
शिक्षण सिकाइ क्रियाकलाप कति उपलब्धिमूलक रह्यो ? शिक्षण विधि, पाठ्यक्रम वा विद्यार्थीको स्तरको सिकाइमा के कस्तो भूमिका रह्यो भन्ने कुराको मूल्याङ्कनका रूपमा परीक्षालाई लिने गरिन्छ । वार्षिक परीक्षाले तह पार गर्ने वा नगर्ने निर्णायक भूमिकामा बढी जोड दिने भएकाले आजकल निर्माणात्मक परीक्षालाई महत्त्व दिन थालिएको छ ।
वास्तवमा सैद्धान्तिक र अव्यवहारिक वार्षिक परीक्षा प्रणालीले विद्यार्थीको सिकाइ उपलब्धिभन्दा घोकाइ क्षमतालाई जोड दिने भएकाले संसारभरका शिक्षाविद् व्यावहारिक र निरन्तर मूल्याङ्कन पद्धतिलाई अनुसरण गर्नुपर्ने तर्क राख्दछन् । हालसम्म निश्चित तहमा भने उपलब्धिको मापक वार्षिक परीक्षा प्रणाली नै रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको क्याम्ब्रिज इन्टरनेसनलले सञ्चालन गर्ने परीक्षामा विश्वका १६० देशका १० हजार स्कुलका विद्यार्थी सहभागी हुन्छन् भने आइबीओले सञ्चालन गर्ने परीक्षामा विश्वभरबाट यसपटक दुई लाख विद्यार्थी सहभागी छन् । कोभिड १९ ले संसारलाई नै थला पारेको वर्तमान परिस्थितिमा सहजरूपमा परीक्षा सञ्चालन हुने अवस्था छैन ।
धेरै देशका विद्यालयहरू अनिश्चित कालका लागि बन्द भएका छन् राष्ट्रिय स्तरका परीक्षा सञ्चालन गर्नसमेत कठिनाइ भएको छ । यसैले युएस कलेज बोर्डले युएस स्याट र युनिभर्सिटी प्लेसमेन्ट परीक्षा स्थगित गरेको छ भने इन्डोनेसिया सरकारले यस वर्षको राष्ट्रिय परीक्षा नलिने निर्णय गरेको छ । यस विषम परिस्थितिमा विद्यार्थीको मूल्याङ्कन गरी नतिजा प्रकाशन गर्नु विद्यालय, राष्ट्र र अन्तर्राष्ट्रिय बोर्ड सबैका लागि चुनैती बनेको छ तर विश्वका प्रमुख बोर्डहरूले यस असामान्य परिस्थितिमा विद्यार्थीको शैक्षिक वर्षमा क्षति नपुग्ने गरी मूल्याङ्कन गर्ने र नियमित समयमै नतिजा प्रकाशित गर्ने योजना बनाइसकेका छन् ।
क्याम्ब्रिजले परीक्षा नगर्ने तर रिजल्ट दिने !
विश्वका १६० देशका विद्यार्थीको परीक्षा लिँदै आएको क्याम्ब्रिज इन्टरनेसनलले यस पटकको जिसिएसई र ए लेभल परीक्षा नलिने निर्णय गरेको छ । सुरूमा बेलायतमा मात्र परीक्षा नहुने भनेको क्याम्ब्रिजले गत मार्च २६ मा यस सेसनको परीक्षा संसारभर नै नगर्ने निर्णय गरिसकेको छ तर परीक्षा सञ्चालन नभए पनि विद्यार्थीको मूल्याङ्कन र नतिजा प्रकाशन भने हुनेछ ।
यसका लागि क्याम्ब्रिजले अप्रिल १ मा गाइडलाइन प्रकाशित गरी क्याम्ब्रिज कोर्स पढाइरहेका स्कुलहरूलाई जिम्मेवार बनाउन खोजेको छ । क्याम्ब्रिज गाइडलाइनअनुसार विद्यालयले सञ्चालन गरेका आन्तरिक परीक्षा, गृहकार्य/परियोजना कार्य, अघिल्लो तहको नतिजा र सोही तहमा यसभन्दा अगाडि प्राप्त गरेको ग्रेडका आधारमा अन्तिम ग्रेड निर्धारण गरिने छ ।
सोही ग्रेड नै ए लेभल वा १२ कक्षाको अन्तिम नतिजा हुनेछ । विद्यालयले उपर्युक्त आधारमा मूल्याङ्कन गरी सिफारिस गरेको ग्रेडका आधारमा क्याम्ब्रिजले सर्टिफिकेट दिनेछ भने सोही नतिजाका आधारमा विद्यार्थीले उच्च शिक्षाका लागि विश्वविद्यालयमा आवेदन गर्न पाउनेछन् ।
आइबीओले रिजल्ट मात्र गर्ने
स्विट्जरल्यान्डको अन्तर्राष्ट्रिय परीक्षा बोर्ड इन्टरनेसनल ब्याक्यालुरेट अर्गनाइजेसनले विश्वभर आइबी कोर्स अन्तर्गत डिपी र सिपी तहका परीक्षा सञ्चालन गर्दै आएको छ । यस पटकको परीक्षाका लागि यस बोर्डमा दुई लाख विद्यार्थीले फाराम भरेका छन् । यस बोर्डले पनि ३० अप्रिलबाट सुरू हुने गरी पूर्वनिर्धारित आफ्ना सम्पूर्ण परीक्षा कार्यक्रम रद्द गरी विद्यार्थीले विगतमा गरेका कोर्सवोर्क, गृहकार्य/परियोजन कार्य र अन्य प्रमाणका आधारमा विद्यार्थीलाई ग्रेड प्रदान गर्ने निर्णय गरेको छ ।
आइबीओले प्रकाशित गरेको गाइडलाइन अनुसार रिजल्ट प्रकाशित गर्दा पहिलेका परीक्षाका डाटा, हरेक विद्यालयको विगत केही वर्षको नतिजा, हरेक विषयको विगतको नतिजा तथा विद्यालयहरूका बीचको विगतको नतिजाको तुलनात्मक विश्लेषण गरिनेछ । यसरी समग्र आधारको विश्लेषणपश्चात् आगामी जुलाई ५ तारिखमा अन्तिम नतिजा प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।
सिबिएसई अझै दोधारमा
भारतको केन्द्रीय परीक्षा बोर्ड सिबिएस्ई अन्तर्गत कक्षा १० र १२ का कार्यक्रम २५ देशमा सञ्चालित छन् । गत बुधबार युनियन ह्युमन रिसोर्स डेभलपमेन्ट डिपार्टमेन्ट मिनिस्टर रमेश पोख्रियाल ‘निशाङ्क’ले भारतबाहिर १० र १२ कक्षाका कुनै पनि परीक्षा सञ्चालन नगर्ने घोषणा गरे भने भारतमा पनि विश्वविद्यालय प्रवेशका लागि चाहिने मुख्य विषयका मात्र परीक्षा सञ्चालन गरिने जानकारी गराए ।
भारतबाहिरका विद्यार्थीको मूल्याङ्कन क्याम्ब्रिज र आइबीले जस्तै गरी गर्ने योजना बनाएको सिबिएसईले देशभित्र केही समयपछि सहज वातावरण बन्न सक्ने आँकलनअनुसार ढिलै भए पनि परीक्षा सञ्चालन गर्ने योजना गरेको छ ।
सिबिएस्ई अन्तर्गतकै १० कक्षाभन्दा तलका विद्यार्थीहरू भने परीक्षा नै नदिई माथिल्लो कक्षामा स्वतः जाने व्यवस्था गरिएको छ । अहिले नै स्थगन नगरे पनि महामारीको एकदुई हप्ताको अवस्थाको मूल्याङ्कनपछि केन्द्रीय परीक्षा बोर्डले नयाँ व्यवस्था गर्न सक्ने अनुमान गरिएको छ ।
एसइई के होला ?
चैत ६ गतेबाट सुरू हुने गरी तय गरिएको एसइई परीक्षा अन्तिम घण्टामा आएर अनिश्चित कालका लागि स्थगित गरिएको छ जसका कारण करिब ४लाख ८० हजार विद्यार्थी कोरोना एन्जाइटी र परीक्षा एन्जाइटीबाट एकैसाथ पीडित बनेका छन् । देशमा सङ्क्रमणको दर विकराल नबनिसकेकाले जेठ वा सोही आसपासमा परीक्षा सञ्चालन गर्न सकिने मानसिकतामा सरकार रहेको देखिन्छ ।
हाल लकडाउन कायम रहेको र कोभिड १९को वास्तविक असर कस्तो रहने भन्ने आँकलन गर्न नसक्दा एसइईको अन्योल अन्योलमै सीमित छ । खुला विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा गठित समितिले सरोकारवालाहरूसँग गरेको छलफलमा पनि एउटै किसिमको विचार आउन सकेको देखिन्न । मन्त्रालय परीक्षाको विकल्प नियमित ग्रेडिङ हुन सक्दछ भन्नेमा विश्वस्त नहुँदा र एसइईलाई अझै पनि माध्यमिक शिक्षाको अन्तिम परीक्षा हो भन्ने भ्रममा पर्दा सहज निकासको ढोका खुल्न सकेको छैन ।
सम्भावना के छ ?
एसइई पहिलाको एसएलसीजस्तो नरहेको र एसएलसी १२ कक्षामा स्थानान्तरण भएकाले एसइईको हाउगुजी हटाएर सामान्यीकरण गर्नुपर्ने शिक्षाविद्हरूको धारणा रहेको छ भने कुनै न कुुनै रूपमा मूल्याङ्कन गर्नै पर्ने भएकाले र मूल्याङ्कनको विश्वसनीय अन्य आधार नदेखिएकाले सरकार पनि परीक्षाको विकल्प अघि सार्न नसकेको अवस्थामा छ ।
अन्तिम समयमा हडबडाउनुभन्दा सम्भावित कार्यक्रमको विभिन्न दृष्टिकोणबाट विश्लेषण गरी योजना गर्नु बुद्धिमानी हुने भएकाले समयमै उपयुक्त विकल्प चयनका लागि मन्त्रालयले छलफल अघि बढाउनुपर्दछ ।
गृह केन्द्रमा परीक्षा सञ्चालन गर्ने माग प्याब्सन लगायतका संस्थाले गरिरहँदा मन्त्रालय परीक्षाको विश्वसनीयतामा ढुक्क हुन नसकेर गृह केन्द्रका पक्षमा भन्दा पायक पर्ने स्कुलहरूलाई थप केन्द्र तोक्न सूचना प्रकाशित गरिरहेको छ । पूर्व निर्धारित परीक्षाका सन्दर्भमा पनि अघिल्लो दिनको अपराह्नसम्म परीक्षा गराएरै छाड्ने अड्डी कसेको मन्त्रालय उच्च स्तरीय समितिको निर्णयपछि मात्र पछि हटेको थियो ।
लकडाउन सुरू भएपछि पनि लकडाउन खुल्नासाथ परीक्षा सञ्चालन हुने भएकाले तयारी अवस्थामा बस्न शिक्षामन्त्रीले गरेको आह्वान क्षणभर मात्र पनि टिक्न सकेन । परीक्षा बोर्डको एघार बाह्र कक्षाको परीक्षासँगै एसइई सञ्चालन गर्ने सूचना प्रकाशित भएको एकदुई दिन हुन नपाउँदै एघार बाह्रको परीक्षा अनिश्चित कालका लागि स्थगित भएको सूचना प्रकाशमा आयो ।
त्यसो त त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठ महिनामा हुने तय गरिएका सबै परीक्षाहरू अनिश्चित कालका लागि स्थगित गरिसकेको छ । नेपालमा कोभिड १९को सङ्क्रमण तीव्ररूपमा नबढे पनि भारतमा दिनानुदिन बढ्दै जाँदा र नेपालमा पनि लकडाउनको अवधि थपिँदै जाँदा विद्यालय कहिले खुल्ने भन्ने अनिश्चितता बढ्दै गएको छ । जनजीवन सामान्य अवस्थामा आएपछि र सङ्क्रमणको मनोवैज्ञानिक त्रास नहटीकन स्कुल तथा परीक्षा सञ्चालन गर्न सम्भव छैन ।
आगामी दिनमा सङ्क्रमण सामान्यीकरण नभए क्याम्ब्रिज र आइबिओले विकास गरेका आधारमा टेकेर परीक्षाबिना नै रिजल्ट गर्ने विकल्प नै उपयुक्त हुन सक्ने देखिन्छ । त्यसो त सम्बन्धित स्कुललाई आफ्ना विद्यार्थीलाई प्रयोगात्मक विषयको अङ्क दिने व्यवस्था गर्दा अपारदर्शी र अवैज्ञानिक ढङ्गले अङ्क दिएर नतिजाको विश्वसनीयतामा नै प्रश्न उठिसकेको अवस्थामा पुरै मूल्याङ्कन स्कुललाई गर्न दिन त्यति सहज भने छैैन । सबै विद्यालय इमानदार र जिम्मेवार हुने हो भने कक्षा ९ देखिका परिणाम तथा दस कक्षाका आन्तरिक परीक्षाका नतिजा एवम् स्कुलको विगत ३ वा ५ वर्षको नतिजा विश्लेषण गरेर आइवीओले जस्तो ग्रेडिङ गर्न सके फरक परिवेशमा राम्रो अभ्यास बन्न सक्ने पनि देखिन्छ ।
जे होस् विश्वका स्तरीय बोर्डका अभ्यासलाई अनुसरण गरी विद्यार्थीमाथि अन्याय नहुने किसिमले एसइईको ग्रेडिङ गरिनु समयको माग हो ।
अन्तिम समयमा हडबडाउनुभन्दा सम्भावित कार्यक्रमको विभिन्न दृष्टिकोणबाट विश्लेषण गरी योजना गर्नु बुद्धिमानी हुने भएकाले समयमै उपयुक्त विकल्प चयनका लागि मन्त्रालयले छलफल अघि बढाउनुपर्दछ ।
अन्तर्राष्ट्रिय बोर्ड परीक्षा त आन्तरिक मूल्याङ्कनका आधारमा सञ्चालन गर्न सकिने अवस्थामा दसौँ कक्षाको परीक्षा उपुक्त र वैज्ञानिक कार्यविधि निर्माण गरेर सम्पन्न गर्न नसकिने भन्ने हुँदैन । एकडेढ महिनाको अन्तरालमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था रहेमा परीक्षालाई नै प्राथमिकता दिन सकिन्थ्यो तर अहिलेको अवस्था त्यस्तो देखिन्न ।
अन्तिम परीक्षा नै सबै हो भन्ने भ्रम पालेर अनावश्यक जोखिम लिने तथा महामारीका कारण तनावमा रहेका विद्यार्थीलाई लामो समयसम्म बन्दी बनाउने काम भने गर्नुहुँदैन । सही वैकल्पिक विधि अँगालेर समयमै मूल्याङ्न गरी नतिजा प्रकाशित गर्दा आगामी शैक्षिक सत्रलाई नियमित समयमा सञ्चालन गर्न सकिएला तर अन्य बेलाको नतिजा प्रकाशित हुने अवधिसम्म परीक्षा गराउने जोखना हेर्दै बस्ने हो भने माध्यमिक शिक्षाको सत्र पनि त्रिविको जस्तै अस्तव्यस्त बन्ने प्रबल सम्भावना छ ।
परीक्षा सञ्चालनलाई कसैको इगोका रूपमा नलिई असामान्य अवस्थाको समायोजनअन्तर्गत सहजतापूर्वक गाँठो फुकाउनेतर्फ सरोकारवालाहरू अग्रसर हुनै पर्दछ । अक्सब्रिज युनिभर्सिटीले गत हप्ता इतिहासमै पहिलो पटक सफलतापूर्वक मेडिकल विद्यार्थीको अनलाइन परीक्षा सञ्चालन गर्यो। हामी प्रविधिको त्यस स्तरसम्म पुगिनसकेकाले त्यसो गर्न पनि सम्भव छैन तर समयसान्दर्भिक विधि तय गरी असामान्य अवस्थामा विद्यार्थीलाई विचलित हुनबाट रोक्न भने तयार हुनै पर्दछ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुन्।)