
आजभोलि म धेरै सोच्न थालेको छु
मनमनै धेरै कुरा गम्न थालेको छु
दिनचर्या एउटै छ त्यसैले दिनमै बरबराउन थालेको छु ।
मृत्यु प्रकृतिको नियम नै हो,
मृत्युसँग भन्दा जीवनका पाइला अनि भोगाइसँग डराउन थालेको छु ।
धेरै जिम्मेवारी काँधमा थपिँदै छन्,
सम्हालन सक्दिन कि भनी भित्रभित्रै भक्कानिन थालेको छु ।
वर्षौँदेखि अनुशरण गर्दै आएको संस्कार र परम्परादेखि भाग्न थालेको छु ।
समाजले कुन उपमा र संज्ञा देला–
बौलाहा, जोगी, ढोंगी सबै सहर्ष स्वीकार्न थालेको छु ।
हिजोका सबै लोभ, क्रोध मोहलाई
पैतालाले कुल्ची सादा सरल जीवनमा रम्न थालेको छु ।
आफन्त हितैषी शुभचिन्तकसँग भन्दा एकान्तमा सुरक्षित ठान्न थालेको छु ।
आजभोलि म धेरै सोच्न थालेको छु
मनमनै धेरै कुरा गम्न थालेको छु ।।