
काठमाडौँ – कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले अमेरिकामा रहेका नेपालीहरुलाई नेपाल ल्याउने भएका छन्। विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने सरकारको निर्णयअनुसार अमेरिकाबाट ल्याउने जिम्मा कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले पाएका हुन्। यसअघि नेपाल एयरलाइन्स आफै लिन जानेसमेत चर्चा चलेको थियो।
अमेरिकास्थित नेपाली दुतावासका अनुसार त्यहाँका विभिन्न चार शहरबाट उद्धार उडान हुने छ। टर्किस एयरलाइन्स र कतार एयरलाइन्स दुवैले दुई-दुई उडान गर्नेछन्। कतार एयरलाइन्सले २३ जुनमा वासिङ्टन डिसी र २५ जुनमा डल्लासबाट उडान भर्ने छ। यसैगरि टर्किस एयरलाइन्सले २३ जुनमा न्युयोर्क र २५ जुनमा सिकागोबाट उडान भर्ने छ।
दुई वडा एयरलाइन्सको भाडादर भने फरक रहेको छ। कतारले १५ सय ३७ अमेरिकी डलर अर्थात सोमबारको विदेशी विनिमय दरअनुसार एक लाख ८५ हजार ६ सय ८४ नेपाली रुपैयाँ र टर्किस एयरलाइन्सले १६ सय डलर अर्थात एक लाख ९३ हजार २ सय ९६ नेपाली रुपैयाँ भाडादर तोकेको छ। अमेरिका-नेपालको चार्टर्ड फ्लाइट भाडादरबारे सरकारले यसअघि निर्णय गरेको थिएन।
विदेशमा रहेका अलपत्र नेपालीलाई उद्धार गर्न सरकारले स्वदेशका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई जिम्मा दिएको छ भने केही विदेशी एयरलाइन्सले पनि जिम्मा पाएका छन्। त्यसका लागि सरकारले चार्टर्ड उडानको भाडादर तय गरेको छ। चार्टर्ड उडानको भाडा यात्रु स्वंयले तिर्नुपर्ने छ। सरकारले विदेशबाट नेपालीको उद्धार हुने तालिका र भाडादर प्रकासित गरेपनि तालिकाअनुसार उद्धार हुन सकिरहेको छैन।