
काठमाडौँ – कतारस्थित नेपाली दुतावासले शुक्रबार एक प्रेश विज्ञप्ती निकाल्दै स्वदेश फर्कन आवेदन दिएका कामदारलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।
नेपाल फर्कन तीन दिन मात्र बाँकी रहँदा त्यहाँ स्वदेश फर्कन चाहने नेपाली कामदारको कोरोना परीक्षण हुने नहुने निश्चित छैन। सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई पछिल्लो एक सातामा कोरोना परीक्षण गराएको र स्वस्थ रहेको प्रमाण पेश गर्न अनिवार्य शर्त राखेको छ।
कतिपय देशमा कोरोना परीक्षण गरेर ल्याउन सम्भव नभएको त्यहाँका नेपाली दुतावासले बताइसकेका छन्। गत साता नेपाली श्रम पत्रकारसँगको कुराकानीमा कतारका लागि नेपाली राजदुत नारद भारद्धाजले नेपाल फर्कन चाहने नेपाली कामदारको कोरोना परीक्षण गर्न सम्भव नभएको बताएका थिए।
उनका अनुसार कतारको परराष्ट्र मन्त्रालयले अन्य देशलाई जस्तै नेपाललाई पनि कोरोना परिक्षण गरेर स्वदेश फिर्ता गर्न सम्भव नभएको जवाफ प्राप्त भएको तर पहल भने अझै गरिरहेको बताएका थिए।
कतारस्थित नेपाली दूतावासद्धारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ- हवाई उडान गर्नुअघि कोभिड संक्रमण नभएको परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइने छ।
स्रोतका अनुसार कतारबाट फर्कने नेपाली कामदारको त्यहाँ कोरोना परिक्षण गर्न असम्भवजस्तै छ। नेपाल एयरलाइन्सले असार २ गते कतारबाट एक सय ५८ यात्रु लिएर आउँदै छ। सरकारले विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णयअनुरुप पहिलो चरणमा २५ हजारलाई ल्याउने तयारी छ।
नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले ४३ वटा चार्डर्ड उडान गर्नेछन्। यसैगरि सम्बन्धित देश वा कम्पनी आफैले पठाउने भनेका २४ वटा उडान निश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको चार्टर्ड उडानको हवाई भाडा यात्रु स्वंयले तिर्नुपर्ने छ। त्यसका लागि सरकारले हवाई भाडा निर्धारण गरिसकेको छ।
पहिलो चरणमा कतारबाट नेपाल एयरलाइन्सले जुन १६ र २० तथा हिमालयन एयरलाइन्सले जुन १७ र २० तारिखमा यात्रु ल्याउँदैछन्।
कतारस्थित नेपाली दूतावासले जुन ११ सम्म प्राप्त तथ्यांकका आधारमा नेपाल आउने पर्ने अवस्था भएका पाँच हजार एक सय १२ जनाको नामावली सार्वजनिक गरिसकेको छ। दुतावासले यीमध्ये प्राथमिकताका आधारमा कुन चरणमा लैजाने भन्ने निर्णय हुने र आफैले त्यसबारे खबर गर्ने जनाएको छ।