने रणनीति निर्माणमा नेताहरुको कसरत फेरि सुरु भएको छ।
पार्टी उच्च स्रोतका अनुसार दुई दिनअघिको सचिवालय बैठकको निर्णय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उनको समूहलाई चित्त बुझेको छैन।
प्रचण्ड–नेपाल–खनाल समूहका नेताहरु आगामी २५ गते बस्ने स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद त्याग्न दबाब दिने रणनीति निर्माणमा जुटेका छन्।
उक्त रणनीतिलाई केन्द्रमा राख्दै आइतबार नेता नेपाल निवास कोटेश्वर र प्रचण्ड निवास खुमलटारमा दिनभर छलफल भएको र त्यसले सोमबार पनि निरन्तरता पाइरहेको नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए।
आइतबार प्रचण्ड र नेपालबीच कोटेश्वरमा करिव दुई घण्टा लामो छलफल भएको थियो । छलफलका क्रममा प्रचण्डले आफू अहिले पनि ओलीसँग असन्तुष्ट रहेको नेपालसँगको समझदारी कायमै रहेको बताएका थिए।
ती सदस्यले देश सञ्चारसँग सोमबार भने,‘ कतै सिरक, डसना, तकिया र तन्ना छ, कतै केही पनि नभएको अवस्था छ। काम गर्ने मानिसलाई जिम्मेवारी बिहीन अवस्थामा राखेर यति ठूलो पार्टी सञ्चालन असम्भव छ। ओली एक पदबाट हट्नैपर्छ । त्यसमा हामी जतिसक्दो धेरैले दबाब दिने रणनीति बनाएका छौँ। छलफल जारी छ।’
ओलीले एक पद छोड्नै पर्ने दबाब वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनालसँगै नेता वामदेव गौतमले पनि दिएका थिए।
तर ओलीले आफूले राजीनामा नदिने अडान लिँदै आफूविरुद्धको समिकरण भत्काउन कोरोना संकटपछि गौतमलाई उपचुनाव लडाएर या राष्ट्रियसभामा मनोनयन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।
नेपालले ओलीको उक्त प्रस्ताव अस्वीकार गरेपनि गौतम ओलीविरुद्धको समिकरण तोड्दै ओलीतिर ढल्किएपछि सचिवालयमा ओलीको राजीनामा माग्नेको संख्या अल्पमतमा परेको थियो।
प्रचण्डसहित असन्तुष्ट नेताहरुले ओलीले कहिले राजीनामा दिने? गौतमलाई कसरी प्रधानमन्त्री बनाउने भन्नेबारे ‘माइन्यूट’ गर्न लगाउने तयारी गरेका बेला ओलीले आफ्नो पुरानो प्रस्तावलाई थन्काएर गौतमलाई उपयुक्त समयमा उपचुनाव गराएर प्रतिनिधिसभामा लैजाने नयाँ प्रस्ताव शनिबारको सचिवालय बैठकमा पारित गराउन सफल भएका छन्।
ओलीले सचिवालय बैठक अगावै गौतमलाई एक्लै भेटेर ‘तपाईँ मेरो पुरानो मित्र हो। अहिले मलाई साथ दिनुहोस्। भविष्यमा तपाईँ नै हो प्रधानमन्त्री । तपाईँलाई जसरी पनि प्रतिनिधिसभामा लैजान्छु’ भन्दै मनाउने प्रयास गरेका थिए।
यता खुलेरै आफ्नो राजीनामा मागिरेहका प्रचण्डलाई पनि बैठक अघि एक्लै भेटेर तत्काल आफ्नो राजीनामा नमाग्न बरु गत मंसिर ४ गते भएको सहमतिअनुसार पार्टी सञ्चालनको कार्यकारी अधिकार पूर्णरुपमा प्रयोग गर्न दिने र त्यसमा आइन्दा आफूले हस्तक्षप नगर्ने प्रतिवद्धता जनाएर मनाउन ओली सफल भएको बुझिएको छ।
यता ओली र प्रचण्डलाई मिलाउन चीनले भूमिका खेलेको आशंका पनि कायमै छ।
अघिल्लो सचिवालय बैठक जस्तो शनिबारको बैठकमा ओलीप्रति आक्रोश व्यक्त नगरेका प्रचण्डले उनको राजीनामाको कुरा उठाएनन्। बरु मिलेर अघि बढ्ने र सामूहिक आत्मालोचना गर्ने प्रस्ताव अघि सार्दै प्रचण्ड निरिह देखिएका थिए। त्यसबाट ओली र दाहालबीच कुनै सहमति भएको हुनसक्ने आशंका नेपाल पक्षले गरिरहेका बेला नेपाल पक्षका ती नेताले भने प्रचण्ड अहिले पनि ओलीसँग असन्तुष्ट रहेको र प्रचण्ड –नेपालको एकता कायमै रहेको दाबी गरे।
उनले भने ,‘सचिवालय बैठकको निर्णय केटाकेटी आए गुलेली खेलाए, गए भने जस्तै भएको छ। आफूविरुद्धको समिकरण भत्काउन ओलीले चाल मात्रै चालेका हुन्। सचिवालका कुनै पनि निर्णय मूर्त छैनन्। पार्टी र सरकारलाई सच्याउने तहका छैनन् भन्नेमा हाम्रो समीक्षा भइसकेको छ। यही अवस्था सरकार र पार्टी सञ्चालन हुन सक्दैन ।’
स्थायी कमिटी सदस्य नभए पनि त्यसका सदस्यहरुसँग सल्लाह गरिरहेका नेकपा केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले शनिबारको सचिवालय बैठकमा ओलीलगायत नेताहरुले गरेको आत्मालोचनालाई ‘चल्ला नकोरल्ने बतासे अण्डा’ का रुपमा लिएको बताए।
उनले भने, ‘बतासे अण्डाबाट चल्ला जन्मिदैन। हावादारीरुपमा बाहिर मिलेको देखाउन आत्मालोचना भनेर केही हुन्न। ओलीको आत्मालोचनाको अण्डा अहिले पनि रहष्यमा छ। त्यसको छिनोफानो स्थायी कमिटी बैठकमा हुन्छ।’
खतिवडाले ओलीले सचिवालय बैठकमा गरेको प्रस्तावबाटै स्थायी कमिटी बैठकमा छलफल हुनु पर्ने माग अधिकांश सदस्यहरुले माग्ने तयारी गरेको समेत बताए। शनिबारको सचिवालय बैठकमा ओलीले प्रचण्डलाई स्थायी कमिटी बैठकमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्न र गाइडलाइन तयार पार्ने जिम्मेवारी दिएका थिए।