
काठमाडौँ- केही दिनअघि गरेको आफ्नै निर्णय बिर्सँदै नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई जापानको नारिताका लागि उडान अनुमति दिएको छ।
नारिता उड्नुभन्दा केही घण्टाअघिसम्म नेपाल एयरलाइन्सले उडान अनुमति पाएको थिएन। तर नारिता जान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुले विरोध गरेपछि नागरिक उड्ड्यन प्राधिकरण उडान अनुमति दिन बाध्य बनेको हो। स्रोतका अनुसार नेपाल एयरलाइन्स राति ९ बजे २ सय ६० जना यात्रु लिएर नारिता उड्ने छ।
मनलाग्दी भाडा लिएर चार्टर्ड फ्लाइट गरेको पाइएपछि प्राधिकरणले कूटनीतिक माध्यमबाट भएका बाहेकका चार्टर्ड फ्लाइटमा प्रतिबन्ध लगाएको थियो। स्रोतका अनुसार उडान अनुमति नलिइकन सोसाइटी ट्राभलले यात्रुलाई टिकट बिक्री गरेको थियो। प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले मंगलबार साँझ मात्र नेपाल एयरलाइन्सले उडान अनुमति पाएको स्वीकार गरे।