
झापा – झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा झापाका स्थानीय तहका लागि कोरोना भाइरस परीक्षण गर्ने भिटिएम प्रदान गरेको छ।
समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा एकका लागि एक अभियानसहितको टोलीले झापाका १५ वटै स्थानीय तहमा भिटिएम प्रदान गरेको हो।
समाजले झापाका आठ नगरपालिका र सात गाउँपालिकामा एकएक सय थानका दरले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) ट्युब उपलब्ध गराएको हो।
भिटिएम ट्युब प्राप्त गरेपछि झापाका १५ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले समाजको सहयोगप्रति आभार व्यक्त गरेका छन्। समाजले झापामा गर्दै आएको मानवीय सेवाको उनीहरुले प्रशंसा गरेका थिए। समाजले तीन दिन लगाएर ट्युब वितरण गरेको थियो।
ट्युब वितरण कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य केदार गिरी, झापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओली, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेल, उपाध्यक्ष शिव कडेल, वीरता जेसिजका अध्यक्ष मिजास पोखरेल, महासचिव विकास बस्नेत, सदस्य प्रविन खड्का, दिवाकार प्रसाईं लगायतको सहभागिता रहेको थियो ।
समाजका उपाध्यक्ष पोखरेलले किट वितरण गरिएका स्थानीय तहमा अन्य खालका समस्या भए समाजले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कोरोना भाइरस महामारीको समयमा आफ्नो जिल्लामा समाजले राष्ट्रिय कार्यसमितिहरूसँग समन्वय गर्दै राहत कार्यको सुरूवात गरेको पोखरेलले बताए।
झापामा पिसिआर परीक्षण ल्याब स्थापना गरिने
यसैबिच, ‘एकका लागि एक’ अभियानअन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोना भाइरसको परीक्षण गर्ने ल्याबका लागि पनि समाजले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।
शनिबार साँझ बसेको समाजको बैठकले ल्याबका लागि कम्तिमा ३० प्रतिशत हिस्सा लिने निर्णय गरेको छ।
समाजले यसअघि बाढी पीडित झापालीको ९ वटा घर बनाइदिएको थियो। त्यस्तै, तीनवटा एम्बुलेन्स सञ्चालन गरी जिल्लाबासीको सुखदुःखमा समाज जोडिएको छ। समाज विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन हो। हाल ४० वटा देशमा समाजको बिस्तार भइसकेको छ।