
झापा – कोरोना भाइरस सङ्क्रमण भएर उपचारपछि घर फर्किएका झापा विर्तामोड–२ का दिलीप दर्जीलाई मध्यरातमा वडाध्यक्ष नगेन्द्र संग्रौलाले घर पुर्याएका छन् ।
दर्जीलाई आफ्नै दाजुको घरमा पनि बास दिन गाउँलेले इन्कार गरेपछि उनी अलपत्र परेका थिए ।
आफ्नो घर नभएका कोरोना भाइरस सङ्क्रमणमुक्त भएका दिलीप दर्जीलाई भाउजुको घरमा बस्न गाउँले रोक लगाएका थिए ।
उपचारपछि उनी शुक्रबार नै डिस्चार्ज भएका हुन् ।
उनलाई दिउँसो ४ बजे एम्बुलेन्सले विर्तामोडको चारपाने चोकमा ओरालेको थियो।
झापा बिर्तामोड २ का दर्जी गत जेठ १३ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनको २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि धरान लगिएको थियो।
उनले आफ्नो घर नभएको र साइँली भाउजुको घरमा बस्ने गरी फर्किएको जानकारी दिए। अस्पतालबाट हिँड्नु पूर्व भाउजुलाई आफू आउने कुरा भनेका थिए। भाउजुले घरमा आउन भनेकी थिइन् ।
भाउजुको अनुमति पाएपछि घर लागेका दिलीपलाई भाउजुले फेरि घरमा नआउन जानकारी गराइन् ।
गाउँलेले घरमा आएर कोरोना उपचारपछि फर्किएका व्यक्तिलाई नराख्न धम्की दिएपछि उनी पाँच घन्टासम्म चारपानेस्थित वीर अमरसिंह माविको मैदानमा बसेका थिए।
राति करिब १० बजेतिर वडाध्यक्ष संग्रौलाले उनलाई घर पुर्याइदिएर गाउँले सम्झाइ बुझाइ गरेको उनले जानकारी दिए।
संग्रौलाले भने,‘सङ्क्रमण जोकोहीलाई पनि हुनसक्नछ। निको भएर आइसकेको मान्छेलाई बास बस्न नदिनु अमानवीय काम हो।’
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उनको उपचार भएको थियो। १० दिनको उपचारपछि उनको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट शुक्रबार नै डिस्चार्ज भएका थिए।