
काठमाडौँ- नेपाल-भारत सीमा विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्।
बुधबार बैठक चार बजेका लागि डाकिएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि निम्ता गरिएको छ। बैठकमासीमा समस्यासँगै कोरोना भाइरसले उत्पन्न गराएको संकट र त्यसको समाधानबारे पनि छलफल हुने बुझिएको छ।
गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएका थिए।
बैठकमा सामेल दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए।
पाँच दिन अघि भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयलाई लिएर तिब्र बिरोध भइरहेका बेला ओलीले त्यसबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बोलाएका हुन्।
परराष्ट्र मन्त्रालयले सोमबार उक्त भूमि नेपालको भएको भन्दै सडक निर्माण कार्य तत्कालै स्थगित गरी वार्तालाई निरन्तरता दिन नेपालस्थित भारतीय राजदूत विजयमोहन क्वात्रालाई भेट गरी क्वात्रामार्फत भारतलाई कुटनीतिक ‘नोट’ पठाएका थिए।
जबाफमा क्वात्राले भने भारतीय विदेश मन्त्रालयले आफ्नै क्षेत्रमा सडक निर्माण गरेको दाबीसहित जारी गरेको प्रेस विज्ञप्ती परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको हातमा थमाएका थिए।