
काठमाडौँ- कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै जाँदा संक्रमित र त्यसबाट शंकास्पद व्यक्तिहरुप्रतिको सामाजिक एवं पारिवारिक उपेक्षाको ग्राफ उक्लिँदै गएको छ।
डेरावालाहरु मात्रै होइन, शिक्षित परिवारका सदस्यहरु पनि कोरोना भाइरसको आशंकामा गरिने व्यवहारबाट तनावग्रस्त बन्न थालेका छन्। कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि ‘फ्रन्ट लाइन’मा सेवारत खासगरी अस्पतालमा अहोरात्र खटिएका नर्स, चिकित्सक र सहयोगी कर्मचारीप्रतिको दृष्टिकोण जटिल बन्न थालेको हो।
उनीहरुलाई डेरामामात्रै निषेध होइन, आफ्नै घरमा समेत बास पाउन मुस्किल परेको छ। हाल कोरोना भाइरसको परीक्षणका लागि ‘स्वाब’ लिइरहेका अस्पतालहरुको परिदृष्यलाई नियाल्ने हो भने यस्ता धेरै उदाहरण भेटिन्छन्।
तर केहीले साहस पनि प्रर्दशन गरेका छन् जसले कोरोना भाइरसको आशंकामा तिरस्कृत र भयभीत भएकाहरुलाई सहारा दिन थालेका छन्, हौसला थपेका छन्।
साहसिक नर्स र सचेत यी संक्रमित
ललितपुरको पुल्चोकस्थित आरोग्य फाउण्डेसनकाे प्रशासनमा काम गर्ने आफ्नो मिल्ने साथीलाई कोरोना भाइरसको संक्रमण होला भन्ने अनुमान सायदै गरेकी थिइन्, नर्स प्रजिना रेग्मीले। प्रजिनाले जस्तो बिरामीसँग सिँधै सम्पर्कमा रहेर काम गर्न उनको साथीलाई परेको थिएन।
लकडाउन घोषणासँगै कामको लोड कम हुन थालेपछि बिदा लिएर आफ्नो जन्मथलो सुनसरीको झुम्का पुगेकी प्रजिनाकी साथीले लकडाउन खुकुलो भएपछि काठमाडौँका लागि यात्रा तय गरिन्, यही आइतबार।
झुम्कामा घरपरिवार र आफन्तसँग भेटेघाट गरेकी उनी मोटरसाइकलमा आएकी थिइन्। तर तीव्र गतिमा कोरोना भाइरस संक्रमण फैलिरहेको क्षेत्रबाट आउनेहरुमाथि अर्को ठाउँमा शंका गरिनु नौलो भएन।
त्यसबारे सचेत प्रजिनाको साथीले सबैभन्दा पहिले उनलाई नै फोन गरिन्। उनले भनिन्, ‘लक्षण त केही छैन तर पनि तराईबाट आएकोले कोरोना भाइरसको परीक्षणका लागि टेकु पुगेर ‘स्वाब’ दिन्छु र तिम्रो कोठामा आउँछु।’ अस्पताल पुगेर परीक्षणका क्रममा प्रजिनाको साथीमा मनमा कुरा खेल्यो, ‘कि आफ्नै कोठामा जाऔँ?’

प्रजिना रेग्मी
कोरोना भाइरसको आशंकामा घरबेटीले डेरावालालाई निकालेको, प्रवेशमा निषेध गरेको, तिरस्कार गरेको सुनेकी उनले डेरामा जाने दुस्साहस गर्न सकिनन्। प्रजिना आफू कार्यरत अस्पताल नजिकै बस्छिन्। उनको साथीको डेरा भने दुवाकोट मोडमा छ।
तर पनि टेकुबाट प्रजिनाको सहारा लिन पुगिन् उनी। उनलाई घरबेटीले बस्न नदिएपछि साथीको शरणमा उनी पुगेको समाचारहरु आएका छन्। तर उनले प्रजिनालाई केही बताएकी थिइनन्, सायद त्रास बढ्दै थियो उनमा।
प्रजिनाका अनुसार आफ्नो डेरामा आउँदा उनी निकै हतासमा देखिन्थन्। डरले काँपिरहेकी उनलाई प्रजिनाले आफ्नो ज्यान समेत जोखिममा मोलेर बास मात्रै दिइनन्, राति अबेरसम्म सम्झाइरहिन्।
प्रजिनाको मन पनि चिसो नभएको होइन। तर उनले सम्झिन्, ‘दुःख पर्दा साथ नदिए के साथी? समय बित्दै जाँदा प्रजिनाको साथीमा डर बढ्दै गएको गयो। ‘सुस्तरी बोल। कसैले सुन्लान्।’ प्रजिनाको साथीले भन्थिन्। प्रजिनाको घरबेटीले पनि साथ दिने वातावरण थिएन।
प्रजिनाको भोलिपल्ट ‘ड्युटी’ नभएकाले साथीसँगै समय बिताइन्। तर बुधबार राति करिब १० बजेतिर रिपोर्ट ‘पोजेटिभ’ आएको भन्दै टेकुबाट प्रजिनाको साथीलाई फोन गयो। फोनसँगै आत्तिएकी आफ्नी साथीलाई फेरि पनि सुम्सुमाइन्।
आरोग्य फाउन्डेशन र निदान अस्पतालमा खैलाबैला

आरोग्य फाउन्डेसन।
लगत्तै उनको साथी कार्यरत आरोग्य फाउण्डेसनमा फोन गरिन्। घटनाबारे थाहा पाउनासाथ फाउण्डेशन मात्रै होइन, सँगै रहेको निदान अस्पतालमा खैलाबैला मच्चियो।
त्यहाँ कार्यरत कर्मचारी, नर्स, चिकित्सक मात्रै होइन, उपचारार्थ बिरामी पनि आत्तिए। तर तत्कालै कर्मचारीसहित एम्बुलेन्स भक्तपुर पुग्यो। पिपिईसहित एम्बुलेन्समा पुगेका कर्मचारीले आफ्नो साथीलाई टेकु लगेसँगै प्रजिनाले आफ्नो बारेमा सोच्न थालिन्, पसिना आयो उनकाे शरीरमा। तर उनी संयमित भइन्।
‘साथीलाई टेकु लगियो। मलाई पनि जाऔँ भनिएको थियो तर मैले अफिसमा सल्लाह गरेर मात्रै आउँछु भने। हल्का डराएँ,’ प्रजिनाले भनिन्।
मानवअंग प्रत्यारोपण केन्द्र तनावमा
प्रजिनाले तत्कालै आफू कार्यरत मानवअंग प्रत्यारोपण केन्द्रमा घटनाबारे जानकारी दिइन्। डेरामा एक्लै भएकाले त्यो रात उनलाई सुरक्षित बस्न अस्पतालले आग्रह गर्याे।
बिहान सबैरै अस्पतालबाट कर्मचारीले एम्बुलेन्स ल्याएर उनलाई भक्तपुर अस्पताल पुर्याए। डेरामै ‘आइसोलेसन वार्ड’ मा बस्न असम्भव भएपछि उनलाई अस्पताल पुर्याइएको बुझ्न कठिन थिएन।
तर सँगै जोडिएको अस्पतालको ‘आइसोलेसन’ प्रजिना भर्ना भएको थाहा पाउन साथ मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सक, नर्स, सहयोगी र सुरक्षाकर्मीमा तनाव थपियो। अस्पतालमा सुरक्षा व्यवस्था कडा पारियो।
यता प्रजिनाको साथी कार्यरत आरोग्य फाउण्डेसनसँगै निदान अस्पताल पनि सिल गरेर त्यहाँ उपचारार्थ सबै बिरामीलाई केन्द्रमा ल्याइयो, अन्य अस्पतालले लिन मानेनन्।
उता केन्द्रका चिकित्सक, नर्स र कर्मचारी अनेक दबाबमा परे। आफ्नै सहकर्मी कोरोना भाइरसको आशंकामा अस्पतालको ‘आइसोलेसन वार्ड’ मा भर्ना हुँदा, संक्रमित पुष्टि भएको अस्पतालबाट धमाधम बिरामी आउँदा र आफ्ना परिवारका सदस्यमा भय उत्पन्न हुँदा उनीहरु दबाबमा परेका थिए।
तर उनीहरुले सेवा दिन छोड्नन्। आफ्नो साथीलाई भेटेको दिनबाट प्रजिना ‘ड्युटी’मा गएकी थिइनन्। ‘यति डर भयो कि परिवारका सदस्यले घरमै नआउन भने। म ‘ड्युटी’मा गएँ, घर गइन। यस्तो बेला सद्भाव हैन तिरस्कार पाइने रहेछ,’ केन्द्रमा कार्यरत एक नर्सले भनिन्।
भक्तपुर अस्पताललाई पनि पिरलो
बुधबार नै कोरोना भाइरसको संक्रमण परीक्षणका लागि भक्तपुर अस्पतालले प्रजिनाको ‘स्वाब’ संकलन गरी टेकु पठाइएको थियो। रिपोर्टको प्रतीक्षामा रहँदा प्रजिनामा कौतुहल बढ्नु स्वाभाविक थियो।
तर उनले साहस प्रदर्शन गर्दै बिहीबार बिहान भनिन्, ‘मेरो साथीलाई साथ दिनु मेरो कर्तव्य थियो। प्रतिकूल अवस्था बिरामी, साथी या जोसकैलाई पनि साथ दिनु मानवीय धर्म हो। त्यसैले उहाँलाई घरमा बोलाएको थिएँ। मेरो पनि रिपोर्ट ‘पोजेटिभ’ आयो भने म डराउने छैन। जे हुन्छ त्यसको सामना गर्न तयार छु।’
उनको रिपोर्ट नआउञ्जेल भक्तपुर अस्पतालका सदस्यहरु पनि तनावमुक्त भइसकेका थिएनन्। तर बिहीबार दिउँसो उनको रिपोर्ट ‘नेगेटिभ’ आएको खबरसँगै आरोग्य फाउण्डेसन, निदान अस्पताल, भक्तपुरका दुई घरबेटी, मानवअंग प्रत्यारोपण केन्द्रदेखि उनी उपचारार्थ भक्तपुर अस्पताल तनावमुक्त भएको छन् हाललाई ।
तर उपत्यका नै त्रासमा
तर यो घटनासँगै भक्तपुरसँगै उपत्यकामा लकडाउन कडा पारिएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले वैशाख ३१ गतेदेखि आफ्नो क्षेत्रभित्र पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक बाहेकका अन्य मार्ग तथा बाटोहरुमा सार्वजनिक आवागमन पूर्णरुपले निषेध गर्ने, नगरक्षेत्रभित्र आफ्नो घर वा भाडामा बस्ने व्यक्तिहरु उपत्यका बाहिर गएको भए फर्की आउन नदिने र आएका भए परीक्षण नगरी प्रवेश गर्न नदिने निर्णय गरेको छ।
निर्णय उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने उसको चेतावनी छ। नगर प्रमुख मदन सुन्दर श्रेष्ठले भने, ‘एक महिला र अर्का एक पुरुषमा संक्रमण देखिसकेकाले सुरक्षा व्यवस्था कडा पार्नुको विकल्प छैन।’
यता टेकु अस्पतालले भने प्रजिनाकी साथी स्वस्थ रहेको बताइएको छ। तर उनीसँग एउटा सानो कोठामा २४ घण्टाभन्दा धेरै समय बिताएकी प्रजिनालाई कोरोना भाइरस संक्रमण नफैलिनुको कारण भने अनुसन्धानकै विषय रहेको चिकित्सकहरु बताउँछन्।