
झापा- फाटेका चप्पल, मुखमा कालो कपडाको मास्क, पुराना कपडा अनि काँधमा ठूलो लुगाको पोको बोकेर काँकरभिट्टा माविको गेटबाट बाहिर निस्के एक अधवैंशे पुरुष।
काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा खटिएका नेपाल प्रहरीका एक जवानले उनी लगायत करिब एकसय जना नेपाली शनिवार भारतबाट नेपाल आएका हुन्।
उनीहरुलाई सम्बन्धित जिल्ला पठाउने तयारी हुँदै थियो। उनीहरुको नाम र ठेगाना बाहिरबाट सुरक्षाकर्मीले बोलाउँदै थिए। आफ्नो नाम कतिबेला आउँछ र गाडीमा चढौं भनेर तयारीका साथ भारतबाट आएका सबै नेपाली बसिरहेका थिए।
ती काँधमा लुगाको पोको बोक्नेको नाम जब आयो, निकै परसम्म उनको आवाज प्रष्टसंग सुनियो ‘बल्ल आफ्नै धर्तीको गाडी चढ्न पाइयो।’
मास्कले नाक-मुख छोपेकाले उनको अनुहारको भाव त देख्न पाइएन तर गाडी चढ्दा एक हातले आँखा चाहिँ पुछ्दै थिए।
दैनिक सयौंको संख्यामा र अहिलेसम्म हजारौं नेपाली भारतबाट नेपाल आएका छन्।
आइतबार साँझसम्म करिब चार हजार नेपाली काँकरभिट्टा नाका हुँदै नेपाल आएका इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ।
आइतबार मात्र करिब एकसय नेपाली नेपाल आएका छन्। करिब २० दिनको अवधिमा चार हजार नेपाली नेपाल आएका हुन्।
होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई
भारतबाट आउने नेपालीहरुको स्वास्थ्य परीक्षण तथा होल्डिङ सेन्टर व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ।
काँकरभिट्टा माविमा राखिएको होल्डिङ सेन्टरलगायत झापाका अन्य होल्डिङ सेन्टर तथा क्वारेन्टीनमा नेपाली सेना खटिएका छन्।
आइतबारदेखि नै नेपाली सेनाले काम थालेका छन्।