
काठमाडौँ – अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउनका लागि सोमबार विमान चीन जाने तयारी भएको कोरोना भाइरसविरुद्धको अभियानका लागि आवश्यक पर्ने सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।
जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको हो । सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जान लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे। तस्बिरः बर्षा शाह।
विमान सोमबार बेलुका पौने ८ बजे चीन तर्फ जाने छ । चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन् ।
विमानले मंगलबार बिहान ६ बजे सामान लिएर आउने छ । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।