
काठमाडौं- कोरियन एयरको फ्लाइट सोमबार त्रिभुवन विमानस्थलबाट दक्षिण कोरियाको सोल उड्दा त्यसमा ६९ जना नेपाली नागरिक थिए। साँझ हङकङका लागि उड्ने नेपाल एयरलाइन्सका तीनवटा विमानका धेरै यात्रु नेपाली छन्।
आइतबार अमेरिकाका लागि त्रिभुवन विमानस्थलबाट उडेको कतार एयरवेजको विमानमा एक सय ६३ जना नेपाली थिए। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशब्यापी लकडाउन गरेपछि यहाँ रहेका आफ्ना नागरिक विभिन्न देशले उद्धार गरिरहेका छन्। ती देशमा बसोबासको कागजपत्र भएका नेपालीहरु पनि यसबीचमा त्रिभुवन विमानस्थलबाट उडिरहेका छन्।
अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत विभिन्न देशले नेपालबाट गरेका उद्धारका फ्लाइटहरुमा नेपालीहरु पनि गएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन स्रोतका अनुसार लकडाउन लागू भएयता नेपालबाट ३ हजार २ सय ७९ जना नेपाली विदेशतर्फ लागेका छन्।
लकडाउन सुरु हुनुभन्दा केही दिनअघि देखि नै नेपालले विदेशबाट नेपाल आउने सबै यात्रुबाहक नियमित विमानहरुमाथि प्रतिबन्ध लगाएको थियो। यसले गर्दा विभिन्न देशमा विभिन्न कारणले पुगेका नेपालीहरु त्यहीँ अलपत्र भएर बसेका छन्।
लकडाउनको दुई महिनाभन्दा बढी समयपछि सरकारले भर्खरै मात्र विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगारीका लागि खाडीमा पुगेकासहित लाखौँ नेपालीहरु स्वदेश फर्कन चाहेको सरकारी तथ्यांक छ।
त्रिभुवन विमानस्थल अध्यागमनले लकडाउन सुरु भएयता नेपालबाट ९ हजार ५ सय ९९ जना विभिन्न देश पुगेका छन्। यसबीचमा जर्मनी, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, भारत, नेदरल्यान्ड्स, मलेसिया, चेक गणतन्त्र, दक्षिण कोरिया, श्रीलंका, मालदिभ्सलगायत देशले नेपालबाट उद्धार फ्लाइट गरेका छन्। ती फ्लाइटहरुमा सम्बन्धित देशका मात्र नागरिक नभएर विभिन्न देशका नागरिहरु गएको अध्यागमन विभागको तथ्यांक छ।